राष्ट्रव्यापी प्रतियाेगितासहितकाे कविता महोत्सव सम्पन्न

images

काठमाडौँ, ८ चैत २०८० । विश्व कविता दिवसको सन्दर्भमा राष्ट्रव्यापी कविता महोत्सव सम्पन्न गरिएको छ । साहित्य सदन नेपालले आज रामहिटी, बौद्धमा प्रतियोगितासहितको कविता महोत्सव सम्पन्न गरेको हो । 

प्रतियोगितामा ३ सय ४५ जना कविहरुले सहभागिता जनाएको निर्णयक समितिका संयोजक प्रा.डा. रामप्रसाद ज्ञवालीले जानकारी दिए । सहभागीमध्ये ५ जना छनौट गरिएको र तिनैमध्येबाट प्रथम, द्वितीय तथा तृतीय छनौट गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार तेह्रथुमकी रेजिना आपगाईको कविता ‘भुईँमान्छे’ ले प्राप्त गरेको छ । प्रथम पुरस्कार ३० हजार नगदसहित सम्मानपत्र रहेको छ । 

यसैगरी प्रतियोगिताको द्वितीय पुरस्कार बर्दियाकी निरञ्जना चन्द ‘निरु’ को कविता ‘जीर्ण कवच’ ले प्राप्त गरेको छ । उनले २० हजार नगद र सम्मानपत्र प्राप्त गरिन् । 

प्रतियोगिताको तृतीय पुरस्कार तीन जना कविहरुले प्राप्त गरे । तनहुँका कवि गोविन्द गोपाल खतिवडाको कविता ‘माटोको माधुर्य’, नुवाकोटका कवि विष्णुप्रसाद आचार्यको कविता ‘मानवता गान’ र सिन्धुपाल्चोककी कवि डा. स्मिता श्रेष्ठको कविता ‘शल्यकक्षमा देश’ लाई तृतीय पुरस्कार प्रदान गरियो । तृतीय पुरस्कारको राशी जनही १० हजार र सम्मानपत्र रहेको छ । 

महोत्सवमा गौरी देवकोटा, धीरेन्द्र प्रेमर्षि, प्रा.डा. देवी नेपाल, जगदीशचन्द्र भण्डारी, सविता बराल, मातृका पोखरेल, बलराम तिमल्सिना, ईश्वरचन्द्र ज्ञवाली, शान्ति शर्मा, भुवनहरि सिग्देल, हीरामणि दुःखी, गोविन्द घिमिरे वेदमणि, दिव्यलक्ष्मी पोखरेल, लक्ष्मण गाम्नागे, अभय श्रेष्ठ, डा. अमर गिरी, भैरवी भूगोल, बाजुराम पौडेल, सुदेश सत्याल, अर्जुन पराजुली लगायतले कविता वाचन गरेका थिए । 

कार्यक्रम साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको सभापतित्वमा भएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला प्रमुख अतिथि, प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती विशेष अतिथि, मूल्याङ्कन समितिका संयोजक प्रा.डा. रामप्रसाद ज्ञवाली र सदस्य डा. गीता त्रिपाठी लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कवि बैरागी काइलाले युनेस्कोले कवितालाई ठूलो मर्यादा दिएर विश्व कविता दिवस मनाउन थालेको बताए । सोहीअनुसार मार्च २१ तारिखमा हामीले पनि कविता महोत्सव गर्दै आएको उनले बताए । विजेताहरुलाई बधाई दिँदै कविताको मर्यादा कायम राखेर भविष्यमा मानवतालाई सघाउने किसिमले कविता लेख्न उनले आग्रह गरे । 

विशेष अतिथि प्राज्ञ गंगाप्रसाद उप्रेतीले कविले उच्च आदर्शमय सपना देखाएर जीवनलाई सार्थक गतिमा हिडाउन पूर्वाधार तयार गरिदिने बताए । यो दिन कविता पाठ गर्ने मात्रै नभएर विमर्शसमेत गर्ने दिन भएकोले त्यो जिम्मेवारी लिएर साहित्य सदनले महोत्सव आयोजना गरेको भन्दै उनले धन्यवाद ज्ञापन गरे । 

कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष प्रा.डा. हेमनाथ पौडेलले विश्व कविता दिवसको दिन हरेक वर्ष कविता प्रतियोगितासहितको महोत्सव सञ्चालन गर्ने निर्णय भएको जानकारी गराए । पाँच जना प्रतियोगी र अन्य अतिथि कविको सहभागितामा कविता महोत्सव गर्ने उनले सुनाए । कार्यक्रम अत्यन्तै भव्य र उत्कृष्ठ भएको महसुस गरेको पनि उनले बताए ।

साहित्य सदन नेपालका उपाध्यक्ष मित्रलाल पंज्ञानीले कार्यक्रमका अतिथि, प्रतियोगी र सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रमको अन्त्यमा सदनका सहसचिव डा. कृष्ण सुवेदी (भारद्वाज मित्र) ले कवितात्मक भावमा सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रम सञ्चालन सदनका सचिव प्रह्लाद पोख्रेल र सदस्य सुनिता बुढाथोकीले गरेका थिए ।