कान्तिपुर सिटी कलेजमा 'आईसीएआईई २०२५' अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

images

काठमाडाैँ । ६ माघ २०८१ । कान्तिपुर सिटी कलेजले आइतबार अन्तर्राष्ट्रिय सम्मेलन 'आर्टिफिसियल इन्टेलिजेन्स र इन्जिनियरिङ : चुनौती र अवसरहरू' सफलतापूर्वक सम्पन्न गरेकाे छ । सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को महत्त्व, यसको इन्जिनियरिङ क्षेत्रमा प्रयोग, तथा दिगो विकासमा यसले पुर्‍याउने योगदानका विषयमा चर्चा गरियाे ।

कार्यक्रमको उद्घाटन कान्तिपुर सिटी कलेजका प्रिन्सिपल तथा कार्यक्रम अध्यक्ष राजु कट्टेलले गरे । कार्यक्रमकाे मुख्य अतिथिमा नेपाल सरकार ई-गभर्नेन्स आयोगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) / सदस्य सचिव ई. दिपेश विष्ट, प्रमुख वक्तामा लभ्ली प्रोफेशनल युनिभर्सिटीका  एसोसिएट डीन प्रा. डा. दीपक प्रसार, विशेष अतिथिहरुमा सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्त, कान्तिपुर सिटी कलेजका  अध्यक्ष सुमन कटवाल रहेका थिए । यसैगरी अतिथिहरुमा कान्तिपुर सिटी कलेजका उप-प्रिन्सिपल, ई. भानुभक्त निरौला, आईसीएआईई २०२५ का संयोजक डा. दीपक विक्रम थापा क्षेत्री लगायत रहेका थिए ।

प्रा. डा. दीपक प्रसारले “साइबर सुरक्षाका लागि एआईको भूमिका: विकासशील देशहरूको चुनौती र सम्भावना” विषयमा प्रमुख मन्तव्य प्रस्तुत गरे । उनले एआईको महत्त्वपूर्ण भूमिका, विशेष गरी साइबर सुरक्षा र खतरा पहिचानमा, प्रकाश पारे ।

सम्मेलनमा प्रा. डा. सुदन झाले “डिजिटल पूर्वाधारको अभाव, दक्ष जनशक्तिको कमी र एआई प्रयोगका नैतिक चुनौतीहरू”, डा. ऋतु राज लम्सालले “इन्जिनियरिङमा एआई र आइओटीको समन्वय: नेपालमा प्रयोगका अवसर र चुनौतीहरू” विषयमा प्रस्तुतीकरण गरेका थिए । यी प्रस्तुतीकरणहरूले नेपालमा डिजिटल पूर्वाधारको विस्तार र एआई तथा प्रविधि समायोजनको महत्त्वलाई उजागर गरे।

पहिलो प्रस्तुतीकरण सत्र प्रा. डा. सुवर्ण शाक्यको अध्यक्षतामा सम्पन्न भयो।

डा. दीपक विक्रम थापा क्षेत्रीले “दिगो विकासका लागि एआई: इन्जिनियरिङका चुनौती र समाधान”, मुकेश घिमिरे, पीएचडीले “नवीकरणीय उर्जाको प्रवर्द्धन र नेपालका उर्जा क्षेत्रमा एआईको सम्भावित प्रयोग” विषयमा कार्यपत्र प्रस्तुत गरे । यी प्रस्तुतीकरणहरूले जलवायु परिवर्तन, प्रकोप व्यवस्थापन, र उर्जाको दिगो विकासमा एआईको भूमिकालाई विशेष जोड दिएका थिए ।

दोस्रो सत्र प्रा. डा. गजेन्द्र शर्माको अध्यक्षतामा भयाे । याे सत्रमा रमेश पराजुलीले “फोहोर व्यवस्थापनको लागि आइओटी र एआईको समायोजन” र श्रीदीप रायमाझीले “विकासशील देशहरूका लागि एआईको सम्भावना र चुनौतीहरू” विषयक प्रस्तुती दिए । यी प्रस्तुतीकरणले फोहोर व्यवस्थापन र एआईका अवसर तथा चुनौतीहरूमा ध्यान केन्द्रित गरे । रायमाझीले एआईबारे सचेतना फैलाउनु, डर हटाउनु, र यसलाई दिगो बनाउने उपायहरूमा चर्चा गरे ।

प्यानल छलफल कार्यक्रमको मुख्य आकर्षण थियो । छलफलको संयोजन विवेक एस. राणा (डिजिटल इन्टरप्राइज आर्किटेक्ट, सेन्टर फर एआई डिजिटल पोलिसी, अमेरिका) ले गरे । प्यानलिस्टहरूमा डा. सुरेश मानन्धर, सीईओ, विसेयाक, अनिल कुमार दत्त, सहसचिव, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय, डा. मनोज शाक्य, सहायक प्राध्यापक, काठमाडौं विश्वविद्यालय रहेका थिए । छलफलले नेपालमा एआईको विकास, डेटा सुरक्षाको समस्या, ग्रामीण क्षेत्रलाई एआईमा समावेश गर्ने, र विकासशील देशहरूको सन्दर्भमा नीतिगत पक्षलाई सम्बोधन गर्‍यो।

सम्मेलन संयोजक डा. दीपक विक्रम थापा क्षेत्रीले कार्यक्रमकाे अन्त्यमा धन्यवाद ज्ञापन गरे । कान्तिपुर सिटी कलेजका उप-प्रिन्सिपल, इ. भानुभक्त निरौलाले समापन मन्तव्य राख्दै सम्मेलनको महत्व र उपलब्धिहरूमा प्रकाश पारे । कार्यक्रम हाइ टी र नेटवर्किङ सेसनसहित भव्य रूपमा सम्पन्न भएकाे थियाे ।

एआईले दिगो विकास र प्रविधिको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ, नेपालको सन्दर्भमा एआईसम्बन्धी नीति, पूर्वाधार विकास र शिक्षाको आवश्यकता छ, ग्रामीण क्षेत्रलाई समेट्ने रणनीतिहरू निर्माण गर्नुपर्छजस्ता निष्कर्ष सम्मेलनले निकालेकाे छ ।