आफ्नै कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने प्रधानमन्त्रीको दाबी

मुख्य समाचार राजनीति रोजगार विषेश समाचार

रमेश हतुुवाली, काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी ओलीले आफ्नै कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरेका छन् । श्रमको सम्मानः राष्ट्रिय अभियान भन्ने नाराका साथ काठमाडौंमा सुरु भएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

सुन्दर, सुरक्षित एवम् समृद्ध नेपाल बनाउन सबै लाग्नु पर्ने भन्दै प्रधानमन्त्री ओलीले सत्ता पक्ष र प्रतिपक्ष मिलेर देश विकासमा जुट्नु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले अहिले चर्चा भएजस्तो बेरोजगारीको अवस्था देशमा विद्यमान नरहेको दाबी समेत गरे । प्रधानमन्त्रीले भने, ‘जमीन छ, मान्छे छ, काम गर्दैन, उँ बेरोजगार छ ।’ यसको प्रमुख कारण पुरानो ढाचाको कृषि प्रणाली हो भन्दै ओलीले कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्नु पर्नेमा जोड दिए ।

रोजगारी सिर्जना र गरिबी अन्त्यका लागि जीवनउपयोगी शिक्षा हुनपर्ने भन्दै प्रधानमन्त्रीले कामका लागि कामसँग सम्बन्धित सीप र तालिम आवश्यक रहेको बताए । साथै प्रधानमन्त्री ओलीले सम्भावना नभएका तालिम र सीपको अर्थ नरहने पनि बताए ।

कृषिलाई सम्मानजनक क्षेत्रको रुपमा विकास गर्नु आवश्यक भइसकेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘हिमालय क्षेत्रको पानीलाई साँच्चिकै मिनरल वाटर बनाएर हामी बेच्न सक्छौं । यार्सागुम्बु लगायतका जडिवुुटी खाँदै हुर्किएका चौरीको दूधबाट चिज बनाएर बेच्न सक्छौं, यार्सा खाँदै हुर्किएका च्यांग्राको मासु महंगो मुुल्यमा बेच्न सक्छौं ।’

नेपालको विकासका साझेदारहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले देश सबैको साझा भएकोले सबै मिलेर सुन्दर र सुरक्षित धर्ती, समृद्ध नेपाल र सुखी नेपाली बनाउन समेत लाग्नुपर्ने बताए ।