आलोपालो प्रधानमन्त्री चलाउने भद्र सहमतीको अभद्र चर्चा गर्नु हुँदैनः उपप्रधानमन्त्री पोखरेल

मुख्य समाचार राजनीति

सिन्धुली, १४ असार, २०७६ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री आलोपालो चलाउने भन्ने कुरा नेकपाको सचिवालयले औपचारिक ढङ्गमा नजानेको बताएका छन् । ‘सरकारको नेतृत्व आलोपालो गर्ने भन्ने कुरा नेकपाको सचिवालयले औपचारिक ढङ्गले जान्दैन’, स्वर्गीय मदन भण्डारीको ६८ आँै जन्मजयन्तीको अवसरमा नेकपा जिल्ला कमिटी सिन्धुलीले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, ‘भद्र सहमती भएको भन्दै अभद्र तरिकाले चर्चा भयो ।’

सरकारको नेतृत्व परिवर्तन हुने हल्ला ठुला घरको ठुलै चाला भनेझै भएको भन्दै उनले सरकार पाँच वर्ष ढुक्कले टिक्नेमा विश्वस्त रहन कार्यकर्तालाई आग्रह गरे । ‘सरकार पाँच वर्षसम्म चल्छ’, मन्त्री पोखरेलले भने, ‘कति÷कति समय भन्ने कुराको वास्ता नगर्नुस्, जरुरी पर्दा पार्टी कमिटीले जस्तो पनि निर्णय लिन सक्छ ।’ प्रधानमन्त्री परिवर्तन हुने कुराको समाचारले मन अमिलो नबनाउन नेता कार्यकर्तालाई उनको सुझाव थियो ।

‘यो विषयलाई हामी छलफल गरेर टुग्याउछौ, बहस गर्दै जाँदा केही छचल्किन सक्छ तर टुग्याएरै छाड्छौ त्यो तागत हामीले राखेका छौ’, उनले भने । ‘अब तत्कालिन अवस्थामा एमाले हुनेले वर्तमान अवस्थामा एमाले भएर नसोचौ, तत्कालिन अवस्थाका माओवादीले पनि वर्तमान अवस्थामा माओवादी भएर सोच्न मिल्दैन’, उनले भने, ‘पार्टी एकता कार्यकर्ता, जनताको चाहना र राष्ट्रिय आवश्यकता अनुसार भएको हो ।’ अब माओवादी र एमाले भन्ने घट्नाक्रम प्रिय भए संम्झनामा मात्र राख्न भन्दै उनले पार्टी नेकपा भएको बताए ।