ट्रकभित्र महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

मुख्य समाचार समाज

तनहुँ, १३ असार, २०७६ । ट्रकभित्र महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ट्रक चालक र सहचालक पक्राउ परेका छन् । महिला जबरजस्तीको आरोपमा मोरङको उर्लाबारी नगरपालिका–३ सूर्यचोकका ३१ वर्षीय विमल ढकाल र सोही ठाउँका ३२ वर्षीय गोपाल भण्डारी पक्राउ परेका हुन् ।

नवलपरासीबाट दमौलीसम्म आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रक चालक ढकाल र सहचालक भण्डारीले एक महिलालाई ट्रकभित्रै जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए । ‘महिलालाई नवलपुरस्थित डण्डाबाट लिफ्ट दिई पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेको सडक किनारामा ट्रक रोकी जबरजस्तीकरणी गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।

पीडित महिलाले छिर्कनेमा ट्रकभित्रै जबरजस्ती करणी गरेको प्रदेश प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुरुप उक्त ट्रक र वारदातमा संलग्न चालक र सहचालकलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक लामिछानेले बताए । ट्रक चालक र सहचालकलाई व्यास नगरपालिका–३ वनवाटिका चौरनजिक छड अनलोड गर्दै गरेको अवस्थामा पक्रेको प्रहरीले जनाएको छ ।