धरानबाट २० केजी गाँजासहित चार कारोबारी पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

सुनसरी, २५ चैत, धरानमा को १ ह ६२५० नम्बरको टेम्पोमा २ वटा झोलाभित्र प्याकेजिङ गरेको २० केजी गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गाँजासहित पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास नगरपालिका ६ का ३५ वर्षीय नरबहादुर राई, खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका १ का २३ वर्षीय आइते भन्ने मदन राई छन् । उनीहरु टेम्पोमा गाँजा बोकेर आउदै थिए । गाँजा बोक्ने गाडीको अगाडि स्कर्टिङ गरिरहेका शहीदभूमि गाउँपालिका ३ घर भए पनि हाल धरान १७ बस्ने २३ वर्षीय विजय राई र गाँजा खरिदकर्ता विराटनगर महानगरपालिका १५ का ३६ वर्षीय सुरज कुमार साह पनि पक्राउ गरेका छन् ।

‘निलो रंगको टेम्पोमा धनकुटाबाट गाँजा आउदैछ भन्ने गोप्य सूचना आएलगत्तै धरानको शिवधारा क्षेत्रमा विशेष चेकजाँच राख्यौ, त्यस्तै कलरको टेम्पो आउदा अघिअघि मोटरसाइकलको स्कर्टिङ थियो,’ सोमबार पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै डिएसपी सुमन तिम्सिनाले भने, ‘उनीहरु सबै कारोबारी नै भएको खुलेको छ ।’

पक्राउ परेकाहरुलाइ जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद थप भएको छ । प्रहरीले पक्राउ परेका सबैलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार लागुऔषध ओसारपसार तथा बिक्री वितरणमा कारबाही प्रक्रिया अघि बढाएको छ । ऐनको परिच्छेद ३ को दफा १४ अनुसार १० केजी बढी लागुऔषध ओसारपासर गर्नेलाई २ देखि १० वर्ष कैद वा १५ हजारदेखि १ लाखसम्म जरिवानाको व्यवस्था छ ।