सामुदायिक विद्यालयमा सिकाउने र टिकाउने अभियान सुरु गर्न शिक्षा विधेयक : सांसद भट्टराई

मुख्य समाचार राजनीति

ताप्लेजुङ, १५ चैत, संघीय संसदको शिक्षा समितिका सदस्य समेत रहेका प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले विद्यार्थीको आकर्षण बढाउन शिक्षक र उसको नेतृत्वकर्ता प्रधानाध्यापकको काम कारवाही सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् । त्यहिँ भएर अबको शिक्षाका लागि सामुदायिक विद्यालयमा सिकाउने र टिकाउने अभियान सुरु गर्न शिक्षा विधेयक तयार भएको र यो महत्वपूर्ण हुने बताए ।

ह्युमन् प्राक्टिस फउण्डेसनले ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सुरु गरेको २ दिने गुणस्तरीय शिक्षण सिकाई गोलमेचको शुक्रबार उद्घाटन गर्दै भट्टराईले पहिला कार्यान्वयनमा रहेको साक्षरता अभियानको स्थान अब सिकाउने र टिकाउने अभियानले ग्रहण गर्ने उनको भनाई थियो । सांसद भट्टराईले विद्यार्थी भर्ना अभियानबाट साक्षरताको पहिलो खुड्किलो पूरा गरेकालाई विद्यालयमा नियमति रहने र पढेको कुरा सिक्ने बनाउन सिकाउने र टिकाउने अभियानलाई शिक्षा विधेयकले समेटेको बताए ।

नेपालको कुल साक्षरता र औसतमा ७५ प्रतिशत हाराहारी पुग्दा भर्ना भएका विद्यार्थी नियमित रुपमा पढाईमा केन्द्रित हुने र उनीहरुले पढेको कुरा सिक्ने दर भने सालिन्दा घट्दो अवस्थामा रहँदा सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार हुन नसकेको भट्टराईले बताए । उनले अबको शिक्षा प्राविधिकधार केन्द्रित हुनुपर्ने भन्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक शिक्षाका लागि योजना बनाउनुपर्ने गरी गरेको संकल्प सहि भएको बताए । ‘माध्यमिक तह भित्रैमा उसले प्राविधिक सीप पाएर त्यसको अवसरको प्रयोगबाट प्राप्त कमाई अब उसले उच्च शिक्षाका लागि लगानी गर्ने वातावरण बन्नुपर्छ’, भट्टराईले भने ।

उनले यो पद्धति नेपालका लागि नौलो बन्ने भए पनि अन्तर्राष्ट्रिय देशहरुका विद्यार्थीले भने पहिल्यैबाट प्रयोग गरेको विधि भएको स्मरण गरे । सामुदायिक विद्यालका शिक्षकतर्फ लक्षित गर्दै सांसद भट्टराईले प्रत्येक सामुदायिक विद्यालयले अब माटो सुहाउँदो एक–एक वटा प्राविधिक विषयको पढाईका लागि कार्ययोजना तयार गर्न समेत भट्टराईले आग्रह गरे । यस कार्यमा सघाउन स्थानीय सरकारले योजना र बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा ह्युमन् प्राक्टिस फउण्डेसनलाई सहयोग गर्ने पर्निल, काभानी लगायतको उपस्थिति रहेको थियो ।