जनयुद्व दिवसप्रति घाइते, अपाङ्ग तथा बेपत्ताहरुको आपत्ति

मुख्य समाचार राजनीति

काठमाडौं, १ फागुन, २४ औँ जनयुद्व दिवसको अवसर पारेर जनयुद्वका घाइते, अपाङ्ग तथा बेपत्ता ब्यवस्थापन समितिले आज एक कार्यक्रमको आयोजना गरेको छ । बुधबार राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर सरकारले आफूसँग गरेका सम्झौताहरलाई कार्यान्वयन नगरेको भन्दै उनीहरुले गुनासो पोखे ।

मेडिकल बोर्ड तथा शान्ति समितिकोे सिफारिशमा परेका घाइतेहरुलाई तत्काल उपचारार्थ विदेश पठाइनुपर्ने, घाइते परिषद तत्कालै खारेज गरी जीवन निर्वाह भत्तासहित सामाजिक सुरक्षामा वृद्धि हुनेगरी तत्काल नयाँ समितिको गठन हुनुपर्ने, घाइतेहरुले पेस गरेको बिल भरपाई तुरुन्त लागु गर्नुपर्ने र राज्यले प्रदान गर्नुपर्ने गणतान्त्रिक सेनानी कार्ड तत्कालै वितरण गर्नुपर्ने लगायतका आफ्ना मागहरुमा ध्यान दिन सरकारलाई सचेत गराएको छ ।

कार्यक्रममा बोल्दै जनयुद्वका घाइते रमेश कालिकोटेले सरकारले आफूहरुसँग गरेका सम्झौताहरलाई कार्यान्वयन नगरेको भन्दै आक्रोश पोखे । उनले भने, ‘हाम्रा मागहरु पूरा नगरी जनयुद्व दिवस मनाएकोमा आपत्ति छ ।’ सरकारले घाइते तथा शहिदहरुको रगतको मसीले लेखिएको गणतन्त्रमा आफूहरुलाई अधिकारविहीन बनाएको उनको आरोप छ ।

सरकारले विशालसभा गरेर जनयुद्व दिवस मनाइरहँदा जनयुद्वका प्रत्यक्ष योद्वाहरु अझै शरीरभरि क्रान्तिको निशाना र पीडा बोकेरै बाँचिरहेको पनि उनले बताए । उनले भने, ‘हाम्रै बलिदानले देशमा परिवर्तन आएको होइन र ? किन हामीलाई बलिदानको उपहारमा आज गृहमन्त्रालय प्रवेशमा रोक लगायौ ?’

कार्यक्रममा बोल्दै घाइते अपाङग तथा बेप्पत्ता संघ ३ नं प्रदेश संयोजक तथा दोरम्भा घट्नाका प्रत्यक्षदर्शी मोहन कुमार योङजोङले हिजो साम्यवादको नारा लगाएर परिवर्तनको खोजीमा हिड्ने पार्टीले आज आफूहरुको पीडा नसुनेको आरोप लगाए ।

सरकार दुई तिहाईको दम्भ देखाउनमा व्यस्त रहेको तर आफूहरुको कुरा नै नसुनेको उनको आक्रोश छ । उनले मन्त्रालयमै विष सेवन गर्दा पनि सरकारले पीडा नदेखेकोमा दुःख ब्यक्त गरे । ‘हामीले खान, लाउन मागेका होइनौ, क्रान्तिले तहसनहस पारेकोे हाम्रो स्वास्थ्य उपचारको ब्यवस्थाको अधिकारका खोजी गरेका हौं’ उनले भने ।

त्यस्तै कार्यक्रममा बोल्दै जनयुद्वका शहिद परिवारका सदस्य ज्योती किरणले प्रचण्डले मनाएको जनयुद्ध दिवसको कुनै औचित्य नरहेको आरोप लगाए । दलाललाई खुसी पार्ने यस्ता कार्यक्रमले वास्तविक पीडितहरु मारमा परेको उनको भनाई रहेको थियो ।

महिला नेतृ बिनिता दाहालले देशको लागि प्राणको आहुती दिने शहिदको राज्यले अपहेलना गरेको गुनासो पोखिन् । उनले भनिन्, ‘एकाध ब्यक्तिको प्रगति देखेर हाम्रा सपना पुरा हुँदैनन्, आजको दिन ती महान शहिदहरुको हो जसले आफ्ना बिचार बेचेनन् ।’ राज्यले आफूहरुलाई गैर–जिम्मेवारीपूर्ण ब्यवहार देखाएकोमा बलिदानको अर्थमा ध्यान दिन सरकारसमक्ष आग्रह गरेकी थिइन् ।