षडानन्द राष्ट्रिय पुरस्कार आर.डी. ‘प्रभास’ चटौतलाई

मुख्य समाचार साहित्य

काठमाडौँ, २८ कत्तिक, आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले यो वर्षको षडानन्द राष्ट्रिय पुरस्कार आर.डी.’प्रभास’ चटौतलाई प्रदान गर्ने भएको छ । चटौतले संस्कृति, अध्यात्म र भाषा साहित्यका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रकाशनका माध्यमबाट विशिष्ट योगदान पुर्‍याउनु भएको भन्दै पुरस्कृत गर्न लागिएको हो ।

चटौतको विशिष्ट सेवाको उच्च मूल्याङ्कन गरी षडानन्द राष्ट्रिय पुरस्कारले सम्मानित गर्दा उचित कदर हुने ठानिएकोले यो पुरस्कार दिन लागिएको प्रतिष्ठानका सचिव लालानाथ सुवेदीले बताउनु भयो । “पूर्वी नेपालको दिङ्लामा जन्मिई जन्मस्थललाई नै कर्मथलो बनाएर शिक्षा, संस्कृति अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने आबाल ब्रह्मचारी षडानन्द (वि.सं. १८९२-१९७३) का स्मृतिमा स्थापित ‘षडानन्द राष्ट्रिय पुरस्कार’ २०७५ द्वारा सुदूर पश्चिमाञ्चलका साधक चटौतलाई सम्मानित गर्ने निर्णयले नेपालको सुदूर पश्चिमको कर्म साधनालाई सुदूर पूर्वसँग जोड्न पाउँदा राष्ट्रिय एकताको सूत्र अझ सबल हुने विश्वास लिएको छ” प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ब्रह्मचारी षडानन्दको योगदानका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रतिवर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । यो पुरस्कार यस वर्ष दसौँ पटक हो । यसभन्दा अगाडि यो पुरस्कार क्रमश: वरिष्ठ शिक्षाविद् सुरेशराज शर्मा, वेदविज्ञ डा. स्वामी प्रपन्नाचार्य, वरिष्ठ चिन्तक एवं साहित्यकार मदनमणि दीक्षित, वरिष्ठ इतिहासकार ज्ञानमणि नेपाल, विद्ववर प्रा. पुरुषोत्तम भट्‍टराई, संस्कृतिविद् डा. जगमान गुरुङ र षडानन्द उच्च माध्यमिक विद्यालय, दिङ्ला भोजपुर; स्वर्गद्वारी आश्रम, प्युठान, अध्यात्म चिन्तक प्रा. शिव गोपाल रिसालले पाईसक्नु भएको छ । पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।

अध्यात्म दर्शनका अध्येता एवं साहित्यकार आर.डी. ‘प्रभास’ चटौत
सुदूर पश्चिमको डडेलधुरामा जन्मिएर त्यसै क्षेत्रलाई साधनाको मूल थलो बनाई आर.डी.’प्रभास’ चटौतले संस्कृति, अध्यात्म र भाषा साहित्यका क्षेत्रमा अध्ययन अनुसन्धान र प्रकाशनका माध्यमबाट विशिष्ट योगदान पुर्‍याउनु भएको छ । उहाँले श्रीमद् भगवद्‍गीताको मूल सन्देशलाई आधार बनाएर ‘प्रभासगीता महाकाव्य’ (२०६६) नामक बृहत् महाकाव्यको सिर्जना गर्नु भएको छ । गीताकै शरणागति सम्बन्धी भाव (गीता १८/६६) लाई आधार बानाएर ५१७ श्लोकको काव्य समेत सिर्जना गर्नु भएको छ । चटौतले ‘डोट्याली बृहत् शब्दकोश (२०५८) सङ्कलन र सम्पादन गरेर सुदूर पश्चिमको नेपाली भाषा, संस्कृति, इतिहास र मान्यतामाथि बृहत् प्रकाश पार्नु भएको छ । उहाँले भाषा संस्कृति, इतिहास तथा अध्यात्म दर्शनका साथै स्तोत्र, कविता, काव्य, महाकाव्य, समालोचना, क्षेत्रका अनुसन्धानमूलक करिब दुई दर्जन पुस्तकहरु तथा फुटकर लेखहरुको लेखन/सम्पादन र प्रकाशन गरी विशेष योगदान पुर्‍याउनु भएको छ ।

प्रतिष्ठानको कात्तिक २६ गते बसेको ७९ औं बैठकले २०७५ सालको षडानन्द राष्ट्रिय पुरस्कारसहित डण्डपाणि युवा कुमारी चापागाईंका स्मृतिमा स्थापित षडानन्द पुरस्कार, षडानन्द उत्कृष्ट विद्यालय पुरस्कार र षडानन्द छात्रवृत्‍तिको पनि घोषणा गरेको छ ।

षडानन्द पुरस्कार ‘सम्भव’ लाई
पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने डण्डपाणि युवा कुमारी चापागाईंका स्मृतिमा स्थापित षडानन्द पुरस्कार यस वर्ष (२०७५) पूर्वाञ्चलको धनकुटामा जन्मिएर साहित्य र शिक्षाका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनु हुने प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’ लाई प्रदान गरिने भएको छ । भोजपुर, दिङ्लाका डण्डपाणि तथा युवा कुमारी चापागाईंका स्मृतिमा उहाँहरुका सुपुत्रद्वय श्री निरञ्जन चापागाईं र श्री गायत्री कुमार चापागाईंद्वारा यो पुरस्कार स्थापित गरिएको हो । अक्षय कोषबाट प्रदान गरिने यो पुरस्कारको राशि रु. २५ हजार रहेको छ ।

यस पुरस्कारबाट सम्मानित हुनु हुने श्रेष्ठ नेपाली विषयको प्राध्यापन र समालोचना क्षेत्रका अग्रणी प्रतिभा हुनु हुन्छ । २०१७ सालदेखि शिक्षण सेवामा प्रवेश गर्नु भएर त्रि.वि. केन्द्रीय नेपाली विभागका प्रमुख समेत भई सेवा निवृत्‍त प्रा. श्रेष्ठ विभिन्न कलेजमा आगन्तुक प्राध्यापकका रूपमा हालसम्म कार्यरत हुनुहुन्छ । नेपाली साहित्यको विभिन्न विधामा गुणात्मक समालोचनाहरुको लेखन र प्रकाशन गर्नु हुने उहाँ विशेषत: नेपाली कथाक्षेत्रको अध्ययनमा विज्ञता प्राप्त आधिकारिक व्यक्तित्व हुनुहुन्छ । ‘नेपालको राष्ट्रिय झन्डा’ नामक कृतिमा २०५४ मा मदन पुरस्कार प्राप्त गर्नु हुने उहाँका करिब दुई दर्जन पुस्तकहरु प्रकाशित छन् । प्रा. श्रेष्ठ हाल नेपाली खुकुरी र सगरमाथाका विषयमा अनुसन्धानरत हुनुहुन्छ । उहाँले विभिन्न शैक्षिक एवं साहित्यिक संस्थाहरुमा आबद्‍ध भएर पनि विशेष योगदान पुर्‍याउनु भएको छ ।

साहित्यसेवी प्रा. श्रेष्ठ यो पुरस्कारबाट सम्मानित हुने पाँचौँ व्यक्तित्व हुनु हुन्छ । २०७१ सालदेखि प्रदान गरिदै आएको यस पुरस्कारबाट क्रमश: खुदुनाबारी–१, झापाका पण्डित केदारनाथ खतिवडा, विराटनगरवासी साहित्यकार दधिराज सुवेदी, सुनसरी चतराका संस्कृति र साहित्य साधक मान बज्राचार्य र षडानन्द संस्कृत प्रधान पाठशाला एवं प्रस्तावित षडानन्द संस्कृत महाविद्यालयका प्राचार्य स्व. हरि प्रसाद काफ्ले (मरणोपरान्त) सम्मानित भइसक्नु भएको छ ।

षडानन्द उत्कृष्ट विद्यालय पुरस्कार
२०७४ सालको एस.ई.ई. परीक्षाको परिणामका आधारमा यस वर्ष पाँचौँ पटक श्री वीरेन्द्र माध्यमिक विद्यालय, कुलुङ, भोजपुरलाई षडानन्द उत्कृष्ट विद्यालय पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको छ। साबिक चौकी डाँडा- २, भोजपुरका स्व. मदनबहादुर अधिकारीका स्मृतिमा श्रीमती उमादेवी अधिकारी र उहाँको परिवारले स्थापना गरेको अक्षय कोषको व्याजबाट रु. १५ हजार राशिको यो पुरस्कार प्रतिवर्ष प्रदान गरिदै आएको छ । एस.ई.ई. तहमा कम्तीमा ३२ जना विद्यार्थी समावेश गराई न्यूनतम ३२ प्रतिशत विद्यार्थी उत्‍तीर्ण गराउने भोजपुर जिल्लाका सामुदायिक विद्यालयहरुमध्येबाट नेपाल सरकार, शिक्षा मन्त्रालयले एस.ई.ई. परीक्षाका आधारमा राष्ट्रिय एवं क्षेत्रीय पुरस्कार छनोट गर्न निर्धारण गरेको ५० अङ्कलाई छनोटको आधार मानेर अधिकतम अङ्क ल्याउने विद्यालयलाई पुरस्कार प्रदान गर्ने प्रावधान अनुसार उक्त विद्यालयको छनोट गरिएको हो।

२०७१ सालदेखि प्रदान गर्न प्रारम्भ गरिएको यो पुरस्कार यसअघि क्रमश: जालपा उच्च माध्यमिक विद्यालय, चौकीडाँडा, भोजपुर; वीरेन्द्र उच्च माध्यमिक विद्यालय, कुलुङ, भोजपुर; शारदा माध्यमिक विद्यालय, देउराली, भोजपुर र पञ्चकन्या माध्यमिक विद्यालय, बोखिम, भोजपुरलाई प्रदान गरिएको थियो। यस वर्ष वीरेन्द्र माध्यमिक विद्यालय, कुलुङ, भोजपुरले दोहोर्‍याएर उक्‍त पुरस्कार प्राप्त गरेको छ ।

षडानन्द छात्रवृत्‍ति
षडानन्द माध्यमिक विद्यालय, दिङ्ला, भोजपुरका कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुमध्ये उत्कृष्ट नतिजा हासिल गर्ने छात्रा १ र छात्र १ लाई प्रदान गर्ने जनही रु. ५ हजार राशिको षडानन्द छात्रवृत्‍ति २०७४ सालको नतिजाका आधारमा कक्षा ९ का छात्र मनिष तामाङ र कक्षा ८ की छात्रा अपेक्षा श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ ।

षडानन्द माध्यमिक विद्यालय, दिङ्लामा संस्कृत शिक्षालाई प्रवर्धन गर्ने उद्‍देश्यले कक्षा ६ देखि इच्छाधीन विषय अन्तर्गत संस्कृत विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रोत्साहनका लागि जनही वार्षिक एकमुष्ट रु. दुई हजार प्रदान गरिने षडानन्द संस्कृत छात्रवृत्‍ति विद्‍यालयको सिफारिसमा कक्षा ६ का विकास कुइँकेल, विपिन त्रिताल, शेषराज पौडेल, सजल पौडेल, प्रशान्त चपागाईं, राजमणि बराल, बेबिना भट्‍ट र अस्मिता खतिवडालाई तथा कक्षा ७ का कुशल लम्साल, नयन भट्‍टराई, ईश्वर घिमिरे, सञ्जीव चर्मकार र दिव्या कटुवाललाई दिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

यी पुरस्कारहरु ब्रह्मचारी षडानन्दको १८४ औं जन्म जयन्ती २०७५ मङ्सिर २६ गते मार्ग शुक्ल पञ्चमी (विवाह पञ्चमी) का दिन पारेर प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।