एएफसी यु–१६ महिला च्याम्पियनसिप : नेपालले फिलिपिन्सको सामना गर्ने

खेलकुद मुख्य समाचार

काठमाडौँ, २ असोज, एएफसी सोह्र वर्षमुनि (यु–१६) महिला च्याम्पियनसिप छनोटको उद्घाटन खेलमा नेपालले बलियो टोली फिलिपिन्सको सामना गर्दैछ । आगामी सन् २०१९ मा थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणको छनोटअन्तर्गत समूह इ का खेलमा नेपालले विजय लक्ष्यका साथ भोलि बुधबार फिलिपिन्सको सामना गर्दैछ । पहिलो चरणमा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा घरेलु टोली नेपालसहित फिलिपिन्स, म्यानमा र मलेसिया छन् । उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।

नेपाली टोलीकी मुख्य प्रशिक्षक गङ्गा गुरुङले उक्त प्रतियोगिताको तयारी राम्रो रहेको भन्दै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताउनुभयो । उहाँले अघिल्लो चरण प्रवेशको लागि पनि फिलिपिन्सविरुद्धको खेल महत्वपूर्ण हुने भन्दै नतिजा आफनो पक्षमा पार्न सक्दो प्रयास गर्ने बताउनुभयो । नेपाली टोलीकी कप्तान प्रिती राईले आफूहरु मानसिकरुपमा तयार रहेको बताउनुभयो । फिलिपिन्सका प्रशिक्षक मारिऐ बेनिटेजले आफ्नो टोलीको तयारी राम्रो रहेको भन्दै प्रतियोगितामा राम्रो नतिजा निकाल्ने आशामा रहेका छौ भन्नुभयो ।

नेपालले दोस्रो खेलमा म्यानमासँग शुक्रबार खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि यसअघि नै छनोट भइसकेका छन् ।(रासस)