सूचना/प्रविधि

युवा पत्रकार न्यौपानेको निधनले नेपाली पत्रकारिता जगत स्तब्ध

काठमाडौँ, २१ कार्तिक, युवा पत्रकार सञ्जय न्यौपानेको कात्तिक २० गते साँझ ७ः०० बजे निधन भएको छ । एक वर्षदेखि ‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ नामक स्नायु प्रणाली सम्बन्धी समस्याबाट ग्रस्त न्यौपानेको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा हिजो शनिवार निधन भएको हो । पारिवारिक स्रोतका अनुसार भारतको हरियाणास्थित मेदान्त अस्पतालमा उपचारपछि स्वास्थ्यमा सुधार आइरहेकोमा केही दिनअघि न्यौपानेको स्वास्थ्यमा पुनः समस्या बल्झेको थियो । 

न्यौपानेको अल्पायुमै भएको निधनले सम्पूर्ण प्रेस जगत स्तब्ध बनेको  छ । नेपाली पत्रकारिता क्षेत्रमा आर्थिक विटमा कलम चलाईरहेका न्यौपानेको ४५ वर्षको अल्पायुमै भएको निधनले पत्रकारिता क्षेत्रले अपुरणीय क्षति बेहोर्नु परेको सम्पूर्ण प्रेस जगतको ठम्याइ छ । न्यौपानेले कान्तिपुर दैनिकमा आर्थिक विट्मा डेढ दशक रिपोर्टिङ्ग गरेका थिए भने पछिल्लो समयसम्म आर्थिक सम्बन्धी राष्ट्रिय पत्रिका 'कारोबार दैनिक' को सम्पादक समेत बनेका थिए । न्यौपाने नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व उपाध्यक्ष समेत हुन् ।

न्यौपानेको निधनमा नेपाल पत्रकार महासंघले गहिरो दुःख व्यक्त गरेको छ । महासंघका सभासद् समेत रहेका न्यौपानेको निधनबाट नेपाली पत्रकारिता जगत स्तब्ध भएको आज जारी एक विज्ञप्तिमा बताइउको छ । महासचिव उजिर मगरद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ 'नेपाल पत्रकार महासंघ स्वर्गीय न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, इष्टमित्र र सहकर्मीहरुप्रति धैर्यधारणाको कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछ ।'


न्यौपानेको २०७३ कात्तिक २० गते राती आर्यघाट स्थित विद्युत शव दाहगृहमा अन्त्येष्टि गरिएको छ । न्यौपानेलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, सेजनका अध्यक्ष गोकर्ण अवस्थी, एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, दैनिक पत्रिकाका सम्पादक, सहकर्मीहरु, आपन्तजन र ठूलो संख्यामा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

ललितपुर, गोदावरी नगरपालिका–८, बडिखेल निवासी न्यौपानेका बुवा, आमा, श्रीमती, एक छोरा र एक नाबालिका छोरी छन् । यो दुखद घडीमा आजको खबर परिवार पनि स्वर्गीय न्यौपानेको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन, इष्टमित्र र सहकर्मीहरुप्रति धैर्यधारणको कामना सहित हार्दिक समवेदना प्रकट गर्दछ ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप