कृषि

कोरियाको भिसा त्यागेर गाउँमै तरकारी खेती, दोब्बर आम्दानी हुने अपेक्षा (फोटोफिचर)

लक्ष्मण ढुंगाना, बर्दिया, २१ वैशाख, वैदेशिक रोजगारका क्षेत्रमा आकर्षक गन्तब्य हो कोरिया । कोरिया जान हजारौ युवा लालायित हुन्छन् । अन्य देशको तुलनामा आर्कषक तलव सुविधा पाईने भएपछि ईपीएस प्रणाली मार्फत कोरिया जाने युवाको आर्कषण बढेको हो । तर जिल्लामा यस्ता युवा पनि भेटिए, जसले कोरियाको मासिक डेढदेखि दुई लाखसम्म कमाई हुने जागीर त्यागेर स्वदेश फर्किए ।

वैदेशिक रोजगारीको शिलशिलामा अढार्र्ई बर्षसम्म कोरियामा बिताएका यहाँका एक युवा गाउँ फर्केर व्यावसायिक तरकारी खेती सुरु गरेका छन् । विदेशमा गएर टन्न धन कमाउने सोचले ईपिएस प्रणाली मार्फत कोरिया गएका बर्दिया बाँसगढी नगरपालिका–६ सटहरीयाका २९ वर्षीय बेलविक्रम चौधरीले स्वदेशमै राम्रो सम्भावना देखेपछि विदेशको काम त्यागेर गाउँमै व्यवसायिक तरकारी खेती सुरु गरेका हुन् ।

विदेशमा सिकेको सिप र प्रविधिलाई आफ्नै भूमिमा प्रयोग गर्ने र विदेशी डलर घरमै फलाउने सोचले स्वदेश फिरेका चौधरीले घर नजिकैको दुई विगाह जग्गामा करिब १० लाखको लागतमा व्यवसायिक तरकारी खेती सुरु गरेका छन् । सो जग्गामा हाल टमाटर, करेला, लौका, खुर्सानी र काक्रा लगाईसकेका छन् । योसँगै उनले थप २० विगाह जग्गा भाडामा लिएर काउली, बन्दा, भेडे खुर्सानी, बोडी, साग, मुलालगायत तरकारी खेती विस्तार गर्ने योजना रहेको बताए ।

हालको दुई विगाह जग्गाबाट वार्षिक ३० लाखसम्म आम्दानी गर्ने लक्ष्य लिएका उनले तरकारी खेतीबाट परिवारको आर्थिक सम्वृद्धि हुन मद्दत पुग्ने बताए । विदेशमा मासिक दुई लाखसम्म कमाई हुने गरेको बताउदै त्यहाँ सिकेको सिप यहाँ प्रयोग गरे दोब्बर आम्दानी हुने सम्भावना रहेकोे उनको भनाई छ ।

स्नातक तह अध्ययन गर्दै गर्दा पढाई छाडी विदेश गएका उनले कोरियामा कृषि क्षेत्रमै स्थानीय कामदारको रुपमा काम गरेका थिए । काम गर्ने शिलशिलामा उच्चस्तरिय कृषि औजार प्रयोग र तरकारी खेती सम्बन्धी प्रविधिकाबारेमा नियमित प्रशिक्षण समेत लिए । सँगैका साथीहरु ओभरटाईम काम गर्न जाँदा उनी तीन घण्टा तालिम सिक्नमा समय खर्चिन्थे । त्यहाँ सिकेको त्यही तालिम र सिप आफ्नो जीवन परिवर्तनको आधार बनेको उनले बताए । 'त्यो सिकाई नै मेरोलागि बरदान सावित भयो' उनले भने 'अव यही हो मेरो विदेशको कमाई ।' 'आधुनिक तरकारी खेतीबाट मासिक २ लाखभन्दा बढी घरमै कमाउन थालेको उनको भनाई छ ।

यसअघि वर्षौसम्म परम्परागत कृषि पेशा अङ्गालेका चौधरीले त्यसरी खेती गर्दा वर्षभरी खान लाउनै नपुग्ने गरेको अनुभव सुनाए । तर आधुनिक तरिकाले खेती गर्दा विदेश भन्दा बढी सम्भावना त यहीको माटोमा हुने रहेछ उनले भने ।

उनले कोरियाबाट बेर्ना रोप्ने, उमार्ने, गोडमेल झारपात उखेल्ने, स्प्रेयर गर्ने, ड्याङ्ग बनाउने, पानी सिंचाई गर्ने स्प्रिङकलर जस्ता विभिन्न औजारका साथै प्रविधि पनि भित्र्याएका छन् । जसको प्रयोगले धेरै समय लाग्ने कामपनि छिनभरमै भरपर्दो तरिकाले हुने गरेको छ ।

निकै चुनौतीकाबीच तरकारी खेती सुरु गरेपनि हालसम्म सरकारी सहयोग नपाएको उनको गुनासो छ । सिंचाईको सुविधा प्रमुख समस्या भएकोले सरकारले त्यसतर्फ ध्यान दिएको भए व्यवसायिक तरकारी खेतीमा सहज हुने अपेक्षा उनको छ ।

बेलविक्रमले आफ्नो जग्गामा बेमौसमी तरकारी उत्पादन गर्न थालेपछि गाउँका धेरैजनाले तरकारी खेतीबारे चासो लिन थालेका छन् । आफूले तरकारी खेतीसँगै गाउँका अन्य किसानलाई समेत तरकारी खेती गर्न प्रोत्साहन गरेको उनी बताउँछन् । चौधरीले आफू जस्तै विदेशमा रहेका युवाकालागि उन्नति र प्रगति गर्नुछ भने कृषिमा लगानी गरी स्वदेशमै बस्नुपर्छ भन्ने सन्देश दिँदै आएका छन् ।

विद्यालयको पढाइ बीचैमा छाडेर कोरिया पसेको छोरो स्वदेशमै फर्केर केही गर्न सकिन्छ भन्ने उदाहरणीय व्यक्ति बनेकोमा आफू खुसी रहेको उनका बुवा मिश्रीलाल चौधरीले बताए । 'वर्षौदेखि खेतीपाती गरे पनि हामीले गर्ने तरिका गलत र पुरानो भएकोले हाम्रो उन्नती प्रगती नहुने रहेछ' उनले भने 'छोराले सिकेको आधुनिक तरिकाले खेतीगर्दा त यही माटो मै हिरा फल्ने रहेछ ।' योे व्यवसायमा घर परिवारका सबै सदस्यको साथ, समर्थन र सहयोग रहेको उनको भनाई छ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...