स्वास्थ्य

परदेशबाट परोपकारी कार्य गर्दै युवाः प्रवासीको सहयोगमा गाउँमा एम्बुलेन्स

लक्ष्मण ढुंगाना, बर्दिया, २१ वैशाख, देशमा रोजगारीका अवसर नहुँदा दैनिक हजारौ युवा विदेश पलाएन हुन बाध्य भएका छन् । धेरै पैसा कमाएर जीविकोपार्जन गर्ने सोचले विदेशिएका तिनै युवाले रेमिट्यान्स भित्र्याउन मात्रै मद्दत गरेका छैनन्, उनीहरुको मन भने गाउँकै विकास गर्नेतर्फ छ । बाध्यताले परदेश जानुपरे पनि मनमा भने गाउँलाई सम्वृद्धितर्फ अगाडि बढाउने चाहना परोपकारी युवाहरुको रहेको छ ।

यस्तै परोपकारी भावनाले रोजगारीका लागि कोरिया गएका जिल्लाको विकट मानिने राजापुर क्षेत्रका युवाहरुले एम्बुलेन्स खरिदका लागि अभियान चलाएका छन् । गाउँमा एम्बुलेन्स नहुँदा राजापुर क्षेत्रबासीले झेल्नुपरेको सास्तीलाई मनन गर्दै दक्षिण कोरियामा सामान्य मजदुरको रुपमा कार्यरत युवाहरुले राजापुर स्थित रेडक्रसको मातहतमा रहने गरी एम्बुलेन्स खरिद गर्ने अभियान संचालन गरेका हुन् ।

अभियान सफल पार्न बर्दियाली समाज दक्षिण कोरियाको सहकार्यमा एम्बुलेन्स सहयोग समिति गठन गरी सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोग गर्न आव्हान गरिएको थियो ।

अभियानवाट हालसम्म ८ लाख ५ हजार २ सय ३२ रुपैयाँ संकलन भइसकेको छ । एम्बुलेन्स खरिदका लागि बैदेशिक रोजगारीमा रहेका बर्दिया लगायत विभिन्न जिल्लाका ३५ जना युवाहरुले ९ हजार देखि ५५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गरेको समितिका संयोजक सूर्य के.सी. ले बताए । संकलित रकम मध्ये करिब सवा ६ लाख रुपैयाँ नेपाल रेडक्रस सोसाईटी उपशाखा राजापुरलाई हस्तान्तरण गरिसकिएको छ भने बाँकी १ लाख ७१ हजार ३ सय १८ रुपैयाँ प्राप्त हुन बाकी रहेको उनले जानकारी दिए ।

अभियान सफल पार्न राजापुर नगरपालिका घर भई हाल दक्षिण कोरियामा कार्यरत केशव पौडेल, दुर्गा वाग्ले, कमल वली, सूर्य के.सी, खुसीराम चौधरी लगायतले स्वतस्फूर्त रुपमा ४५ हजार देखि ५५ हजार ५ सय ५५ सहयोग गरेका छन् । अन्य ३० युवाहरुले ९ हजार माथि रकम फेसबुकमा गरिएको आब्हानपछि स्वतस्फूर्त रुपमा सहयोग गरेका छन् ।

एम्बुलेन्स खरिदका लागि सहयोग प्राप्त हुन थालेपछि रेडक्रस राजापुरले पनि मर्मत सम्भारका लागि एउटा छुट्टै कोष खडा गरी आफ्ना सदस्यहरुबाट १ लाख रुपैयाँ मर्मत सम्भारको लागि छुट्टाएको राजापुर रेडक्रसकी अध्यक्ष माया भट्टराईले बताईन् । प्रवासमा रहेका युवाहरुले गरेको सह्रानिय कार्यबाट आफ्ना सदस्यहरुको पनि सक्रियता बढेको बताउदै राजापुर–८, धोबीनपुर निवासी चिन्तामणि आचार्य लगायतबाट १० धुर जग्गा समेत भूमिदान प्राप्त भएको बताइन् । मानवीय हितका लागि सहयोग गर्नु सौभाग्यको विषय भएको उनको भनाई छ ।

अभियानको नेतृत्व गरिरहेका के.सी.ले एम्बुलेन्स नहुँदा यहाँका विरामीहरुले झेल्नुपरेको पिडालाई मध्यनजर गर्दै यो अभियान थालेको बताए । 'एम्बुलेन्सकै अभावमा राजापुर क्षेत्रका विरामीहरुले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर यो कदम चालेका हौँ' उनले भने 'विदेशमा कमाउदै गर्दा थोरै रकम गाउँको विकासमा लगाउन पाउँदा हामी खुसी छौ ।'

अभियानका लागि करिव ३ लाख रुपैयाँ पर्ने जग्गा अपुग तथा करिब २ लाख एम्बुलेसका लागि अपुग भएकोले सहयोगका लागि दक्षिण कोरिया स्थित बर्दियाली समाजले अपिल समेत गरेको छ ।

फाईल फोटोः रेडक्रस राजापुरकी अध्यक्ष माया भट्टराईलाई संकलित रकमको चेक हस्तान्त्रण गर्दै एम्बुलेन्स सहयोग समितिका संयोजक सूर्य के.सी.

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...