विचार

अन्वेषक सत्यमोहन जोशी र महान कलाकार अरनिको – शीतल गिरी

नेपाली साहित्य, संस्कृति र इतिहासका अग्राख हुन्— सत्यमोहन जोशी । उहाँप्रति आस्था राख्नुको कारण के हो भनी मलाई सोधेमा मेरो जवाफ यस्तो हुनेछ । 'उहाँका केही कृति बाहेक मेरो दोहोरो सम्पर्क छैन ।' हो, उहाँका कृतिबाट जति चिन्न सकेँ त्यो नै पर्याप्त हो मेरो लागि । तीन तीन पटक मदन पुरस्कार प्राप्त गरेको कुराले पनि मलाई छोएको छैन, नेपाली मुद्राको गहन अध्ययन र कर्णालीको इतिहास खोजी कार्यप्रति भने पक्कै आस्था छ । नेपाली कलाकार अरनिको जसले विदेशी भूमिमा अद्वितीय सुवर्ण चैत्य, श्वेत चैत्य बनाएर नेपालको आफ्नो मौलिक शैली पैगोडालाई उच्चस्थान दिलाई विशिष्ट बने । त्यो विशिष्ट कलाकारको चर्चा नेपालमा त थिएन, नेपालको इतिहासले सम्झेको पनि मलाई थाहा छैन । त्यो अनुपम चित्रकला, विश्वलाई मोहित पार्ने पैगोडा शैली र अद्वितीय सुवर्ण चैत्य बनाउने कलाकारको बारेमा नेपालको कुन वंशावलीले, शिलालेखले अथवा लेख्य केले चर्चा गरेको छ ? वास्तवमा अध्ययनशील सत्यमोहन जोशी चीन भ्रमण गरी नेपाली कला पहिचान गरी, महान कलाकार अरनिको नेपाली भएको प्रमाण उपलब्ध गराउनु भयो । म सत्यमोहन जोशीको बारेमा धेरै कुरा जान्दिन । यसो भएको हुँदा मबाट उहाँको अति मूल्याङ्कन पनि हुने छैन । बाटोमा पैदल हिँडिरहने, कार्यक्रमहरूमा भेट भइरहने शताब्दी पुग्न लाग्नु भएको, पातलो शरीरको, अग्लो, नेपाली टोपी कहिल्यै नछाड्ने । कमिज सुरुवालमा सजिएको शून्यमा केही खोजिरहने, हँसिलो मुहारको स्पष्ट वक्ता त्यो व्यक्तित्व अहिले मेरो सम्मुखमा भएको अनुभव गर्दैछु ।

अरनिको अत्यन्त सम्पन्न सुख सुविधाले परिपूर्ण भएको चीनको दरवारमा आरामसाथ रहेका थिए । उनका वरिपरि नोकर चाकर, धाई सुसारे र अरु अङ्ग रक्षक पनि हुन्थे । चीनमा बादशाह पछाडि सम्मान पाउने उनी मात्रै हुन् । उनी बाहिर निस्कँदा अत्यन्त सिँगारिएको १६ घोडे बग्गीमा बस्ने व्यवस्था मिलाईको हुन्थ्यो, सो बग्गीको पछाडि पहिले आठ घोडे बग्गी त्यसपछि ४ घोडे बग्गी अनि पैदल १० जना सिपाहीहरू हातमा तरवार लिएर बग्गीका अगाडि पछाडि हिँडिरहेका हुन्थे भने उनका अगाडी पनि त्यसै गरी ४ घोडे बग्गी र त्यसपछि ८ घोडे बग्गी हुन्थ्यो । 
अरनिकोको जन्मताका नेपालमा शासक खलकमा सत्ताको लागि सङ्घर्षले राज्य लथालिङ्ग भएको थियो । त्यसमाथि झन् पश्चिमका खस र दक्षिणका डोयको खतरनाक आक्रमणले अझ जरजर पारेको थियो । बिहान चाँडै उठेर नुहाएर पूजापाठ गर्नु र दरवारमा जानु, राजकाजमा परेका अराएका काम गर्नु, यही थियो अरनिकोको बुबा मतियारको काम । त्यस बेलाका राजा ठकुरी र लिच्छवी वंशबाट प्रादुर्भाव भएका भए पनि जातपात, छुवाछुत त्यति धेरै चलेको थिएन तर केही कट्टर र जातपातका समर्थक थिए । अरनिकोलाई चीनमा सम्राटले चीनको सबभन्दा ठुलो दर्जाको सम्मान दिएपछि उनको परिवारसँग रिस गर्ने र बरोबर दुःख दिने काम गर्ने एक जना छिमेकी चीनमा नै आएर उनीसँग माफी मागेर फर्किएको थियो । 
अरनिकोको जन्मताका घरमै कपडा बुनेर लगाउने चलन थियो तर उनको परिवारमा कपडा बुन्ने सामान नभएको हुँदा केही समयसम्म त उनलाई आमाले पुरानो थाङ्नामा राख्नु भएको थियो । गाई, भैंसीको र आमाको दूध पिएर हुर्किएका अरनिकोको अलि ठुलो भएपछि मुख्य आहार पिठो बन्न पुग्यो । 
चीनको यात्रामा निस्केका सत्यमोहन जोशीले त्यहाँको माटोमा नेपाली गन्ध पहिचान गर्न सकेका हुँदा उक्त पङ्क्ति म जस्तो वबुरोले कोर्न पाएको हुँ । नेपालप्रतिको राष्ट्रभावको प्रभाव र प्रेरणा जोशीको रगतमा छ । उहाँले आफ्नो जीवन नेपालको इतिहास, संस्कृतिको गौरव अध्ययन अन्वेषणमा समर्पण गर्नुभएको छ । अन्वेषक जोशीको इतिहास र संस्कृति सम्बन्धी ज्ञानको र विद्याको स्वरूप देखेर म अभिभूत भएको छु ।
सत्यमोहन जोशीलाई म सम्मान गर्छु, उहाँ के हुनुहुन्छ ? उहाँको रचनामा नडुबेसम्म बुझ्न सकिन्न । उहाँको विद्वताको कदर गर्नुको साटो पञ्चायती सरकारले खाईपाई आएको जागिर पनि खोसिदियो । मलाई यति थाहा छ, जब उहाँले प्रज्ञा–प्रतिष्ठानमा अवसर पाउनु भयो, भत्ता मात्र पचाएर बस्नु भएन, बरु नेपाली इतिहास र संस्कृतिलाई धनी बनाउन अन्वेषण गर्नु भयो । यसकारण मेरो उहाँप्रति आस्था छ र म उहाँलाई उहाँकै रचनामा चिनेको भरमा यो लेख्न सहज लागेको छ ।
किशोर वयको अरनिको एक दिन घुम्दै घुम्दै स्वयम्भू थान पुगेर राम्ररी हेरेपछि घरमा आएर माटोको त्यस्तै स्वयम्भू चैत्य बनाइ दिए । एक रात तिब्बतबाट नेपालको दर्शनार्थ आउनु भएका भिक्ष्ॉ भद्रवाहुसँग अरनिकोको भेट अशोक स्तम्भको सानो गुम्बामा भयो । पन्ध्र वर्षको कलिलो अरनिकोको प्रतिभाबाट अत्यन्त प्रसन्न भएर उनका कलाहरू राम्रो मानेर उनका कलाका नमुनाहरू लिएर तिब्बत लाने कुरा गर्नु भयो । 
अरनिकोको तिब्बत जाने पक्का भइपछि उनलाई विदा गर्न उनको घरको ढोकामा २ ओटा माटाका सिँगारिएका घडा राखिएका थिए । उनकी आमा र बुबा ढोका बाहिर, श्रीमती एउटा कुनामा उभिएर सुँक्क सुँक्क गरिरहेकी, साना साना केटाकेटी वाल्ल परेर हेरिरहेका थिए भने अरनिको कुम्लो कुटुरो बोकेर ढोकामा पुग्दा आमा सुँक्क सुँक्क गर्न थाल्नु भयो । पन्घ्र वर्षको कलिलो बालक तीन महिना लगातार कसरी हिड्न सक्छ भनी आमालाई माया लाग्नु स्वभाविकै हो । मायाले कसैले कसैलाई पनि आफूबाट टाढा पठाउन चाहँदैन । अरनिकोको आँखाबाट पनि आँसु आएको हुँदा लुगाको फेरले आँसु पुछे र एक छिन अल्मलिए । त्यसपछि उनी सम्हालिएर आमालाई समातेर अलि हाँस्दै अनेकौं कुरा भनेर सम्झाएर चित्त बुझाए अनि उनलाई आमाले टीका लगाइ दिएपछि कुम्लो बोकेर घरबाट निस्किए । 
तिब्बत र चीनमा अरनिकोले बनाएको कला हाम्रो हो । सो इतिहासप्रति हामी अनभिज्ञ थियौँ । अन्वेषक सत्यमोहन जोशीले नेपालीपन चीनमा रहेको पैगोडामा खोजे, उपलब्ध प्रमाणले नेपालको छोरो अरनिकोले बनाएको चैत्य नेपाली कला हो भनी संसारलाई जाहेर गर्न अत्यन्त गम्भीर भएर लागे । म विश्वस्त छु— नेपाली पैगोडा शैली तिब्बत, चीन हुँदै जापान, कोरिया लगायतका देशमा फैलिएको हो । म अन्यौलमा उभिएको थिएँ । दोबाटोमा पुगेर रोकिएँ । म अरनिकोलाई पहिचान गराउने सत्यमोहन जोशीको बारेमा लेख्दैछु तर मेरो लेखन स्रोत के हो ? म के लेख्दै छु ? म आफ्नो सृजनाको ऊर्जा कहाँबाट प्राप्त गर्दछु ? मलाई यस चिन्ताले छोपेको छ । कलाका पारखी सत्यमोहनको नेपालीको कलाप्रतिको आस्थाले अरनिकोको सत्य प्रकट भयो । जुन कुरो नेपालको इतिहासमा छँदै थिएन त्यो लेखिन पुग्यो । आस्थाको लागि आवश्यक छ, अझ अनिवार्य छ— गहन अन्वेषणको । आज अरनिको महान कलाकार हाम्रो हो भनी छाती फुलाउँछौं, यो त सत्यमोहन जोशीको आस्थाको उपलब्धि हो । अर्थात् त्यस गहन अन्वेषणले जसको कुनै प्रमाण, सङ्केत नेपालमा थिएन— उजागर गर्यो । आस्थाले यस किसिमबाट अरनिको रूपमा प्रतिष्ठा प्राप्त गर्यो, स्वयम् सत्यमोहन जोशी पनि अग्राखमा परिणत भए । गहन अन्वेषणविना सत्य उजागर गर्न सकिन्न, इतिहास पुरुष जो कोही बन्न पनि सक्दैन ।

एक जना मित्रले भनेका थिए कि महान कलाकार अरनिको कुनै कला नेपालमा छ ? म ती मित्रको तर्कको अभिनन्दन गर्दछु । जसले यस भूमिमा कुनै अद्वितीय कला दिएकै छैनन्, त्यस्तालाई महान कलाकार कसरी भन्ने ? तर उनको कला जहाँ भए पनि त्यसमा नेपालीपन भने त छ । यथार्थमा अद्वितिय र अद्भूत कला अरनिकोका हुन् । तर कला नेपालबाट गएको पनि अवास्तविक होइन । चीनका राजाले राजकीय सम्मान दिएको चिनियाँ इतिहासमा लेख्य प्रमाण छ । अरनिकोका धेरै गुण थिए, धेरै नाम भयो, धेरै सम्मान प्राप्त भयो, कलाका पारखी चिनियाँ राजाले कलाको कदर गरे । यो सत्यलाई नकार्न सकिन्न । त्यही सम्मान र सुखले अरनिको जन्मभूमि फर्किएनन् । यस कुरोतर्फ विचार गर्दा— नेपाली इतिहासले सम्झन नसकेको कला नेपालीय हो भनी सत्यमोहन जोशीले यथार्थ खोले । नेपालीपनप्रतिको आस्थाले अरनिको नेपाली मन भएको सत्य वर्तमानमा उजागर गरे । गहन अन्वेषणको सफलता यसैलाई भनिन्छ ।
हिँड्दै जाँदा अरनिको काठको पुलबाट अरुण नदी तरेर तिब्बतको साक्या चैत्यमा पुगे । साक्या चैत्य नदीकै किनारमा थियो र सँगै रहेका भिक्ष्ॉ भद्रबाहुले कामको बारेमा बताएपछि त्यो रमाइलो गाउँमा साथीहरू सहित दुई वर्षसम्म मर्मत सम्भारको काम गरे । साक्या चैत्यमा ध्यान गर्ने मानिसहरू बस्ने गर्थे । बौद्धधर्म दर्शन अन्तर्गत गरिने ध्यानबाट चिनिया र तिब्बतबासी ज्यादै प्रभावित भएकोले यो चैत्यको महिमा र ध्यानको उपलब्धि धेरै ठाउँमा फैलिएको थियो । अगाडि दिग्विजय गर्दै गएका चङ्गेज खाँ समेत यो साक्या चैत्यको ध्यान प्रक्रियाबाट प्रभावित भएका रहेछन् । यस्तो ठाउँमा गएर कान्तिपुरबासी अरनिकोले सालाखाला दैनिक १३ घण्टाजति निरन्तर काम गर्दै गए । उनको कामबाट प्रभावित भएर स्थानीय युवतीले विवाहको प्रस्ताव ल्याए, सौहार्दपूर्ण वातावरणमा विवाह भयो, त्यसपछि उनलाई अलिकति सुविधा पनि भयो ।
अरनिकोले तिब्बत र चीनमा सृजना गरेको कला पुष्पित पल्लवित भएको हुँदा आज हामी हाम्रो कलाकारले बनाएको हो भन्न सक्छौँ । हाम्रो हो भन्न सक्ने गरी अन्वेषण हुन सकेको थिएन र कुनै सम्भावना पनि थियो या थिएन भनेर म किटान गर्न सक्ने हैसियतको पनि होइन । अरनिकोको सूक्ष्म अन्वेषण जोशीज्यूले गर्नु भयो र त्यसको व्याख्या गर्न लागेको पनि हैन मैले । अरनिको जस्ता महान कलाकार विदेशिनु भनेको हाम्रो कलामा, सभ्यतामा आएको ठुलो हानी हो । महान् कलाकार विस्थापित गराउने त्यस समयलाई आजको समयले सराप्दैछ । आज हामीले महान अन्वेषक सत्यमोहन जोशीको उचित कदर र सम्मान गर्न सकेनौँ भने भोलिले हामीलाई पक्कै सराप्ने छ । राजनीतिक जडताको भयले, जातिवादको भयले, आफ्नै घरको गहना फुकालेर फ्याँक्दैछौँ । सङ्कीर्ण सोचले प्राचीन ज्ञानस्रोतको कदर गर्न जानेनौँ ।
मैले यसरी लेख्दा कसैलाई कस्तो कस्तो लाग्न सक्छ । तर अरनिकोलाई चिनाउने उद्गम सत्यमोहन ज्ञानमा मात्र हैन यथार्थमा जिज्ञासामा पनि हुनुहुन्छ, अहमतामा मात्र हैन अकिञ्चनमा पनि हुनुहुन्छ, विज्ञतामा मात्र हैन अज्ञतामा पनि हुनुहुन्छ । उहाँमा दृढ उद्घोष पाइदैन, बरु नम्रतापूर्वक भनाइ राखिएको पाइन्छ । उहाँको अन्वेषणमा वाग्मीतर्क पाइँदैन, खदिलो तर विनयपूर्वक तथ्य प्रकट गर्नुहुन्छ । उहाँ प्रभुता होइन, साहित्य उहाँबाट प्राप्त हुन्छ, खबर होइन लोप हुन लागेको, भएको इतिहास, संस्कृतिको खोजी गर्नु हुन्छ उहाँ ।
साक्या गुम्बा मर्मतपछि स्वर्ण चैत्य अरनिकोले जस्तो कल्पना गरेर निर्माण गरे, त्यसबाट सारा मानिसहरू अत्यन्त प्रभावित भए । एक दिन बुद्धधर्मका धर्मगुरु बास्पकाले प्रवचन गरिसकेपछि बसेर उठेको समयमा अरनिकोले उहाँको अलि उड्न लागेको जस्तो अद्भूत चित्र बनाइ दिए । धर्मगुरु वास्पकाको शब्दमा— 'अरनिकोलाई यस्तो वरदान दैवले नै दिएका हुन् ।' अद्भूत चित्र र साक्या चैत्यसँग स्वर्णचैत्य बनाइसकेपछि अरनिकोको नाम चीनसम्म पुगेको हुँदा बादशाह कुबलै खानले उनलाई बोलाउने निहुँमा अरनिकोलाई लिन पठाए । अरनिकोले आफ्नो योग्यता, क्षमता श्वैत चैत्य बनाउनमा लगाए । त्यसपछि त अरनिकोलाई प्रधानमन्त्री सरहको सम्मान गरियो । नेपालमा त्यस्तो सम्मानको हकदार वर्तमानमा सत्यमोहन जोशी छन् तर कला, प्रतिभा विहीन शासक भएको हुँदा पाउनु पर्ने सम्मान पाउन सकेका छैनन् ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप

'कुमारी आमा' बन्ने... !

काठमाडौँ, ७ जेठ, अवैद्य रुपमा चेलिवेटी वेचविखान तथा ओसार प्रसार विरुद्ध सन्देशमुलक नेपाली चलचित्र 'कुमारी ...