विचार

रौतहट जिल्लाको ऐतिहासिकता – शीतल गिरी

यथेष्ट प्रमाणको आधारमा रौतहटको प्राग्इतिहासबारे धक फुकाएर लेख्ने अवस्था छैन । गोपालहरूको–आभीरहरूको–अहीरहरूको र राउतहरूको बस्ती हुँदै रौतहट नामकरण भयो कि भनी अनुमान लगाउन सकिन्छ, यो अनुमान लगाउनुको प्रमुख कारण यहाँ बसोबास गर्ने जातिमा अहिर–राउतहरूको बाहुल्य हिजोदेखि आजसम्म रहनु हो ।
रौतहट कुन राज्यअन्तर्गत पर्दथ्यो— भन्नेबारे सामान्य चर्चा मात्र गर्न चाहन्छु । हावामा झटारो नहानेर अलिकति मेलखाँदो लोकोक्तिलाई पुष्टि गर्ने तर्फ ध्यान केन्द्रित पारेको छु । यहाँ चर्चा गरिएको भूमि राजा शिरध्वज जनकको राज्य जनकपुर अन्तर्गत राख्ने हो भने यहाँको आवादी उपनिषद् कालको आसपास आँक्न सकिन्छ अथवा त्यस भन्दा पुरानो पनि हुनसक्छ ।
यादवगोत्रीय राउतहरू शान्त स्वभावका जङ्गली जातिका थिए । उनीहरूको प्राचीन थलो महिष्मती नदीको किनार नै हो । यदुकुल मान्ने यादवहरू (जो कृष्णौट भन्न रूचाउँछन्) यमुनाका किनारमा बाक्लो बस्ती बसालेर रहेका थिए ।
भार्गव ऋषिलाई सहयोग गरेको बहाना बनाएर हिंसाका प्रतिमूर्ति हैहय कार्तवीर्य सहस्रार्जुन यादवगोत्रीय राउतहरूको समूल नाश गर्न तुण्डीकेरा, सर्यात र हैहयवीरहरू लिएर अघि बढ्यो । भार्गव ऋषिका नाति परशुरामले यादवगोत्रीय राउतहरूको उद्धार गरे । परशुराम भार्गवद्वारा प्रशिक्षित यादवगोत्रीय सैन्यहरूको भरमा ठाउँ–ठाउँमा लड्दै मर्दै मार्दै पशुधन बचाउँदै स्याहार्दै यमुना नदी तरेर आर्यावर्तमा गएका यादवहरू त्यहाँ पनि शान्तिसँग बस्न पाएनन् । त्यही आर्यावर्तमा एउटा ठूलो लडाइँ मच्चिएको थियो, त्यो लडाइँ दासराज युद्धको नामले प्रख्यात छ । त्यस युद्धमा संरक्षक परशुराम भार्गवका आफन्त ऋषि विश्वामित्रले शहादत प्राप्त गरेपछि यादवगोत्रीय राउतहरू त्यहाँबाट पनि भागे । तिनीहरू आर्यभूमिबाट पूर्वतर्फ हानिदै बङ्गालको खाडी पुगेर गङ्गाको किनारको बाटो समाती बागमती नदीको किनारै किनार बढे ।


बागमती नदीको तटमा लहलहाउँदो घाँसले सजिएको समथल क्षेत्रमा वन जङ्गलले मोहक बनाएको निर्जन शान्त र सुरक्षित भूमि पाउँदा केही यादवगोत्रीय राउत यहाँको भूमिमा बसे भने धेरैजसो नेपाल उपत्यकातर्फ गए ।
नेपाल उपत्यकामा पुगेका यादवगोत्रीय राउतहरू गोपाल जातिको नामले प्रख्यात भए । नेपाल उपत्यकामा गोपालवंशका भुक्तमान, जयगुप्त, परमगुप्त, भीमगुप्त प्रथम, भीमगुप्त द्वितीय, मणिगुप्त, विष्णुगुप्त र यज्ञगुप्तले ३२० वर्षसम्म राज्य गरे । नेपाल उपत्यकामा भुक्तमानको नेतृत्वमा वाणासुरको वध गरी प्रलयको पानी बहाई खेती गर्न योग्य बनाए । यादवगोत्रीय जसलाई रौतहटमा राउत र नेपाल उपत्यकामा गोपाल भनियो— मूलतः पशुपालक थिए । नेपाल उपत्यकामा भेडापाल, महिषपाल र माछामारको संसर्गले अनार्यहरूको शिस्नदेव (पशुपति) पुज्न थालेका थिए । रौतहटका राउतहरू समय कुसमयमा नेपाल उपत्यका गइरहन्थे र त्यहाँ शिस्नदेव (पशुपति) को पूजाआजा गरेको आफ्नै आँखाले देखेका थिए । रौतहटमा बसोवास गर्ने राउतहरूले पनि आफूहरूलाई बज्जि गणराज्यको रूपमा स्थापित गराए । बज्जि गणराज्य पशुपालक गणराज्य थियो । यिनीहरूले पशुरक्षाको लागि नेपाल उपत्यकाको देखासिखी औरैया भन्ने ठाउँमा शिस्नदेव स्थापना गरी पशुपति नामाकरण गरे ।
बज्जि गणराज्यका राउतहरू पशुपालनमै निर्भर रहेको हुँदा यिनीहरू निश्चित भू–भागमा बसाइ सरिरहन्थे । तर वर्षको एक पटक आश्विन पूर्णिमाको दिन आराध्यदेव पशुपति (औरैयामा रहेको शिस्नदेव) को पूजा गर्न आइपुग्थे । शान्त स्वभावका राउतहरूको बज्जि गणराज्य रौतहटमा ई.सं.१०९७ सम्म कायमै थियो । बज्जि संघमा राउतहरू घुमन्ते पशुपालक भएको हुँदा राजधानी र सम्पन्न नगर बनाएनन् । जंगलमा रम्ने हुँदा अन्य छिमेकी राज्यसँग झगडा मोली क्षेत्र विस्तार गर्न चाहेनन् । छिमेकमा कोल, लिच्छवी, मल्ल, शाक्यहरूका गणराज्य पनि आसपासमै थिए । ती गणराज्यहरू पनि जङ्गली अवस्थामै थिए । गङ्गानदीदेखि वारी कुनै शक्तिशाली राज्यको निर्माण भइसकेको थिएन, प्राचीन मिथिला राज्य छिन्नभिन्न भै सकेको थियो । कोशी नदी पूर्वमा किरातहरूको एक जाति 'मग' हरूको संघीय गणराज्यमा रहे पनि पछि गएर बज्जि संघीय गणराज्यमा मिसियो । बज्जि संघीय गणराज्यको सङ्गठन अद्वितीय थियो । बज्जि गणराज्यमा राउत र थारू जातिको राम्रो मेल थियो । राउत लडाकु र पशुपालक बने भने थारु खेती गर्ने भए । तर पनि थारूहरूले राउतहरूलाई 'बाजी' भन्ने गर्थे र आफूभन्दा अलि भिन्न ठान्दथे । थारु मूलतः आर्य नभएर मंगोल जातिका थिए । तिनीहरू कहाँबाट आएर 'बज्जि' गणराज्यमा मिसिए यो खोजको विषय हो । 'ग्वारके लाठी कपार मे' लोकोक्तिले रौतहटका राउत लडाकाहरूले पछिसम्म आफ्नो गणराज्य टिकाइराखेको आभास दिलाउँछ ।
महाभारतमा सरस्वती नदीको किनारमा वर्णन गरिएका आभीर गण उत्तर पश्चिम प्रदेशबाट पहाडी बाटो हुँदै कश्मिर, गढवाल, दार्चुला हुँदै काठमाडौं उपत्यकामा आएकाहरू बसाई सर्दै रौतहटमा आएका हुन् भनी विचार गर्ने हो भने चाहि ई.पू. ७५० देखि यहाँ गणराज्य कायम भएको अनुमान लगाउन सकिन्छ ।
रौतहटका जनताले बोल्ने गरेको भाषामा भोजपुरी र मैथिलीको प्रभाव छैन र यो भारोपेली भाषाको स्वतन्त्र अस्तित्व राखे तापनि सङ्कटमा परेको 'बज्जिका' भाषा हो । यो भाषा पूर्वतर्फ समृद्ध भाषा मैथली, पश्चिमतर्फ बहुप्रचारित भोजपुरीको बीचमा चौडाई लगभग ३० कि.मी. र लम्बाईमा भने भारतको सीतामढी, मुजफ्फरपुर, कुच बिहारसम्म रहेको छ । भाषाको बारेमा म अल्झिन चाहन्नँ ।
अँ, कुरो के भने गोपाल वंशावलीअनुसार वाणासुरको वध गर्न श्रीकृष्ण मथुराबाट ग्वालाहरूकोसाथमा काठमाडौं उपत्यकामा आएका थिए । यस कुरोलाई मध्यनजर दिने हो भने 'बज्जिका' भाषा बोलिने भनी माथि उल्लेख गरेको स्थान र काठमाडौँ उपत्यका जाने प्राचीन बाटोमा पर्दछ । सोही क्रममा ग्वालाहरू बागमती र बकैया नदीले हराभरा पारेको लहलहाउँदो घाँसले सजिएको मनमोहक, सुरम्य यस भूमिमा बस्ती बसालेर रहेको हुनुपर्छ ।
जतिखेर काठमाडौं उपत्यकामा किरातहरूको शासन (ई.पू. १०८०—ई.सं.१००) थियो त्यतिखेर रौतहटमा बज्जि संघ राज्य थियो । सो समयमा गङ्गा नदीदेखि दक्षिणको भूभागमा लिच्छवी, शाक्य, कोली, मल्ल आदिको अनेक संघ राज्य विकसित भइसकेका थिए । 'बज्जिका' भाषालाई प्रमाण मान्ने हो भने लुम्बिनीमा शाक्य वंशका उज्ज्वल नक्षत्र 'गौतम बुद्ध' उदाउँदा यहाँ (रौतहट) बज्जि संघ राज्य भएको पाउछौँ ।
काठमाडौं उपत्यकामा किरातहरूले शासन गर्दा रौतहटमा बज्जि संघ गणराज्य भएको र बागमती किनारको बाटो अस्तित्वमा रहेकोतर्फ अब ध्यान केन्द्रित गरौँ । चन्द्रागिरि, चित्लाङ, पालुङ हुँदै पश्चिमतर्फको बाटो लुम्बिनी जान्थ्यो । चित्लाङ, भीमफेदी हुँदै दक्षिणतर्फ जाने अर्को बाटो पनि अस्तित्वमा थियो भने सिन्धुली हुँदै कमलाखोचको बाटो कलकत्तातर्फ जान्थ्यो ।
पाटलीपुत्रको सम्राट चन्द्रगुप्त मौर्य (३०० ई.पू.) का मन्त्री आचार्य कौटिल्यले आफ्नो अर्थशास्त्र नामक पुस्तकमा नेपालका राडीपाखीले भारतीय बजारमा ख्याति प्राप्त गरेको उल्लेख गरेका थिए । रौतहटमा संघ राज्य भएको हुँदा व्यापारीहरूलाई दुःख दिने मनोवृत्ति थिएन । संघमा विश्वास गर्नेहरू व्यक्तिगत हितखातिर लुटमार नमच्चाउने हुँदा यो बाटो अलि विकट भए पनि प्रचलित थियो ।

माथिका प्रमाणहरूलाई एक एक गरी केलाउने हो भने किरात कालमा रौतहटमा राउत (गोपालवंशी यादव) हरूको संघीय गणराज्य थियो । उनीहरू पशुपालक भएको हुँदा पशुहरूको रक्षाको लागि औरैया गाउँमा पशुपति (लिङ्गदेव) बारे जनमानसमा जानकारीको अभावले अथवा राजाहरूको अनुकम्पाको अभावले अस्तित्वविहीन भएको हुनुपर्छ ।
दक्षिण भारत कर्णाटकका राजा विक्रमादित्यले उत्तरतर्फको विजय यात्राको क्रममा यहाँ (रौतहट) को बज्जि गणराज्य समेतलाई ई.सं.१०९७ मा आफ्ना सेनापति नानयदेवद्वारा विशाल राज्यमा विलीन गराएका थिए र विक्रमादित्यको मृत्युपछि सिम्रौनगढलाई राजधानी बनाई स्वतन्त्र तिरहुत (डोय) राज्यको स्थापना गरे ।
अहिर (राउत) र विक्रमादित्यको लस्कर एक–अर्कालाई राम्ररी देख्न सक्ने भएपछि दुबैतिरबाट वाण वर्षा हुन थाल्यो । अहिले राम्ररी सूर्योदय पनि भइसकेको छैन । वाण वर्षा भएको हुँदा दुबैतिरका सेनाहरू अगाडि बढ्न सकेनन् । अहिर (राउत) का गणपति मोहितले यत्न र चातुर्यले सबै सम्भव ढिस्को (डिह) र अग्लो स्थानमा आफ्नो सेनालाई टाढा–टाढासम्म फिजारेर राखेका थिए । दक्षिण भारत कर्णाटकका राजा विक्रमादित्य अहिरहरूको योजनादेखि असाबधान पक्कै थिएनन् ।
विक्रमादित्यले आफ्ना सैनिकलाई रुख, ढिस्को र आड लाग्न सकिने ठाँउहरूमा समूह समूहमा पठाएर आड लागेर वाण बर्साउने आदेश दिएका थिए । हेर्दाहेर्दै दुबैतिरका सिपाही घाइते बन्दै चित्कार गर्न थाले । अहिर सेना अगाडि बढेर एक–अर्काको सम्मुख भइ तरवारको युद्ध गर्न चाहन्थे । तर विक्रमादित्यको रणकौशलले गर्दा अहिर सेनाले सम्मुख परी तरवारको युद्ध गर्न हच्के, खुट्टा कमाए । त्यो दिन यसै गरी व्यतीत भयो ।
सन्ध्याकाल भएपछि विक्रमादित्यले युद्ध बन्द गर्ने सङ्केत गरे । अनि दुबैतर्फका सैनिकहरू आ–आफ्नो शिविरमा फर्किए । बज्जि संघका राउत गणपति मोहितले सैन्य पोषाक खोलेनन् । सेनाको निरीक्षण गरे । घाइते योद्धाहरूलाई देवपुरमा पठाउन लगाए । साथै सेनाको पुनः वर्गीकरण गरेर भोलिपल्टको युद्धको योजना बनाए । टाढाका सैनिकहरूका लागि सन्देश दिन घोडचढीहरू पठाए ।
भोलिपल्ट सूर्योदय हुनासाथ अहिरहरुलाई सम्हालिने मौका नदिएर उनले आफ्ना दुधर्ष घोडसैनिकहरु पठाएर अचानक आक्रमण गर्यो । यस कार्यले पहिले त अहिर पक्षमा खैलाबैला मच्चिएको र अस्तव्यस्तता छाएको देखियो तर तत्कालै तिनीहरु तरवार लिएर जाइलागे । हेर्दाहेर्दै तिनीहरू आफ्ना स–साना दल बनाएर विक्रमादित्यको सेनासँग भिड्न थाले । एक अर्काको सम्मुखको मारकाटले शिर–गीड काटिएर भूमिमा खस्न थाले ।
गोचाली सेना, जो वर्छी युद्धमा अप्रतिभ थियो, आफ्ना तिखा वर्छा लिएर कर्णाटकका सेनाहरूको संहार गर्न थाले । उनीहरूका वर्छी शत्रुहरूका आन्द्रा–भुँडी बाहिर नल्याएसम्म शरीरबाट झिक्न सकिन्नथे । उनीहरूको वजनदार तरवारको गहिरो घाउ लागेका शत्रुहरू कहालिन थाले । विक्रमादित्य आफ्ना सेनाको यस्तो दुर्दशा देखेर रिसले चूर भए । उनले गोचालीबाट त्यस्तो वर्छीयुद्धको कल्पना पनि गरेका थिएनन् । यी गोचाली व्यवस्था र युद्ध नियमको वास्ता नगरी शिवले झैँ विक्रमादित्यको सेनामा ताण्डव नृत्य गरी संहार गर्न थाले । घोडालाई पनि सैनिकलाई झैँ वर्छा रोपेर मार्न थाले । विक्रमादित्यले रिसले चुर भई यी जङ्गली गोचालीलाई तत्कालै समूल नाश गर्ने अठोट गरे ।
उनले चौहान घोडसैनिकहरूलाई झिकाए । यी खुँखार चौहानहरूले चारैतिरबाट गोचालीहरूको टुकडीलाई घेरा हालेर लामा लामा भालाले घोच्न र आफ्ना तालिम प्राप्त घोडाहरूले कुल्चाउन थाले । गोचाली सैनिकमा त्रास छायो, तिनीहरूसँग घोडा थिएनन्, तिनीहरू पैदलै थिए । गणपति मोहितले यो देखेर प्रबल पराक्रमी दनु घोडसवारहरू शत्रुदमन गर्न पठायो । अब बराबरीको युद्ध थियो । दनु–चौहान राजपूतसँग भिड्न थाले । दनुहरूले चाहेकोजस्तो अवसर पाएका थिए ।
यो तरवारको एक–अर्काका सम्मुखको युद्ध मध्यान्हसम्ममा यस्तो घातक बन्न गयो कि दुबै पक्षकाले मनमा ठाने आजको युद्ध नै निर्णायक युद्ध बन्नेछ । मरेका सवार र घोडाहरूले योद्धाहरूको मार्ग अवरुद्ध पार्दथे । विस्तारै–विस्तारै विक्रमादित्यको सेनामा अव्यवस्था देखा पर्न थाल्यो । चौहान राजपूत ठाउँ–ठाउँमा पछाडि हट्न थाले । गणपति मोहितले यो देखेर आफ्ना सुरक्षित अश्वारोहीहरूलाई आक्रमण गर्न आदेश दिए ।
यो नयाँ सेनाको आक्रमण राजपूतले सहन सकेनन् र पिठ्यु फर्काएर भाग्न थाले । विक्रमादित्यले विपत्ति सम्मुख देखेर भाग्न थालेका राजपूतहरूको नजिक पुग्न आफ्नो अश्व दौडाए र हाँक दिँदै भने, ''राजपूतहरू हो, आफ्नो जातीय सम्मानको लागि मर वा मार । भागेर कायरताको रूपमा परिचय नदेऊ । भागेर कहाँ जान्छौँ ? कर्णाटक धेरै टाढा छ ।''

चौहान बल्लतल्ल सङ्गठित भए । एक पटक पुनः घमासान युद्ध भयो । लासमाथि लास खप्टिन थाल्यो । दुबैतर्फको सेनामा थकान र क्लान्ति देखा पर्न थाल्यो । विक्रमादित्यले सूर्यास्त भन्दा पहिले नै युद्ध बन्द गर्ने सङ्केत गरे । यस दिन पनि विना कुनै निर्णयको दुबै पक्षका सेनाहरू पछाडि फर्के । तर बज्जि गणका सेना उत्साहमा थिए र विक्रमादितयका सेना भयभीत थिए । यद्यपि बज्जि गणका सेनाको पनि आज ठूलो संहार भएको थियो । तर विक्रमादित्यको सेनाको क्षति भने साधारण थिएन । विक्रमादित्य चिन्तित भए ।
तेस्रो दिन विक्रमादित्यको इच्छा युद्ध बन्द गर्ने थियो । तर बज्जि संघका गणपति मोहितले मानेनन् । उनले विक्रमादित्यको सेनामा आक्रमण गरीदिए । विक्रमादित्यले युद्ध गर्नुपर्यो । युद्ध प्रारम्भ गर्नुभन्दा पहिले गणपतिले विक्रमादित्यलाई सन्देश पठाए कि उनले चाहेमा सुरक्षित फर्किन दिइनेछ ।
विक्रमादित्यको सम्पूर्ण सेनामा निराशा छायो । उनले प्रातःकालमा वीरगति प्राप्त सेनाहरूको आत्माको शान्तिको निमित्त देवतासँग प्रार्थना गरे । त्यसपछि उनले संक्षिप्त भाषण दिए । भाषणमा उनले भने, ''बहादुर राजपूतहरू हो, तिम्रो शौर्यले गर्दा हाम्रा पुर्खाले विश्वविजय गरेकाले आज लोकले मान्दैछ । उनै शूरवीरका सन्तान हौँ हामी । पूर्व, पश्चिम र दक्षिण जय गरी सक्यौँ उत्तरतर्फ जय गर्न मात्र बाँकी छ । के हामीले उत्तरतर्फको लडाइँमा जय प्राप्त नगर्ने ? लोकले के भन्नेछ हामीलाई ? भाग्नु धर्म होइन । वीरलाई बाटो पहाडले पनि दिन्छ । नेतृत्वविहीन अहीरलाई जय गर्नु कुनै गाह्रो काम होइन ।''
सेना होस्टे हैंसे गर्दै जुटे । बर्बर सोलंकि र चौहान नयाँ आदेशको घमण्डले चुर भएर घोडामा सवार भए । हेर्दाहेर्दै घमासान युद्ध हुन थाल्यो । यो चौमुखी युद्ध थियो । कतै तरवार टकराइरहेका थिए, कतै बर्छीले कलेजो छेडिरहेको थियो । आकाश वाणले छपक्कै छापिएको थियो । दुबैतिरका वीरहरू एक–अर्काका रक्तपिपासु बनेर मार्न मर्न भिडेका थिए ।
विक्रमादित्य विद्युतगतिले घोडामा सवार भएर कहिले यो छेउ कहिले त्यो छेउ पुगी आफ्नो सेनालाई उत्साहित पारिरहेका थिए । मध्यान्ह हुन बाँकी नै थियो । विक्रमादित्यको सेना खल्बलिन थाल्यो । गणपति मोहितको दवाव बढ्दै गइरहेको थियो । विक्रमादित्य आफ्नो सैनिकलाई हात उठाएर केही भन्न चाहिरहेका बखतमा एउटा बाण आएर पाखुरामा धसियो । प्रहारबाट होस गुमाएका विक्रमादित्य घोडाबाट तल खसे । तत्क्षण गुर्जर सेनानायकहरुले विक्रमादित्यलाई चारैतिरबाट घेरे । एउटा सेनानायकले तानेर तीर झिक्यो र घाउमा पट्टी बाँधिदियो ।
केही बेरपछि विक्रमादित्यको होस फिर्यो र उनी तत्कालै घोडामा सवार भएर सैनिकहरुलाई उत्तेजित पार्न थाले । उनी आफ्नो सेनाको दक्षिण कक्षबाट अलिकति पछाडि सरे । तत्क्षण नै दक्षिण कक्ष कमजोर भइ सैनिक यताउति हुन थालेका बखत त्यस कक्षका दुईवटा प्रधान सेनानायक मारिए । गणपति मोहितले यो संयोग भेट्टाएर स्वयम्ले कक्षमा गतिलो प्रहार गरे ।
विक्रमादित्य त्यो देखेर वेगले त्यतै गए । उनले वामपक्षका दुई समूह ल्याएर त्यस कक्षलाई बलियो बनाए । तर सोही बखत दक्षिण कक्षको एउटा सेनानायकले आएर भन्यो, 'महाराज सेनाको हिम्मत टुट्दैछ । धेरै नोक्सान भइसक्यो । केही गरेर भए पनि लडाइँ रोक्नुस् ।'
विक्रमादितयले भने, 'लडाइँ रोक्न सकिने अवस्था छैन । हामीले साँझसम्म जसरी भए पनि लड्नैपर्छ ।' अहिले बडो दुःखसाथ यो वाक्य भनेकै थियो कि घुएँत्रोबाट प्रहार गरिएको एउटा ढुङ्गा विक्रमादित्यको छातीमा बज्रियो र सोही वखत उनको घोडाको आँखामा एउटा तीर लाग्यो । घोडा बुर्लुक्क उफ्रियो ।
सेनापति नान्यदेवसहित राजपूत वीरहरूले विक्रमादित्यलाई घेरा हालेर उभिए । उनको चारैतिर मारकाट चलिरहेको थियो । सेनापति नान्यदेव हड्बडाएका थिए । तर विक्रमादित्य केही बेरमै स्वयं उभिए । उनले भने, 'कुनै चिन्ता नलेऊ, अर्को घोडा ल्याऊ ।' घोडा आइपुग्ने बित्तिकै फुत्त उफ्रिएर उनी घोडामा सवार भए । तेस्रो पहरदेखि रापूतहरूको सेना पछाडि हट्न थाले ।
अहिले राउतहरूले अवसर पाएमा शत्रु सैन्यमा प्रवेश गरी सम्मुख युद्ध गर्न चाहे । नान्यदेवले तत्क्षण युद्ध बन्दगर्ने सल्लाह विक्रमादित्यलाई दिए, तर विक्रमादित्यले मानेन् । उनले भने, 'जसरी भए पनि हामीले सूर्यास्तसम्म लड्नैपर्छ ।'
बज्जि गणराज्यका सेना 'हर हर महादेव !' भन्दै विक्रमादित्यको सेनामा घुसे । कर्नाटक सेनाका टुकडीहरू तितरवितर भए । उसको व्यवस्था बिग्रीयो । अहिर, गोचाली र दनुले धनुषवाण छाडेर बर्छा, खुकुरी, खुडाँ र तरवार चम्काउन सुरु गरे । अन्ततः विक्रमादित्य एउटा भाला हातमा लिएर शत्रुहरूलाई हाँक दिँदै अगाडि बढे ।


उनको साथमा मर्न र मार्न तयार राजपूतहरूको एउटा बलियो समूह थियो । गणपति मोहितले यो देखे । उनी बाघसमान गर्जिदै घोडा दौडाउँदै विक्रमादित्यका अगाडि पुगे । उनका चारैतिर वनायुहरू र तिरहुतहरूको दल थियो । दुबै दलहरूमा मुहूर्त भरको लागि तुमुल संग्राम हुन थाल्यो । यसै बीचमा विक्रमादित्यलाई अझ दुईटा घाउ लाग्यो ।
गणपति मोहित पनि घायल भएका थिए । सन्ध्याकाल भयो । तब पनि युद्धविराम भएन । यस केन्द्रमा दुबैतर्फका योद्धाहरू बत्तीमा पुतली आकर्षित भए झैँ आउन थाले र काटिदै खस्न थाले, पश्चिम दिशा रातो भयो । अनि अन्धकार व्याप्त भयो, तर काटमार भने चलि नै रह्यो । राजपूतहरूको दल घेरियो ।
विक्रमादित्यलाई नान्यदेवले फेरि सम्झाए कि पछाडि हटौँ, तर विक्रमादित्यले सुनेनन् । उनी मत्ता हात्तीझैँ लड्न थाले । गणपति मोहितले देखे कि अहिले समय अनुकूल छ । उनले सङ्केत गरे, मगहरूले आफ्नो बीस सहस्र नयाँ सैन्य लिएर बाजले जस्तै विक्रमादित्यको सेनामा पूर्वतर्फबाट आक्रमण गरे । यो देखेर विक्रमादित्य हताश भएर घोडामा नै मूर्छा परे । उनका सेनानायकहरूले तत्क्षण उनलाई हातैहातमा बोकेर भयङ्कर काटमार चलिरहेको ठाउँबाट तरवारको सुरक्षा घेरामा पछाडि ल्याए ।
अब कुनै पनि उपाय नदेखेर कर्णाटकका सेनापति नान्यदेवले सन्धिको लागि सेतो झण्डा फहराए । युद्ध बन्द भयो । चुनिएका सेनानायकहरुले विक्रमादित्यलाई डोलामा चढाएर शिविरतर्फ लगे । शेष सैनिक र सेनानायक बज्जि गणका बन्दी बने भने बज्जिगणपति मोहित विजय–वैजयन्ती फहराउँदै फर्किए ।
बज्जि गणपति माहित सोही वखत लाल बकैयाको पश्चिम किनार औरैयामा रहेको आराध्यदेव पशुपतिको मन्दिरमा गएर पूजाअर्चना गर्न थाले । दुध, ध्यु, महले अर्घ दिए । सबै जातिका चौधरी (मुखिया) हरुले गण एकताको जय जयकार गरे । तदनन्तर घाइतेहरूको सेवा र मृत सैनिक एवम् बन्दीहरूको समुचित व्यवस्था गरेर गणपति मोहित रात्रिको पछिल्लो पहर शस्त्र खोलेर विश्राम गरे । घाउहरूको उपचार गराए ।
अर्को दिन मध्यान्हमा सेतो झन्डा फहराउँदै विक्रमादित्यका उत्तरी युद्ध अभियानका सेनापति नान्यदेव स्वयम् सन्धिदूत बनी गणपति मोहितको अगाडि उभिएर अति विनम्र भाषामा विक्रमादित्यको सन्धि प्रस्ताव उपस्थित गरे । गणपति मोहितले प्रेम र कृपापूर्वक दूत बनेका नान्यदेवलाई गण बैठकमा स्वागत गरे एवम् सवै गणप्रतिनिधिहरूसँग परामर्श गरेर भने, ''यदि विक्रमादित्य स्वेच्छाले गङ्गा नदी तरी कर्णाटक फर्कून र कहिल्यै पनि गङ्गा नदी तर्ने चेष्टा नगरून्, हामी कुनै अवरोध खडा नगरी उनलाई जान दिनेछौं । सबै युद्ध बन्दीहरूलाई पनि कुनै कर नलिएरै छाडिदिनेछौं । हाम्रो विक्रमादित्यसँग कुनैशत्रुता छैन । अतः हामी अकारण उनीसँग युद्ध गर्न चाहन्नौँ ।''

सन्धिदूत बनेका नान्यदेवले विक्रमादित्यको तर्फबाट अत्यन्त कृतज्ञता र प्रसन्नतासाथ यो प्रस्ताव स्वीकार गरे । र, वचन दिए कि 'विक्रमादित्य यद्यपि निकै घायल छन् । घुमफिर र यात्रा गर्न योग्य छैनन्, तर पनि हामी आज नै यहाँबाट प्रस्थान गर्नेछौँ ।' सन्धि स्थापना भयो । सन्धिदूत नान्यदेव विक्रमादित्यको सेवामा फर्किए ।
तेस्रो पहरदेखि विक्रमादित्यको लस्कर भारी बोक्दै पछाडि हट्न थाल्यो । सारा लस्करले भारी बोक्न थाले । योदेखि सन्तुष्ट भएर गणपति मोहितले अलिकति सेना साथमा राखेर शेष सबै सैन्य फर्काइदिए । कोशी प्रदेशका मग सेना बाजा–गाजा बजाउँदै फिर्यो । तलहट्टी कछारका गोचाली सेना, सिवालिगका दनु सेना, वन जङ्गल र पाखापर्वतमा रम्ने वनायु सेना मैथिलका तिरहुत सेना पनि फिरे । यद्यपि बज्जि गणका बीस हजार सैनिकले वीरगति पाए, तर पनि विजयको मदमा बज्जि राउत (अहिर) सेना उत्साहित थियो ।
गाउँबासीहरुले हर्षनाद गर्दै सेनाको स्वागत गरे । लाल बकैया किनारको औरैया र धनसर किनारको चुरेको काखमा रहेको रजुआ सजाइएको थियो, रङ्गी–विरङ्गी पताकाहरू फहराउन थाले । गणका मानिस आनन्द उत्सव मनाउन थाले । गण सभा स्थलमा गायन वाद्य चल्न थाल्यो । योद्धाहरूको सम्मान हुन थाल्यो । शिवमन्दिरमा जय घण्ट बज्न थाल्यो । गण पुरोहितले यज्ञ अनुष्ठान प्रारम्भ गरे ।
बज्जि गणका राउतहरूले विक्रमादित्यलाई हराएको एक महिना पनि व्यतित भएको थिएन । कर्णाटक सेनापति नान्यदेवले औँशीको रातमा औरैयालाई घेरा हाली गणपति मोहितको हत्या गरी बज्जि गणराज्यलाई कर्णाटक राज्यमा मिलाए । राउतहरूको थलोमै असङ्ख्य राउतहरू काटिए । राउतहरूमा कालान्तरसम्म अर्को वीर जन्मन सकेन । ईसाको चौथो शताब्दीमा पूर्वज लोरीकले देखाएको पराक्रमलाई गाथाको रूपमा गाउन थाले, यद्यपि अहिले पनि यस भेगका राउत (ग्वार, यादव) हरूले लोरिकायन गाउने गर्दछन् ।
विक्रमादित्यको मृत्युपछि सिम्रौनगढलाई राजधानी बनाई स्वतन्त्र तिरहुत (डोय) राज्यको स्थापना गरे । दिल्लीका तुर्क शासक गयासुद्दीन तुगलकले इ.सं. १३२४ मा तिरहुत राजा हरिसिंहदेवलाई पराजित गरी आफ्नो साम्राज्यमा मिलाए ।
हरिसिंहदेव गयासुद्दीनसँग हारेर नेपाल उपत्यकामा पसेपछि रौतहटसमेत दिल्लीका तुर्क शासकले सुगौना अथवा आइनिवार वंशी कामेश्वर ठक्कुर (ब्राह्मण) लाई शासक बनाइदिए । कमजोर ठक्कुर वंशले इ.सं. १५२६ सम्म शासन चलाएको थियो । त्यसपछि यो भूमि मकवानपुरका सेन वंशको अधिनमा पर्न गए पनि इ.सं. १७६२ मा पृथ्वीनारायण शाहले मकवानपुरका दिग्वर्धन सेनलाई पराजित गरेपछि यो राज्य पनि एकीकृत नेपालमा गाँसिएको हो ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप