विचार

हिसिलाको अभिव्यक्ति : 'स्याल कराउनु र सिँगारी हराउनु' जस्तै – राज बस्नेत

यतिबेला देशलाई शताब्दी अनुरूपको ढाँचामा बदल्ने र आन्दोलनको युग समाप्त भई अब आर्थिक समृद्धिको युग सुरू भएको नारा लगाउने नयाँ शक्ति दलकी एउटी नेतृको मुखबाट निस्केको राष्ट्रघाती वाक्यले सम्पूर्ण राष्ट्रवादीलाई झस्क्याईदिएको छ । उक्त दलको निर्माण नै विदेशीको आकङ्क्षामा भएको हो भनेर ठोकुवा भइरहेको बेला 'स्याल कराउनु र सिँगारी हराउनु' झैँ भएको उक्त घटनालाई संयोग मात्र मान्न सकिन्न ।

भलै उनले आफूमा भाषिक समस्या रहेको र अर्धचेतनाले यस्तो भएको भनेर घटनाबाट पन्छिन खोजेकी छिन् । तर उनले बोलेको भाषा कुनै नयाँ र अलौकिक भाषा थिएन । उनले दशकौदेखि यही भाषालाई आफ्नो बोलिचालीको भाषाको रूपमा प्रयोग गरेको कुरा छिपाएर छिप्नेवाला छैन । उनी एक नेवार समुदायकी चेली हुन् त्यसैले भाषिक समस्या नरहला भन्न सकिन्न तथापि उनले दिएको क्लिन चिटमा उनले यो आदेश खारेज गर भन्दा यो देश खारेज गर भन्न पुगेको बताएकी छिन् तर भाषिक समस्या हुँदा नि यो 'आडेस' हुनु पर्ने हो न कि 'आ' छिपेर 'देश' मात्र ।

जति नै पानी माथिको ओभानो बन्न खोजे पनि नयाँ शक्ति भन्ने दलको स्थापनादेखि नै जनताले त्यस दलको हर्कत राम्रै सित अध्ययन गरेका छन् । त्यस दलका संयोजकको पछिल्लो समयको व्यवहार र आत्माको कुरा अन्ततः उनै संयोजककी पत्नीले छताछुल्ल पारिदिएकी छिन् । नयाँ शक्तिको भित्री उद्देश्य के हो अब कसैले अड्कल काट्न घोरिनु पर्ने अवस्था रहेन ।

अर्धचेतमा त्यो मान्छेले खोल्ने कुरा भनेकै उसका मनमा कस्ता कुरा हुन्छन् भन्ने हो । अर्धचेतमा यस्ता राष्ट्रघाती शब्द ओकल्नु र जस्तै अवस्थामा भएनि देशको विरूद्ध बोल्नु चानचुने कुरा हैन त्यो पनि एउटा मन्त्री भइसकेको व्याक्तिले ।

सिके राउतको पक्षपोषण गर्दै आएका भट्टराई र उनकै पत्नीको यस्तो अभिव्यक्ति एउटा संयोग मात्र नभएर योजनाबद्ध  ढङ्गको नेपालको स्वाधिनता विरूद्धको हमला  हो । नेपालीपन र नेपाली मनले अन्तिम श्वाससम्म मातृभूमिको लागि आफ्नो रगत बली दिन तयार रहन्छन् तर देशको विरूद्ध जान सक्दैनन् । तर आफ्नो सानो स्वार्थ पुरा गर्नको लागि देशकै विरूद्ध जानु एउटा राष्ट्रघातको उत्कृष्ट नमुना हो । नयाँ शक्तिलाई चुनाव चिन्ह नदिनु देशको गल्ती त पक्कै हैन होला । अझै माटो र भूमिलाई दोष लगाउने यस्ता जत्थाले समृद्धीको नारा घन्काउनु आफैँमा हास्यास्पद रहेको छ ।

जेएनयुबाट प्रभावित भट्टराई र भट्टराईबाट नियन्त्रित यमीहरू नै देशका स्थिरताका बाधक हुन् । विदेशीको स्वार्थमा आफ्नो व्याक्तिगत लाभका लागि देशलाई जुवा खेल्न तयार हुनेहरूले देशलाई केवल कौडीको रूपमा प्रयोग गरेका छन् । यस्ता वाक स्वतन्त्रताको सिमा र हद नजानेका स्वार्थी जत्था नै स्वाभिमानी नेपालका भाइरस हुन् । विदेशीका दानापानीमा हुर्केका दलालहरूले नेपालको स्थिरता र स्वधिनता विरूद्ध आफूलाई राम्रै सित गोटीका रूपमा प्रयोग गरिरहेका छन् ।

भट्टराई, यमीहरू हामी जनता पनि बुझ्ने भइसकेका छौ । हामीले पिएचडी र मास्टर लेभल पढ्न सकेनौ तर यो अनपढ मगजले तिमीहरूको जस्तो विद्वता प्रस्तुत गर्न नसकेनी विवेकहीन चै छैनौँ । देशलाई जन्म दिने आमाभन्दा माथि राख्ने नेपालीले  वैयक्तिक स्वतन्त्रतालाई देश भन्दा कदापि माथि राखेका छैनन् र राख्ने पनि छैनन् । र बेहोसीको नाटकमा देश विरूद्ध बोलेका पनि छैनन् । विदेशीको गोटी बनेर देशलाई अस्थिरताको भुँवरीमा कति दिन फसाउँछौ ? समानता र अधिकारको नाममा देशलाई कति दिन विदेशीको प्रयोगशाला बन्नमा मद्दत पुर्याउँछौ 
 ? अब जवाफ देउ किनकी यी प्रश्नले सधैँ मन दुखाउँछ ।

नयाँ शक्तिको आँखाले के हेर्छ ? के देख्छ ? र कस्को हो खोजी गर्न जरूरी छ । किनकि यसको अर्जुन दृष्टीले देशको स्वाभिमान रहला जस्तो छैन । भारतले नेपालमा हरेक दश वर्षमा नयाँ राजनीतिक दल खोलेर नयाँ माग थोपर्न लगाई यो स्वर्गभूमिलाई नर्कमा परिणत गर्न चाहन्छ अनि आर्थिक लोभमा यहाँका गोटीहरू इसारामा चलेको पाइन्छ ।

सिके राउत र हिसिला जस्ता राष्ट्रघाती जत्थालाई जेलको हावा खुवाउनु बाहेक अरू माफ हुन सक्दैन । राष्ट्रियता माथिको हमला कागजी माफीमै सीमित राख्नुले देशको माटोमा आफ्नो रगत र ज्यान बली दिएका सहिदको सम्मान हुन सक्दैन । आन्दोलन पुरा नहुनुको बिकल्प राष्ट्रको सीमाना खारेज गर्नु हैन । यी दुवै जत्था एउटै खेमाबाट परिचालित भएका कारण कठघरामा उभ्याउनुको बिकल्प छैन । त्यसकारण हिसीलाहरूलाई गिरफ्तार गरेर छानबिन होस् । नत्र सरकार राष्ट्रियतालाई जोकतन्त्रमा बदलेर खिल्लीको विषय बनाउने कुरा स्वाभिमानी जनतालाई सैह्य हुने छैन ।

भारतको दानापानी अन्ततः यमीले आफ्नै मातृभूमिको विरूद्धमा ओकलेकि छ्नि । यमी र भट्टराईले यो मातृभूमि विरूद्ध दिएको पटक पटकको अभिव्यक्ति स्वाभिमानी नागरिकलाई पाच्य हुन सच्दैन । गरिबीको मौका छोपी जनतालाई आर्थिक समृद्धिको चस्मा लगाइदिएर स्वाभिमानलाई अरूको हातमा जिम्मा लगाई आफ्नो स्वार्थ सिद्ध गर्ने यस्ता लेण्डुप प्रवृत्तिलाई समयमै निमिट्यान्न पार्न जरूरी छ । जनताले खोजेको स्वाभिमान सहितको समृद्धी हो न कि स्वाभिमान रहित समृद्धि । त्यसैले राष्ट्रियतालाई खिल्ली र मजाकको विषय बनाउने र राष्ट्रियता विरूद्ध अभिव्यक्ति दिने जो कसैलाई निसंकोच जेलको हावा चखाउनुको विकल्प छैन । यसर्थ सरकार यस्ता विखण्डनकारी सिके प्रवृत्तिको समयमै अन्त्य होस् जनता अखण्ड नेपाल चाहन्छन् ।

(बस्नेत राप्रविसंका केन्द्रीय महासचिव हुन्)

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप