पर्यटन/संस्कृति

तपाईंको यो वर्ष :: विक्रम संवत् २०७४ सालको 'वार्षिक राशिफल'

२०७४ साल 'साधारण' नामको संवत्सर पर्न गएको छ । संवत्सरको भुक्त–भोग्य स्थिति अध्ययन गर्दा वैशाख महिनाको ०५ गतेबाट विरोधकृत नामको संवत्सर प्रवेश भएपनि संवत्सरको आध्यस्थितिलाई मध्यनजर गर्दै संकल्प गर्दा 'साधारण' नामको संवत्सरकै प्रयोग गर्नु पर्ने देखिएको छ । जगलग्न कुण्डलीको विचार गर्दा यो वर्ष कुम्भ लग्नमा संवत्सरको प्रवेश देखिएको छ । सामान्यतया बिचार गर्दा कुम्भ लग्न शुभत्वको कारक रहेको छ । तर शुभ ग्रह बृहस्पति अस्टमस्थ हुन गइ चन्द्रमा दसमभावस्थ बन्न गएको छ । यो ग्रह स्थिति त्यति अनुकुल मानिएको छैन त्यसले गर्दा देसमा तरक्की प्रगति भन्दा पनि आस्वासनका कुरा धेरै हुनेछन् । महंगाई बढ्ने छ । तर प्राकृतिक विपदको घटनामा कमी जरुर आउने छ । वर्षको ग्रह परिषदको अध्ययन गर्दा, बुध राजा, र बृहस्पति मन्त्री भएर बसेको छन् । बुध युवा ग्रह हो, वाणीको कारक हो । युवा भएकोले शासन संचालनमा अनुभव कम हुने अनि वाणीको कारक भएकोले अधिक मधुर बोल्ने कारणले आशावादिता जगाउने तर ठोस कार्यमा चुक्ने स्थिति रहला । पदप्रति आशक्त र अबिवेकका कारण राज्यपक्षबाट धेरै आशा गर्नु भने बेकार नै होला तर पनि देशमा धेरै हदसम्म शान्ति प्राप्त हुनेछ । जीविकोपार्जनका स्रोतहरु थोरै भएपनि हात लाग्ने छन् । प्रसस्त मात्रामा वर्षा हुने भएकोले कृषि सम्बन्धी कामबाट लाभान्वित भइने छ । मन्त्री गुरुको प्रभावका कारण धर्म कर्ममा मन लाग्ने छ । सामाजिक विकृतिको विरुद्धमा लाग्ने र धेरै समाज सुधारका कुराहरु काम हुनेछ । दिन दुखीको लागि सहयोगी हातहरु अघि बढ्ने छन् । सस्येस सूर्य रहन गएकोले धन, धान्यमा वृद्धि भएपनि चोरी चकारिका घटना बढ्ने छन् । अनायासै कतिपय कर वृद्धि र मंहगीका घटना पनि उत्तिकै हुनेछन् । धन्येश शनि रहेकोले कतिपय सामान्य कुरामा पनि वाद विवाद ल्याउने र मुर्ख, लफङ्गाहरुको बिगबिगी बढ्न सक्ने छ । बृहस्पति मेघेशको समेत पदमा भएकोले कतिपय न्याय सम्पादनमा भने सुधार आउने छ । र शेष पदमा भने मंगल रहेकोले देशका कतिपय स्थानमा भोकमरीका घटना बढ्ने छन् । आपूर्ति व्यवस्थामा समेत समस्या ल्याउने छ । निरशेष सूर्यको कारण भने सौखिन बस्तुमा अधिक व्यय हुनेछ । धातु आदिमा भारी मूल्य वृद्धि होला । फलेश बुधका कारण फलफूलको ब्यवसाय फस्टाए पनि मूल्य वृद्धि जरुर हुनेछ । धनेश पदमा पनि सूर्यकै स्थिति रहेकोले देशमा दुई नम्बरी ब्यापार फस्टाउने छ । देसका शासकहरु पनि धनको लोलुपमा लाग्नाले भ्रष्टाचार अरु मौलाउने छ । धनमा परिवारमै वादविवाद र असमझदारी बढ्ने छ । दुर्गेश पदमा विराजमान गुरुका कारण भने न्याय सँगत ढंगले अघि बढ्नेहरुका लागि वर्ष उत्तम रहेको छ । चारै वर्णका व्यक्तिहरुमा आफू राज्य पक्षबाट सन्तुष्ट भएको अनुभूति जरुर मिल्ने छ । यसको प्रभाव सबै राशिहरुमा पनि पर्नेछ । यसरी सरसर्ती हेर्दा यो प्रभाव कुन राशिको व्यक्तिमा कति सकारात्मक र कति नकारात्मक हुनेछ यसको विवरण तल प्रस्तुत गरिएको छस्–

मेष [चू चे चो ला ली लु ले लो अ]
बृहस्पति,  शुक्र र चन्द्रमाको स्थिति तपार्इंको राशिमा शुभ रहन गएकोले वर्ष उत्तम फली रहने छ । कतिपय सहकार्य र व्यक्तिगत प्रयासबाट पनि यो वर्ष सम्बन्धमा निकटता आउने छ । पारिवारिक सदस्यका बीच पनि राम्रो वातावरण बन्ने छ । अघि बढ्नको लागि आपसी भाइचारा र समान धारणाले लक्षित कार्य सिद्धिमा कोसेढुङ्गा सावित हुनेछ । वर्षारम्भमा राहु र बृहस्पतिको नकारात्मक प्रभावका कारण स्वास्थ्य सम्बन्धी प्रतिकुलताको सामना गर्नु पर्नेछ । चोट, पटकको समेत भय रहेकोले गाडी, वाहनको प्रयोग गर्दा,  हतियारको प्रयोग गर्दा समेत सावधान रहनु होला । यान्त्रिक विधिबाट हुने कतिपय ब्यापारमा समेत सावधान रहनु पर्ला । वर्षको मध्यतिर कतिपय शुभ कामहरु सम्पन्न हुनेछन् । योजना अनुसार नै आफूलाई ढाल्न सके यो वर्ष विशेष रहन सक्ने छ । पशुपालन र कृषि सम्बन्धी कारोवार विशेष गरी अघि बढ्ने छ । पशुपालन व्यवसाय भने त्यति सहज नहुने देखिएको छ । स्वास्थ्यको दृष्टीले भने वर्षको मध्य पनि तनावयुक्त नै रहला । शिक्षा र रोजगारीका हिसाबले भने उत्तम रहेको छ । वर्षको अन्त्यमा कतिपय नसोचेका स्थानबाट धन आगमन हुने,  मित्रता सहज रुपमा अघि बढ्ने र मातृभूमिको लागि केही गर्ने साहस प्राप्त हुनेछ । वैवाहिक जीवन खुसियुक्त रहला । शनिको विशेष प्रभाव रहेकोले कार्यमा ढिला सुस्ती हुने,  बोलीको गलत अर्थ लाग्ने र मानहानी हुने जस्ता समस्याले जरुर सताउने छ । तर विदेशसँग सम्बन्धीत कामको लागि भने वर्ष विशेष रहने छ । आर्थिक दृष्टिले साउन,  भदौ,  पुष र चौत्र महिना विशेष रहने छन् । बाँकी महिनाहरु भने मध्यम फली रहेका छन् । समग्रमा जेठ,  साउन,  भदौ,  मङ्सिर,  पुस,  माघ र चैत्र महिना सर्वकार्य सिद्धिको लागि उत्तम रहेका छन् । समग्र वर्ष राम्रो बनाउनको लागि सालभर शनिदेवको उपासना गरे अरु लाभ वृद्धि गर्न सहयोग पुग्ने छ । राशि स्वामी – मंगल,   शुभ रत्न – मुँगा,  शुभ दिशा – पूर्व,   शुभ रंग – रातो,  शुभ अंक – ०१ । 

वृष [इ उ ए ‌ओ वा वी वु वे वो]
सूर्यको द्वी–द्वादश प्रभाव,  राहु आदि क्रुर ग्रहको नकारात्मक स्थित रहेपनि गुरु, शुक्रको शुभ प्रभावले गर्दा वर्ष उत्तम रहेको छ । जेठ ०६ गतेसम्म र फेरी मंसिर ०१ गतेबाट शनिको अढाईया शनिको दशा रहेकोले कार्यमा ढिला सुस्ती,  मनमा आशान्ति र कार्यमा बाधाहरु आइरहने छन् । राजनीति र सहकार्यका लागि भने वर्ष विशेष रहेको छ । स्वास्थ्यको दृष्टिले पनि वर्ष उत्तम रहेको छ । वर्षको आरम्भमा शुभ ग्रहहरुको दृष्टी पर्न गएकोले कतिपय नसोचेका विषयमा सफलता प्राप्त गरिने छ । राम्रा कुरामा लगानी हुने र मेहनत अनुसारको प्रतिफल हात लाग्ने छ । व्यापार शुभ नतिजा दिनेवाला छ,  विशेष गरी पशुपालन र कृषि सम्बन्धी उत्तम रहला । दाम्पत्य जीवनमा खुसी र सुखी बन्ने छ । बैदेसिक रोजगारबाट लाभान्वित भइने छ । गुरुको नकारात्मक दृष्टीका कारण शिक्षामा भने सापेक्ष परिणाम प्राप्त गर्न असक्षम भइने छ । वर्षको मध्यतिर आफ्नो क्षमता वृद्धि हुनुका साथै नयाँ कार्यमा लगानीको वातावरण बन्ने छ । झमेलाको अन्त्यसँगै नयाँ काम गर्ने बाटो खुल्ने छ । साहित्य, कला आदि विषयमा विशेष लाभ हुनेछ । विदेशसँग सम्बन्धीत काम भने सहज रुपमा अघि बढ्ने छ । धार्मिक तीर्थस्थानहरुमा भ्रमणको संयोग मिल्ने छ । सन्तान सुख मिल्ने छ । स्वास्थ्यमा केही समय हानी भए पनि समग्रमा उत्तम प्रभाव बन्ने देखिएको छ । भूमि सम्बन्धी कारोवार भने उत्तम रहने छैन,  विशेष गरी जग्गा, जमिनको कारोवारमा झमेला आउलान । वर्षको अन्त्यमा अर्थात् मंसिरबाट पारिवारिक असमझदारी बढ्ने,  सामाजिक काममा अपजस खानु पर्ने र नोकरीमा असन्तुष्ट बन्नु पर्ने स्थित आउला । स्वास्थ्यको दृष्टिले जेठ,  मङ्सिर र माघ महिना विशेष कस्टकर रहलान् । बाँकी महिना स्वास्थ्यमा सुधार नै होला । समग्रमा वर्षभर असार,  साउन,  कार्तिक,  पुस,  फागुन र चैत्र महिना विशेष गरी उत्तम महिना रहलान् । बाँकी महिनाहरुमा सूर्य र शनिको उपासनाद्वारा अघि बढ्नु उत्तम हुनेछ । राशि स्वामी – शुक्र,  शुभ रंग – सेतो,  शुभ रत्न – हिरा,  शुभ दिशा – दक्षिण,  शुभ अंक – ०७ ।

मिथुन [का कि कु घ ङ छ के को हा]
मिथुन राशिको लागि वर्ष उत्तम फली रहेको छ । शुभ ग्रहहरुको शुभ दृष्टी तपार्इंको राशिमा पर्नेछ । विशेष गरी वर्षको आरम्भ र अन्त्य सुखद रहला । घरायसी र स्वदेशमा हुने कामहरु शुभ रहेपनि बिदेससँग सम्बन्धीत काम भने अधुरा रहलान् । वर्षको आरम्भमा शुभ काममा लगानी हुनेछ । घरमा शुभ कार्य सम्पन्न होला । माङ्गलिक कार्यमा खर्च बढ्ने छ । प्रेम प्रसँग र भाइचारा सम्बन्ध वृद्धि हुनेछन् । भूमि र वाहन सुख प्राप्त हुनेछ । धन सम्पत्तिको कारोवार गर्दा भने विशेष सजग हुनु पर्ने देखिएको छ । आपसी कलह र झगडाको कारण धन हुनेछ । सीमित नतिजा आउने काममा भने सोचेको भन्दा राम्रो होला । कृषि सम्बन्धी कामबाट असन्तुष्ट भइने छ । वर्षको मध्यतिर शारीरिक कमजोरी,  मानसिक अशान्ति र कार्यमा ढिलासुस्ती बन्ने छ । आफ्नो कार्य व्यस्तताका बीच पनि सोचेको परिणाम नआउने योग छ । व्यक्तिगत चिन्ताले लक्षित कार्यमा बाधा पुग्ने छ । आफन्तमा पनि फाटो आउन सक्ने छ । भोलिको लागि सोचेर गरेका काम बने पनि तात्कालिक कार्यमा बाधा आउने देखिएको छ । तर वर्षको अन्त्यतिर धेरै राम्रा कामहरु बन्ने छन् । न्यायिक कार्यमा सिद्धि प्राप्त हुनेछ । कार्य दक्षता अनुसारको प्रतिफल पाइने छ । घरमा मांगलिक कार्यमा सम्पन्न होलान् । गुप्त शत्रुको भय अन्त्य हुने छ । आफ्नो खुवी अनुसार प्रतिफल समेत प्राप्त गरिने छ । गुमेको धन हात लाग्ने छ । तर अध्ययन, अध्यापनका कुरामा लाभ नहुने देखिएको छ । धर्म कर्ममा अविश्वास बढ्ला । सिर्जनामा भने प्रगति हुनेछ । आर्थिक दृष्टिले भदौ,  मंसिर र चैत्र विशेष रहेका छन् । तर अरु कार्य सिद्धिमा भने वैशाख,  जेठ,  साउन माघ,  फागुन र चैत्र महिना विशेष रहेका छन् । राशि स्वामी – बुध,  शुभ रंग – हरियो,  शुभ रत्न – पन्ना,  शुभ दिशा – पश्चिम, शुभ अंक – ०३ । 

कर्कट [ही हु हे हो डा डि डु डे डो]
कर्कट राशिको लागि यो वर्ष मध्यम फलि रहला । शुभ ग्रहहरुको अनुकूल प्रभाव रहँदा रहँदै पनि सूर्य शक्तिको न्यून प्रभाव र वेध स्थिति बन्न गएकोले मिश्रित फल प्राप्त होला । वर्षारम्भमा शुभ ग्रहहरुको उचित प्रभावले व्यापार, व्यवसाय फस्टाउने छ । भूमि र वाहन सम्बन्धी ब्यापारबाट उचित लाभ प्राप्त गरिने छ । बैदेसिक क्षेत्रका कामहरु बन्ने छन् । निरन्तरको कोसिसबाट लाभ मिल्ने छ । हितैषीजन तपार्इंको सहयोगको लागि लालायित होलान् । शनि र मंगल ग्रहको क्रुर प्रभावले शत्रु नासिने छन् । गुरु र शुक्रको उचित प्रभावले नोकरीमा पदोन्नति हुने र बेरोजगार व्याक्तिका लागि रोजगारी मिल्ने छ । सामाजिक काममा विशेष पद, प्रतिष्ठा मिल्ने छ । धार्मिक कार्यमा रुची बन्ने छ साथै अध्ययन, अध्यापनमा विशेष रुची होला । तपार्इंको बारेमा सोचेर चिन्ता गर्नेहरु बढ्ने छन् । वर्षको आरम्भमा यात्राका अवसर प्राप्त होलान् । पारिवारिक जिम्मेवारी प्राप्त हुनेछ । कल्पनाशिल कार्यमा तपार्इंको रुची बढ्ने छ । सामाजिक दायित्व बढ्ने र राजनीतिमा विशेष गरी लाभ प्राप्त होला । स्वास्थ्यको कारण देखिएका समस्याको अन्त्य होला । वर्षको मध्यतिर सन्तान मार्गबाट खुसी भइने छ । स्वास्थ्य लाभ हुनेछ । पारिवारिक रुपमा मांगलिक कार्य सिद्ध होलान् । तर बैदेसिक क्षेत्रका कामहरु अधुरा रहलान् । मानसिक अशान्ति प्राप्त हुनेछ । थोरै भएपनि विश्वास गुम्ने खतरा रहेको छ । तर व्यक्तिगत जीवनमा राम्रा जीविकोपार्जनका अवसर प्राप्त हुनेछन् । व्यापार, ब्यवसाय फस्टाउने छ । रोकिएका काम बन्ने छन् । कार्य क्षेत्र अरु सौहार्द बन्ने छ । वर्षको अन्त्यतिर घरमा वादविवादको स्थिति देखा पर्नेछ । परिवारका सदस्यबीच बेमेल हुने र झगडा छताछुल्ल हुने खतरा छ । व्यपार त्यति सन्तोषजनक नरहला । सीमित कामको लागि अधिक भागदौड भएपनि प्रतिफल न्युन मात्र आउला । कृषि र पशुपालन व्यवसाय भने फस्टाउने देखिएको छ । श्रमयुक्त कार्यमा सफलता मिल्ने छ । साहसिक र खेलकुदजस्ता रचनात्मक कार्यमा लागे लाभ प्राप्त हुने योग छ । आर्थिक कार्यको दृष्टिले वैशाख,  जेठ,  असोज र पुस महिना उत्तम रहेका छन् । बाँकी सर्वकार्य सिद्धिको लागि वैशाख,  जेठ,  साउन,  असोज,  मंसिर र पुस महिना रहेका छन् । राशि स्वामी – चन्द्रमा,  शुभ रंग – सेतो,  शुभ रत्न – मोती,   शुभ दिशा – उत्तर,  शुभ अंक – ०८ । 

सिंह [मा मि मू मे मो टा टी टु टे]
सिंह राशिको लागि यो वर्ष मिश्रित फली रहने छ । सूर्य सहित क्रुर ग्रहको अनुकूल प्रभाव तपार्इंको राशिमा पर्दा कतिपय माया मारेका बस्तु प्राप्ति हुने, गुप्त शत्रुको नाश हुने र कार्य क्षेत्रमा मनोवल बढ्ने छ । अरुको कामको मरिमेट्दा आफ्नो काममा पनि सहयोग हुनेछ । बुध ग्रहको प्रतिकुल प्रभावले गर्दा वर्षको आरम्भ र अन्त्यमा बोलीको कारण विवादमा भइने खतरा रहेको छ । आफन्तजनमा असहयोग हुने,  धन सम्बन्धी कार्यमा विवाद आउने खतरा रहेको छ । पैतृक सम्पत्तिको कारोवारमा विवाद आउने देखिएको छ । तर मेहनतद्वारा आर्जित धनको लागि भने उत्तम रहला । आत्मियजन टाढिएलान् । सामाजिक काममा विवाद बढ्न सक्ने छ । रोक्किएका काममा अधिकतम समय व्यतित होला । वर्षको मध्यतिर कतिपय आश नगरेका काम बन्ने छन् । सामाजिक कार्यमा लाभ होला । आफ्नो पारिवारिक सम्बन्ध अरु निकट बन्ने छ । सीमित कामको नतिजा राम्रो आउला । तर स्वास्थ्यको दृष्टीले कमजोर रहेको छ, विशेष गरी पेट सम्बन्धी बाधा देखापर्ने छन् । लामो दुरीको यात्रा सम्भव रहने देखिएको छ । धार्मिक कार्यमा बढोत्तरी होला । सिर्जनामा लागे लाभ हुने देखिएको छ । कार्य दक्षतामा वृद्धि होला । नोकरीमा वृद्धि हुनुका साथै कृषि सम्बन्धी ब्यापार, ब्यवसायबाट मनग्गे लाभ होला । शत्रुको मार्गबाट समेत लाभ लिन सकिने छ । वर्षको अन्त्यतिर कतिपय उल्झनको सामना गर्नु पर्नेछ । अशुभ समाचारले चिन्तित हुनु पर्ला । ब्यर्थका कुरामा लगानी जाने देखिएको छ । स्वास्थ्य सम्बन्धी समस्याले सताउला । हित चाहनेहरु अरु टाढा होलान् । तर न्यायिक कार्यमा तपार्इंको जित अवश्य हुनेछ । घरमा परिवारका सदस्यहरु बीच उचित संवाद न्युन हुँदा बेकारका कुराले आशंका जन्माउने छ । विदेससँग सम्बन्धीत काम सफल हुने देखिएको छ । ब्यापारमा समेत ठुलो लगानी गर्नु भूल हुनेछ । आर्थिक दृष्टीले वर्षभरी जेठ,  असार, कार्तिक र माघ महिना उत्तम रहे पनि अरु शुभ कार्यको लागि जेठ,  असर,  भाद्र,  कार्तिक,  मङ्सिर र माघ महिना विशेष गरी उत्तम रहलान । राशि स्वामी –सूर्य,  शुभ रंग –रातो,  शुभ रत्न – माणिक्य,  शुभ अंक –०१ ।

कन्या [टो प पी पु ष ण ठ पे मो]
कन्या राशिको लागि यो वर्ष मध्यम फली रहेको छ । शनिको अढैया दशाको कारण वर्षको सुरु र अन्त्यमा मानसिक अशान्ति,  पारिवारिक कलह र कार्य सिद्धिमा बाधा, व्यवधान आउलान् । प्रेम र भाइचारा सम्बन्धमा समेत न्यूनता आउने छ । स्वास्थ्य सम्बन्धमा भने लग्नस्थ शनि र मंगलको क्रुर प्रभाव तपार्इंको राशिमा पर्ने हुँदा रक्तविकार,  पेट सम्बन्धी रोग,  जल अल्पताको कारण हुने रोग र सामान्य चोट पटकको भय बन्ने छ । मानसिक अशान्ति र मित्रको असहयोग रहँदा वर्षको पूर्वार्ध र उत्तरार्ध  केही कमजोर रहला । झुठा आरोप र मुद्दाको भय रहने छ । घरमा माङ्गलिक काममा खर्च भएपनि ब्यर्थका कुरामा धनको अपव्यय होला । परिवारमा बेमेल हुँदा अरुले नाजायज फाइदा उठाउने र सानो कमजोरीले ठुलो घाटा हुने खतरा पनि रहेकोले सावधान रहनु पर्नेछ । नोकरीमा अपजस पाइने भए पनि नोकरीमा पदोन्नति हुने योग भने रहेको छ । सूर्य र मंगल आपसी रुपमा विराजमान रहँदा वर्षको मध्यतिर अध्ययन,  अध्यापन र सामाजिक कामहरु सन्तोषजनक रहने छन् । केही पारिवारिक र सामाजिक जिम्मेवारी वहन गर्ने मौका मिल्ने छ । कार्य क्षेत्र सोचेको भन्दा राम्रो रहला । आयस्रोत बढ्ने र प्रशस्त आम्दानी हुने कुरामा लगानी सम्भव रहने छ । राजनीति र सरकारी कामको लागि भने यो वर्ष अति उत्तम ठहरिने छ । धार्मिक र पारिवारिक काममा मन लाग्ने छ । दाम्पत्य जीवनमा भने संकट निम्तने छ । शनिको अढाईया प्रभावले कामहरु भने सुस्त गतिमा हुनेछन् । ढिलो गरी भएका कामबाट प्रतिफल भने राम्रो आउने देखिएको छ । समग्रमा यो वर्ष सुखद् नै रहने छ । वर्षको वैशाख,  श्रावण,  मंसिर र फागुन महिना तपार्इंको लागि उत्तम महिना रहने छन् । अरिस्ट ग्रहको शान्ति गरी खासगरी शनिको दोष निवारण गरी अघि बढे लाभ हुनेछ । राशि स्वामी – बुध,  शुभ रंग – हरियो,  शुभ रत्न – पन्ना,  शुभ दिशा – दक्षिण,  शुभ अंक – ०६ । 

तुला [र री रु रे रो ता ती तू ते]
तुला राशिको लागि वर्ष मिश्रित फलि रहने छ । शुभ ग्रहको शुभ दृष्टिले विशेष गरी आर्थिक उन्नतिका ढोकाहरु खुल्ने छन् । नयाँ कामले सार्थकता पाउने छ । गुप्त शत्रुहरु नासिने छन् । न्यायिक कामको लागि वर्ष विशेष रहने छ । यसैपनि तपार्इंको राशिको स्वामी र वर्ष मन्त्री गुरु मित्र भएकोले धेरै सकारात्मक कुराको प्राप्ति हुनेछ । आफ्नो बलबुत्ताले सृजना गरेको शक्तिको उपज राम्रो प्रतिफल पाइने छ । सन्तान मार्गबाट शुभ समाचार सुन्न पाइने छ । जीविकोपार्जनका नयाँ अवसर पाइने छन् । जागिरको लागि अति उत्तम वर्ष रहेको छ । जागिर प्रमोशन हुने र बेरोजगारको लागि जागिर पाइने छ । पशुपालन र कृषि सम्बन्धी विषयले सार्थकता पाउने छ । थोरै मेहनतको प्रतिफल राम्रो आएपनि गरेको कामको जस भने कम मात्र आउने छ । सानो गल्तीले सामाजिक प्रतिष्ठा कमजोर रहने खतरा पनि विद्यमान रहेको छ । धार्मिक र मानसिक शान्तिको लागि अधिक धन व्यय हुनेछ । स्वास्थ्य सम्बन्धी कुरामा भने लाभ नहुने योग रहेको छ । दीन दुःखीको लागि केही रकम छुट्याइने छ । वर्षको पूर्वार्ध र उत्तराद्र्धको तुलनामा वर्षको मध्यतिर कार्य क्षेत्रमा बाधा आउने छन् । शनिको कमजोर प्रभावका कारण कामको जस नपाइने, झुठा आरोप मुद्धाको सामना गर्नु पर्नेछ । राजनीतिमा बेखुस भइने बेला छ । आर्थिक विषयमा संकट देखा पर्ने र कामको जस नपाउँदा काम गर्ने जाँगर कमजोर भएर आउने छ । शनिको उपयुक्त शान्ति भएमा वर्ष उत्तम रहला । समग्रमा वर्षको जेठ,  असोज र मंसिर महिना कमजोर रहेपनि अरु वैशाख,  असार, भदौ, पुस र चैत्र  महिना विशेष लाभकारक रहने छन् । राशि स्वामी – शुक्र,  शुभ रंग – सेतो,   शुभ रत्न – हिरा,  शुभ दिशा – पश्चिम,  शुभ अंक – ०७ । 

वृश्चिक [तो ना नी नू ने नो या यि यु]
बृश्चिक राशिको लागि वर्ष मध्यम फलि रहेको छ । चिताएका कुराहरु धेरै जसो पुरा भएपनि मानसिक शान्ति कमै मात्र हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाउने देखिको छ । कार्य क्षेत्र विशेष भागदौड युक्त रहने छ र प्रतिफल मध्यम मात्र आउने देखिएको छ । ब्यापार, व्यवसायको परिणाम उत्साह दिनेवाला छ । समयको सदुपयोगमा चुक्दा हातमा आइसकेको अवसर पनि गुम्न बेर लाग्ने छैन अतस् अलि सोच विचारेर काम गर्नु होला । बैदेसिक काम बन्ने छन् । नोकरीमा पद प्राप्त हुने र राजनीति क्षेत्रमा नसोचेको सफलता मिल्ने देखिएको छ । कला साहित्य र सौखिन क्षेत्रमा लगानी हुनेछ । तपार्इंको सामाजिक दायित्व बढ्ने र मार्गदर्शन गर्नेहरुको पर्याप्त सहयोग पाइने छ । सन्तान मार्गबाट भने केही अशुभ प्रभाव रहने छ । सन्तानको इच्छा पुरा गर्न नसक्दा सन्तानहरु तपाईंबाट टाढिने छ । प्रेम सम्बन्धमा नकारात्मक समय रहेको छ । दाजुभाइ र आफन्तमा कलह बढ्ने खतरा रहेको छ । बोलीको कारण अलि बढी सावधान रहनु पर्ने देखिएको छ । सीमित काममा अल्झदा विशेष काम ओझेलमा पर्नेछ । विशेष कारणले गर्दा महत्वपूर्ण व्यक्ति तपाईंबाट टाढा रहन सक्ने छन् । अध्ययन, अध्यापनको लागि समय त्यति उपयुक्त रहन सक्ने छैन । शनिको साढेसाती दशाको अन्त्य प्रभावले शरीरमा घाउ चोट आदिको भय रहेको छ । संचित धन नाश हुने र आर्थिक संकट देखापर्ने देखिएको छ । समग्रमा वैशाख,  भदौ र पुस महिना घातक महिना रहने छन् । जेठ,  असार,  असोज,  कार्तिक र माघ महिना विशेष फली रहने देखिएको छ । राशि स्वामी – मंगल,  शुभ रंग – रातो,  शुभ रत्न – मुँगा,   शुभ दिशा – उत्तर,  शुभ अंक – ०८ । 

धनु [य यो भा भी भू ध फा ढ भे]
धनु राशिको लागि शनिको पूर्ण साढेसाती दशा रहन गएकोले यो वर्ष पारिवारिक विवादको सामना गर्नु पर्नेछ । अनावश्यक कार्यमा दौडधुप बन्ने तर परिणाम कमजोर रहने छ । शरीरमा चोटपटक आदिको समेत सामना गर्नु पर्ने छ । कार्यमा ढिला सुस्तीले अघि बढ्न केही गाह्रो हुनेछ । तर वर्षको अन्त्यमा भने शैक्षिक र धार्मिक कामको लागि विशेष रहने छ । शैक्षिक क्षेत्रमा अध्ययन, अध्यापनका कुरामा रुचि हुने र परीक्षा, प्रतियोगितामा पूर्ण लाभ मिल्ने छ । ब्यर्थका कुरामा अधिक भागदौड हुने तर गरेको कामको उचित जस पाइने छ । नोकरी र सामाजिक कामको लागि यो वर्ष विशेष रहने देखिएको छ । पैत्रिक र विशेष गरी अचल सम्पत्तिको विवादले ठुलो रुप लिन सक्ने छ । निर्णयका कारण पछुतो होला साथै काम गर्ने सन्दर्भमा गलत व्यक्तिको साथले सोचेको काम अधुरो रहन सक्ने छ । सन्तान मार्गबाट भने ठुलो प्रतिफल पाइने छ तर दाम्पत्य जीवनमा भने विश्वासको संकटले झगडा निम्त्याउने छ । स्वास्थ्यमा अधिक व्यय हुने देखिएको छ । लामो दुरीको यात्रा र धर्मिक यात्राको लागि समय उत्तम रहने छ । शनिको शनिको साढेसाती प्रभावले गर्दा स्वास्थ्य प्रतिकुल हुने मानसिक अशान्ति हुने र काममा ढिला सुस्ती रहने देखिएको छ । विश्वास गरेको ब्यक्तिबाट धोका हुनेछ । संचित धनमा नोक्सानी पुग्ने छ । समग्रमा वर्ष मध्यम फलि रहने छ । साउन,   मंसिर र चैत्र सर्व कार्यको लागि घातक हुने देखिएको छ । आर्थिक दृष्टिले भने जेठ,  कार्तिक,  असोज र फागुन महिना विशेष रहने छन् । राशि स्वामी – बृहस्पति,  शुभ रंग – पहेलो,  शुभ रत्न – पुष्पराज, शुभ दिशा – पूर्व,  शुभ अंक – ०४ ।

मकर [जो जा जी खी खू खे खो गा गी]
मकर राशिको लागि यो वर्ष उत्तम रहने छ । मुलत्रिकोणस्थ ग्रह शुक्र उँचा रहन गएको छ । यो प्रभाव अति उत्तम प्रभाव हो । सन्तान मार्गबाट शुभ समाचार सुन्न पाइने र घर ब्यवहार मिल्ने छ । यो वर्षको राजा पनि बुध नै रहनु र मकर राशिको स्वामी शनि बन्नु तपार्इंको राशिको लागि शुभ रहन सक्ने छ । पारिवारिक सम्बन्धले नयाँ उचाई प्राप्त गर्नेछ । वैवाहिक जीवनले सार्थकता पाउने छ । अचल सम्पत्तीको झमेला मिल्ने छ । नयाँ कामको शुभारम्भ हुने र दीर्घकालिन सोचका कामहरु बन्ने छन् । कृषि र पशुपालन व्यवसाय भने त्यति सफल नहुने देखिएको छ । तर राजनीति र सामाजिक कामको लागि वर्ष अति उत्तम रहने छ । अढैया शनि दशाको कारण आय स्रोत घट्ने,  झुठा आरोपको सामना गर्नु पर्नेछ । पारिवारिक स्वास्थ्यको लागि अधिक धन खर्च हुनेछ । आपसी शंका र असहमतिका कारण लक्षित कार्यमा बाधा आए पनि केही हदसम्म मित्रता दिगो रुपमा अघि बढ्ने छ । धार्मिक स्थलको भ्रमण गर्ने योग छ । माता–पिताको स्वास्थ्य बिग्रनाले वर्षको मध्यतिर तनाव होला । नोकरी र सामाजिक कामबाट विशेष मान, प्रतिष्ठा बढ्ने देखिएको छ । पठन, पाठन कार्यमा जाँगर चल्ने छ । आर्थिक विषयमा लाभ हुनेछ । स्वास्थ्यका दृष्टीले फागुन र चैत्र महिना घातक रहलान् । कला, साहित्य र रचनात्मक कामको लागि यो वर्ष विशेष गरी लाभ प्रदान गर्ने वाला रहेको छ । धार्मिक र यात्राको लागि विशेष रहेको छ । जग्गा जमिन र पशुपालन व्यवसाय विशेष लाभ दिनेवाला छ । आर्थिक रुपमा वैशाख,  भदौ र पुस महिना कमजोर फलि रहने छन् । जेठ,  असार, असोज,  मंसिर र फागुन महिना विशेष फलि रहलान् । राशि स्वामी – शनि,  शुभ रंग – कालो,  शुभ रत्न –निलम,  शुभ दिशा – दक्षिण,  शुभ अंक – ०७ ।

कुम्भ [गू गे गो सा सी सु से सो द]
कुम्भ राशिको लागि यो वर्ष विशेष फलि रहने छ । राशि अनुसार बृहस्पति र शनिको प्रभाव शुभ रहने छ । बृहस्पति सामाजिक र व्यक्तिगत जीवनमा खुसी ल्याउनेवाला छ । नोकरीमा पदोन्नति हुने र नयाँ कामको  थालनी हुनेछ । स्वास्थ्य सम्बन्धी कुरामा लाभ हुने देखिएको छ । सरकारी सेवा सुविधामा वृद्धि हुनेछ । काममा नयाँ जोस र जागर बढ्ने छ । अभिभावकको उचित मार्गदर्शन पाइनाले गलत निर्णयबाट टाढा भइने छ । ब्यवहारिक कुरामा तपार्इंको स्थिति उँचा रहने छ । पशु व्यवसाय र कृषि सम्बन्धी कुराको लागि यो वर्ष त्यति सन्तोषजनक नरहला । तर बैदेसिक कारोवार भने शुभ रहने छ । वर्षको अन्त्य भने स्वास्थ्यका दृष्टीले कमजोर रहने देखिएको छ । आफ्नै कमजोरीले गर्दा फाइदा अरुले लिन सक्ने छन् । वर्षको सुरुको तुलनामा अन्त्य शैक्षिक क्षेत्रको लागि शुभ रहने छ । परीक्षा आदिको परिणमले हौसला मिल्ने छ । नयाँ कामको लागि पनि आफन्तको हौसला र आफ्नै सोचले सम्पन्न हुनेछ । लामो दुरीको यात्रा सम्भव रहने र यात्रा सुखद रहने छ । कला र साहित्य क्षेत्रमा लाग्नेहरुको लागि यो वर्ष विशेष रहने देखिएको छ । ब्यापारबाट सामान्य लाभ मिले पनि नोकरीमा पदोन्नति हुने योग छ । ऋण बढ्ने र अरुको धनको याचना गर्नु पर्ने स्थिति वर्षको अन्त्यमा आउला । गुप्त शत्रुको पनि उत्तिकै भय रहने देखिएको छ । वैशाख, साउन,  मंसिर पुस महिना सबै कामको लागि उपयुक्त रहने छन् । जेठ,  असार,  असोज र कार्तिक महिना कार्य सिद्धिको लागि उत्तम रहेका छन् । राशि स्वामी  – शनि,  शुभ रंग – कालो,  शुभ रत्न – निलम,  शुभ दिशा – दक्षिण,  शुभ अंक – ०७ ।

मीन [दि दू थ भ ञ दे दो चा ची]
मिन राशिको लागि वर्ष मिश्रित फली रहने छ । सूर्य र तपार्इंको राशिको लागि द्वी–द्वादस सम्बन्ध रहेको छ । यो प्रभाव ग्रहको हिसाबले केही कमजोर रहने छ तर ग्रहको शुभ अवस्थितिको कारण तत्कालमा मित्रवत फल पाइने छ । जसले गर्दा आय आर्जनका स्रोत बढ्ने छन् । सन्तान मार्गबाट लाभ हुनेछ । वर्षभर धार्मिक र शुभ कामहरुमा खर्च बनिरहने छ । नयाँ कामको शुभारम्भ हुने र थोरै भएपनि ब्यापार लाभ हुनेछ । रोजगारीका अवसर प्राप्त भएपनि जागिरमा अपजस पाइने छ । क्रुर ग्रहको दृष्टिले भने अरुलाई राम्रो गर्दा गर्दै पनि नराम्रो देखिने हुनेछ । दाम्पत्य जीवनमा विश्वासको संकटले गर्दा कचकच बनिरहने छ । मनमा अशान्ति हुने,  आफ्नै पेशाप्रति अविश्वास हुने,  स्वास्थ्य केही प्रतिकुल रहने र कानुनी झमेला आइपर्ने हुनेछ । सामाजिक जीवनमा भागदौड हुने र प्रगति सुन्य हात लाग्ने स्थिति रहने छ । कृषि तथा कृषिजन्य ब्यापार भने अति शुभ रहलान् । ताकेका अधिकतम कामना पुरा हुनेछन् । गीत–संगीत र साहित्य, कला प्रति विशेष अभिरुची बढ्ने छ । नकारात्मक ग्रहको बावजुद पनि बीचमा केही प्रतियोगिता आदिमा विजय भइने छ । परीक्षा आदिको परिणाम धेरै हदसम्म शुभ रहने छ । आफ्नो आचरणलाई कतिपयले दुरुपयोग गर्न खोजे पनि अन्त्यमा हार्ने छन् । बैदेसिक क्षेत्रका कामहरु भने अधुरा रहलान् । यान्त्रिक विधिबाट हुने कतिपय कामको लागि सजग हुनु पर्नेछ । चोट पटकको भय बन्ने देखिएको छ । तर वर्षको अन्त्यमा धेरै राम्रा काममा लगानी हुनेछ । सामाजिक प्रतिस्ठा बढ्ने छ । नोकरीमा पदोन्नति हुने र मान सम्मान पाइने छ । समग्रमा यो वर्ष मध्यम फलि रहने देखिएको छ । वर्षको असार, कार्तिक र फागुन महिना कार्य सिद्धिको लागि वाधक रहेका छन् । आर्थिक दृष्टिले जेठ,  भदौ,  पुस र माघ महिना विशेष रहलान् । राशि स्वामी – बृहस्पति,  शुभ रंग – पहेँलो,  शुभ रत्न – पुष्पराज,  शुभ दिशा – उत्तर,  शुभ अंक – ४ ।

यसमा तपाईंको मत

मनोरञ्जन

थप