साहित्य

नयाँ वर्षका दिन स्रष्टाहरु २७०० मिटर अग्लो फूलचोकी डाँडामा !

फूलचोकी (ललितपुर), २ वैशाख, नयाँ वर्ष २०७४ को पहिलो दिन विशेष बने वर्ष भरी नै विशेष हुन्छ भन्ने हाम्रो मान्यता रहिआएको छ । यसैसन्दर्भमा काठमाडौँमा क्रियाशिल स्रष्टाहरुले नयाँ वर्षको पहिलो दिनलाई पनि निक्कै विशेष बनाएका छन् । नियमित श्रृङ्खला 'स्रष्टा पदयात्रा' को छैठौँ श्रृङ्खला अन्तर्गत शुक्रबार राजधानीकै सबैभन्दा अग्लो स्थान फूलचोकी पुगेर स्रष्टाहरुले नयाँ वर्षको शुभकामना आदान प्रदान गरेका हुन् । 

ललितपुर जिल्लाको गोदावरीबाट पदयात्रा मार्फत करिब ५ घण्टाको अवधिमा स्रष्टाहरु २७ सय मिटर अग्लो फूलचोकी डाँडामा पुगेका थिए । यसरी पदयात्रामा सहभागी हुने स्रष्टाहरुमा संस्कृतिविद् तथा साहित्यकार शितल गिरी, कवि डिल्लीराज अर्याल, नियात्राकार जय छाङ्छा, अनुसन्धाता तथा गीतकार डा. भक्त राई, कवि तथा समालोचक डा. धनप्रसाद सुवेदी, गजलकार लीलाराज दाहाल, कथाकार नारायण तिवारी, असारे कवि श्यामबहादुर भावुक, समालोचक तथा कवि यादेवी ढकाल, पत्रकारहरु डिल्लीरमण सुवेदी र प्रेम स्याङ्तान, डायस्पोरिक साहित्यका अध्येता पुरण राई, कवि तथा सांस्कृतिक अध्येता शशि थापा पण्डित, कथाकार तथा गजलकार मन्दिरा मधुश्री लगायत रहेका थिए ।

बिहान करिब ८ बजे गोदावरीबाट पैदल यात्रा सुरु गरेका स्रष्टाहरु बीच बाटोमा निक्कै सारगर्भित बहस गर्दै उकालो लागेका थिए । बीचबीचमा खाजा, नास्ता, आवश्यक मात्रामा पानी खाँदै करिब साढे एक बजे टोली निर्धारित फूलचोकी डाडाँमा पुगेको थियो । फूलचोकीको टावर मुनि, मन्दिरसँगै चौरीमा बसेर स्रष्टाहरुले आ–आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । विविध विधाका निक्कै उत्कृष्ट रचना वाचन गरिएको सो छोटो कार्यक्रममा फूलचोकीमा मेला भर्न आउनेहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । स्रष्टाका रचनाहरुलाई उनीहरुले निक्कै चाख मानेर सुनेका थिए ।

 

सो कार्यक्रम सम्पन्न गर्न टावर सुरक्षार्थ खटिएको नेपाली सेनाले आवश्यक व्यवस्था गरी सहयोग गरेको थियो । करिब डेढ घण्टाको कार्यक्रम पश्चात टोली फूलचोकीबाट पुनः ओरालो झरेर साँझको ६ बजे गोदावरी पुगी स्रष्टाहरु आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका थिए । 

प्रत्येक महिनाको पहिलो शुक्रबार आयोजना हुने 'स्रष्टा पदयात्रा' विगत ६ महिनादेखि नियमित रुपमा सञ्चालन हुँदै आएको छ । टोलीले आगामी महिनाको पदयात्रा काठमाडौँको बुढानिलकण्ठदेखि शिवपुरीसम्म गर्ने निर्णय पनि गरेको छ । 

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप