पत्रपत्रिकाबाट

नेपालमा लोडसेडिङ घटे पनि इन्धन आयात भने बढ्यो

काठमाडौं, ३० चैत, मुलुकमा लोडसेडिङ घटेपनि इन्धन आयात भने बढेको छ ।

आयल निगमको तथ्याङक अनुसार चालु आर्थिक बर्षको पहिलो ९ महिनामा १५ लाख ७७ हजार किलोलिटर टन इन्धन आयात भएको छ ।

‘लोडसेडिङ नहुदा आयात घट्नु पर्ने हो,’ निगमका बिक्री वितरण विभाग प्रमुख तथा प्रवक्ता सिताराम पोखरेलले भने, ‘तर, इन्धनको आयात परिमाण एकदमै उच्च छ ।’ इन्धनका लागि अप्रिलमा मात्रै १५ अर्ब रुपैयाँ बाहिरिएको छ । ‘हालसम्मकै यो बढी मुल्य हो,’ उनले भने ।

निगमले भारतीय आयल निगम आइओसी लाई जनवरीमा ११ अर्ब, फेब्रुअरीमा १० अर्ब र मार्चमा ९ अर्ब रुपैयाँ बुझाएको थियो ।

जानकारहरुका अनुसार लोडसेडिङ अन्त हुँदा मुख्यतः खाना पकाउने एलपी ग्यासको आयात घट्नुपर्ने हो । तर, घटेको छैन ।

प्रवक्ता पोखरेलका अनुसार साउनमा २२ हजार ५ सय ८० टन आयात भएको ग्यास चैतमा २७ हजार टन पुग्यो ।

तथ्याङक अनुसार भदौमा २२ हजार ७ सय १३, असोजमा २० हजार ५ सय ३४, कात्तिकमा २५ हजार १ सय ५५, मसिरमा २६ हजार ७ सय ८२, पुषमा २८ हजार टन आयात भएको थियो ।

माघमा २७ हजार, फागुनमा २६ हजार र चैतमा २७ हजार टन आयात भएको पोखरेलले बताए ।

ग्यासको मागमा देखिएको वृद्धिमा व्यवसायीहरु पनि अचम्भित छन् ।

उनीहरुका अनुसार जाडो मौसममा ग्यासको माग सामन्यतया १५ प्रतिशतले बढ्छ ।

तर, त्यसबेला नबढेको ग्यास हाल आयात ह्वातै बढेको एलपी ग्यास उद्योग संघले जनाएको छ ।

ग्यास बाहेक पेट्रोल, डिजेल, हवाई इन्धनको आयात पनि ह्वातै बढेको छ ।

निगमको तथ्याङ्क अनुसार ९ महिनाको अवधीमा करिब ३ लाख किलोलिटर पेट्रोल आयात भएको छ ।

९ लाख २३ हजार किलोलिटर डिजेल आयात भएको छ । हवाई इन्धन १ लाख २० र १३ हजार किलोलिटर मट्टितेल आयात भएको निगमको तथ्याङ्कमा छ । (कान्तिपुर दैनिकबाट)

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप