विचार

क्यानका अध्यक्ष चतुर बहादुर चन्दलाई खुल्ला पत्र ! – मुकुन्द रेग्मी

चतुरबहादुर चन्द जि, नमस्कार ! 
यो नमस्कार टक्राएको मैले तपाईंले गर्नु भएको कामबाट कमाउनु भएको इज्जतकालागि होइन, म भन्दा उमेरले बढि हुनु भएकोले हो । नाम पनि गज्जबको । चतुर अर्थात बाठो तर क्रिकेट जगतमा तपाईं लाटो हुनुभयो । तपाईंले इज्जत गुमाउनु भयो । दिनरात जनताबाट गाली बर्सिरहेका छन्, कतिले त सरापहरु पनि दिएको देखेको थिए । आसेपासेका हुटहुटीमा लागेर आज तपाईं सबैबाट गिर्नु भएको छ । असफल भइसकेपछि ठाउँ सहज रुपमा छाड्दा राष्ट्रिय रुपमा बढ्ने इज्जत बारे तपाईंले बुझ्नु भएन । भाइरस रुपी प्याकुरेल र राणा लगायतलाई बोकेकोले झनझन् तपाईंलाई रोगी बनायो । आहा ! नाममा बहादुर ! तर तपाईं कायर सावित हुनु भयो । तपाईं जिल्ला फर्कन सक्नु भएन । इतिहासको कबजियतमा टेकेर पाखुरी सुर्किनु भयो । खान पाउला भनेर छेउमा बसेको नाङ्गो गिद्धको बुइ चढेर उडान भर्ने कोसिस गर्नु भो तर भुल्नु भो, तिनमा पखेटा थिएनन्, खाने मुख मात्रै थियो । एकछिन् तपाईंलाई आज र हिजोको सत्य क्रिकेट कथा भन्दैछुः

देशभरमा विभिन्न क्रिकेट लिगहरु चलिरहेका छन् । टिमहरुले राम्रै प्रदर्शन गरिरहेका छ्न् साथै प्रायोजक र आयोजक हरु पनि खुसी नै देखिन्छन् । यति हुँदा हुँदै पनि केही केही नपुगेको जस्तो लाग्छ । अनि सोच्छु सायद मन असन्तोकी भएर पो होकि तर मन असन्तोकी भएर भने होइन किन कि जतिसुकै टि-२० फर्म्याटका खेलहरु खेलाए पनि क्रिकेट  खेलाडिहरुको क्षमताको बिकास भनेको मल्टि डे  टुर्नामेन्टहरुले मात्रै गर्न सक्छन् तर हाम्रोमा त्यो छैन । तर पनि खेलाडीहरुलाई क्रिकेटमै बिजी राख्न महत्वपूर्ण छ नै । प्राइभेट सेक्टरले क्रिकेट पुरै चलाएको १/२ वर्ष हुन लाग्यो । नेपालमा सरकारी क्षेत्र त साचिकै भनौ भने नेपालले खेल जितेर आएको बेला अगाडि आएर ठुला ठुला भाषण बाहेकमा सामेल छैन, प्रतियोगिताको कुरा त धेरै टाढाको कुरा ।

यति भनी रहँदा कुरा आउन सक्छ कि यतिका विधि टि-२० प्रतियोगिता  गराउने प्राइभेट सेक्टर मल्टी डे क्रिकेटमा किन लगानी गर्दैन अथवा खेलाउदैन ? यो प्रश्न स्वभाबिक पनि हो तर यहाँ बुझ्न पर्ने कुरा के छ भने मल्टी डे क्रिकेटमा खर्च धेरै आउँछ, ब्यवस्थापनदेखि लिएर धेरै कुरामा अनि यस्तो प्रतियोगिताबाट नाफा हुदैन आयोजक हरुलाई (यहाँ नाफा भन्दा अहिलेका सबै प्रतियोगिताहरु नाफाका लागि आयोजना भएका भन्ने गलत अर्थ नलागोस्) साथै लगानी ठूलो हुने हुँदा प्राइभेट सेक्टरबाट यस्तो खाल्को प्रतियोगिताहरु गराउन त्यति सम्भव छैन ,हुन त DPL (अहिलेको EPL) का आयोजकले अब NPL लाई पनि T-20, ODI हुँदै Multi-Day सम्म पुराउने कुरा गरेका छन् तर त्यो कार्यान्वयनमा कहिले आउला भन्न सक्ने स्थिति छैन ।

अब यस्तो स्थितिमा कुरा आउँछ नेपाली क्रिकेटको प्रशासनिक निकाय क्यान जो अहिले आफ्नो आन्तरिक कलह र होडबाजीका कारण सस्पेन्सनमा छ अनि आइसिसीले सस्पेन्सन खुलाउन र अहिले देखिएका नेपाली क्रिकेटका समस्या समाधान गर्न भन्दै एउटा सल्लाहकार समिति बनाएको छ जसमा दुवै क्यानका प्रतिनिधि, आइसिसीका प्रतिनिधि, राखेप सदस्य लगायतका क्रिकेट सरोकारवालाहरु छन्, जसलाई छिटो भन्दा छिटो नयाँ विधान बनाएर आइसिसिमा बुझाउन भनिएको छ । तर अहिलेसम्मको सम्पूर्ण क्रियाकलापहरु हेर्दा लाग्छ सल्लाहकार समिति समस्या समाधान भन्दा पनि नेपाली क्रिकेटलाई कसरी हुन्छ आइसिसीबाट ब्यान्ड गराउन तिर लागेको भान हुन थालेको छ । त्यस माथि पनि नेपाली क्रिकेटमा कलङ बनेको अशोकनाथ प्याकुरेल र तपाईं (चतुर बहादुर) को प्यानलका कृयाकलाप साथै अभिव्यक्ति सुन्दा देख्दा लाग्छ्की नेपाली क्रिकेट सिध्याउन लागि परेका छन् र लक्ष्य भनेकै कि आफ्नो नेतृत्व कि क्रिकेटको समाप्ती जस्तो भान भइराखेको छ । यसो भनिरहदा अरु चाहिँ गाईको दूधले नुहाएका हुन् भन्ने होइन तर कृयाकलापले देखाउँछ कि उनीहरु समस्या समाधान तर्फ उन्मुख छन् ।

अब थोरै कुरा, तपाईंको (चतुर बहादुर) प्यानलका एक मुख्य ब्यक्ति अशोकनाथ प्याकुरेलको बारेमा जो तत्कालिन टङ्क आङ्बोहाङ नेतृत्वको क्यानका महासचिव पनि थिए र भ्रस्टाचारको मुद्दामा टङ्कसँगै बाहिरिए तर पछि अदालतबाट सफाइ पाइसकेपछि तपाईं (चतुर बहादुर) को पछिलागेका हुन् । यिनी माहासचिव रहँदा एउटा कुरा खुबै चर्चित थियो त्यो हो आइसिसीले क्यानलाई समयमा आवश्यक कागजपत्र नबुझाएको भन्दै तिराएको ८३ लाख जरिवाना । समयमा कागजपत्र अर्थात आइसिसीले नेपाली क्रिकेट विकासका लागि दिएको पैसाको हिसाब-किताब नबुझाएको भन्दै आइसिसीले नेपाली क्रिकेट माथि कार्वाही गरेको थियो । पछि यस विषयमा कुरा गर्दा अशोकले भनेका थिए, 'हामीलाई आइसिसीले मिटिङमा भनेको थियो तर हाम्रो अध्यक्षजीले अङ्ग्रेजी नबुझेको कारण अहिले फाइन तिर्न पर्यो ।' यस्तो उत्तर दिएर पन्छिएका हुन् यिनी प्याकुरेल । त्यहि बेलाको क्यानमा पनि निकै हालिमुहाली गर्न रुचाउने उनी टङ्क आङ्बोहाङको विरुद्धमा मोर्चाबन्दी गरेर क्यानले गर्न लागेका काम भाड्ने समयमा निणय हुन नदिने जस्ता कार्यमा थिए भनेर खुबै प्रचार भएको थियो । अब भन्नुस् यस्ता ब्यक्तिहरुको समूहबाट हामीले के आशा राख्ने ?

राखेपले अहिले नगरौं नियम पुर्याएर गरौँ, नियम नमिचौ भन्दा भन्दै मनपरी रुपमा कोठे अधिवेशन गर्ने अनिपछि नियम मिचियो भनेर राखेपले आफ्नो विरुद्धमा कानुन बमोजिम कदम चाल्दा रुदै अदालत धाउने । सल्लाहकार समितिमा बस्छु अनि अदालतको मुद्दा पनि फिर्ता गर्छु भनेर आइसिसिलाई भन्ने अहिले कमिटीमा आएपछि खै मुद्दा फिर्ता गरेको ? नियत खराब छ भन्ने कुरा त कमिटीमा प्रतिनिधित्व गरेर पनि मुद्दा फिर्ता नलिनुले प्रस्टैसँग देखाएको छ । तर यो नेपाल हो जहाँ राजनैतिक दलको संरक्षणमा रहेर जेसुकै गरे पनि छुट छ । यहि कारणले तपाईंको समुहले यत्रो ठूलो आट गर्न सकेको । रक्षामन्त्रीलाई बोलाएर जुन अवैधानिक साधारणसभा गरेर शक्ति प्रदर्शन दिने सोच्नु भो, त्यो गम्भिर भुलमाथि अर्को भुल थियो । सार्वभौम सम्पन्न मुलुकमा शक्ति आम जनतामा निहित हुन्छ । त्यसैले त तपाईंको अवैधानिक सभामा गएका राखेप सदस्य प्रकाश पौडेलले सभाका अपलोड गरिसकेका फोटोहरु पछि फेसबुकबाट डिलिट गरेका थिए । तर मानव तस्करी काण्डका आरोपित किरण राना भने 'हाम्रो शक्ति' भनेर फेसबुकमा फोटो अपलोड गर्दै केटाकेटी पारामा रमाइरहेका थिए ।

चतुरजी !
तपाईं आफै पनि तत्कालिन क्यानको उपाध्यक्ष हुनुहुन्थ्यो । माथिका वृतान्त बताउनु तपाईं कसरी जिम्मेवार हुनुभो भन्नलाई नै हो र अहिलेको आवश्यकता के हो भन्ने कुरा प्रस्टाउनलाई हो । वि.सं. २०७१ साल फागुन ९ गते उर्लिएको जनसागरलाई तपाईंले भुल्नु हुदैन । राजधानीमा विभिन्न रुटबाट निस्किएका र्याली खुल्लामन्चको सभामा परिणत भएको थियो जहाँबाट भनिएको थियो, क्यान खारेज गर ! राजनैतिक हस्तक्षेप बन्द गर ! नेपाल क्रिकेट बोर्ड गठन गर ! परिस्थिति अहिले नेपाल क्रिकेट प्रशासनको पुनरसंरचना तिर ढल्केको छ र तपाईंहरुको अस्वभाविक चलखेल प्रत्युपादक हुने निश्चित छ ।

सामाजिक बहिष्कारदेखि धरपकडसम्मको हुनसक्छ जनताबाट कारवाही ! 
जनता नेपाली क्रिकेटलाई नजिकबाट नियालिरहेका छन् । हिजो असफल भएका टंक आङ्बुहाङ्गको समूह गल्ती महसुस गर्दै पलायन भइसकेका छन् । अवशेषका रुपमा तपाईंको समूह छ र यो समूह पनि पलायन हुनुको विकल्प छैन । जनतामा राम्रो छाप बनाएका युवा अभियन्ता दुर्गाराज पाठक र प्रदिप मजगैया अवैधानिक सभामा गए भनेर जनताले चर्को विरोध गरे । उनीहरुले गल्ती महसुस गरेपछि आम माफी पाए । क्रिकेटसँग नेपाली जनताको सम्बन्ध गहिरो छ । कारवाही पनि गर्न पछि हट्ने छैनन्, म दाबीका साथ भन्न सक्छु ।
नमस्कार ! धन्यवाद !

उही तपाईंको शुभचिन्तक
मुकुन्द रेग्मी
हाल : झापा

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप