कृषि

शिक्षण पेसा छाडेर तरकारी खेतीमा !

रामपुर (पाल्पा), २५ चैत, रामपुर नगरपालिका–१० गेझाका कृष्ण पाण्डे शिक्षण पेसा छाडेर व्यावसायिक तरकारी खेतीमा लागेका  छन् । 

तरकारी खेतीबाट मनग्य आम्दानी हुने भएपछि उनले शिक्षण पेसा छाडेर तरकारी खेती सुरु गरेका हुन् । विगत तीन वर्षयता उनले आधुनिक प्रविधिबाट तरकारी खेती गर्दै आएका छन् ।

किसान परियोजना पाल्पाले गाउँमै गएर व्यवसायमा प्राविधिक ज्ञान तथा विभिन्न सामग्री सहयोग गरेपछि उनले तरकारी खेती गर्ने अठोट गर्दै व्यवसाय चलाएक हुन् । आफ्नै १२ रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी लगाएका हुन् । 

उनले आधुनिक प्रविधिबाट प्लास्टिक टनेलभित्र काँक्रो, घिरौँला, बोडी, सिमी, लौका, फर्सी जातका तरकारी लगाएका हुन् । तरकारी बिक्रिबाट मासिक रु २० हजारदेखि रु ३० हजार आम्दानी गर्ने गरेको पाण्डे बताउछन् । 

“जागिरमा अर्काको बन्धनमा बाँधिनुपर्ने, व्यवसायले समाजमा नाम र दाम दुवै मिलेको छ,” उनले भने । बिक्री गर्न बजारको समस्या नभएको उनको भनाइ छ । बर्सेनि जग्गा विस्तार गरी व्यवसाय बढाउँदै लैजाने उनको सोच छ । बेमौसमी जातका तरकारीले बजारमा उचित मूल्य पाएपछि मौसमीभन्दा पनि बेमौसमी जातका तरकारी उत्पादनमा जोड दिएको पाण्डे बताउछन् । 

तीन वर्ष अगाडिबाट व्यवसाय सुरु गरेका पाण्डे अहिले यस क्षेत्रकै अगुवा कृषकका रुपमा चिनिन्छन् । यहाँ उत्पादन गरिएको तरकारी रामपुरको बेझाड तथा चापाकोट बजारमा बिक्री गर्दै आएको उहाँ बताउनुहुन्छ । थोरै लगानीमा घरमै बसेर मनग्य आम्दानी लिन सकिने हुँदा अरुलाई पनि तरकारी व्यवसाय गर्न पाण्डेले सल्लाह दिँदैआएका छन् ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

मनोरञ्जन

थप