समाज

भू–माफियाका निसानामा सार्वजनिक जग्गा !

लक्ष्मण  ढुंगाना, बर्दिया, २८ पुस, बर्दिया ठाकुरद्वारा ९, की लक्ष्मी खत्रीले जोतभोग गर्दै आएको ऐलानी जग्गा आफ्नो भएको दावी गर्दै स्थानीय पतीराम चौधरीले विगत ६ वर्षदेखि घरजग्गा छाड्न दवाव दिँदै आएका छन् । २०३६ सालदेखि जोतभोग गर्दै आएको १३ कठ्ठा मध्य करिब ५ कठ्ठा जग्गा छाड्न दवाव दिएपछि लक्ष्मीले समाजमा हार गुहार गरिन् । गाउँ समाजले पतिरामसँग जग्गाको आधार खोज्यो । उनले जग्गा आफ्नो नाममा भएको प्रमाण स्वरुप लालपूर्जा देखाए । लक्ष्मी छाँगाबाट खसेझैँ भईन्, तर पनि उनलाई विश्वास लागेन । पछि पतिरामसँगै मालपोतमा बुझ्न जाँदा दर्ता श्रेस्तामा जग्गा दर्ता नभएको थाहा भयो । सो पूर्जा नक्कली भएको प्रमाणित भयो ।

चौधरीले गतवर्ष प्रहरीमा उजुरी गरे । पतिरामका छोरा प्रहरीमा जागीरे छन् । लक्ष्मीलाई दुईदिनसम्म प्रहरीले अनावश्यक तनाव दियो । 'अन्तिममा त्रास देखाएर मेरो सहमती विना प्रहरीले जवरजस्ती लेनदेनमा मिलापत्र गरायो' उनले भनीन 'यहाँ पहुँच हुनेकै लागि न्याय रहेछ, हामी जस्ता निर्धालाई सरकारले पनि हेप्दो रहेछ ।'

लक्ष्मीजस्तै सोरहवा गाविस वडा नम्बर ६ सतपतीयाकी अमरावती पासीको १९ कठठा जग्गा भू–माफीयाले किर्ते कागजात तयार गरी अर्कैको नाममा बिक्री गरेका छन् । वर्षौदेखि बस्दै आएको जग्गाको पूर्जा ल्याईदिने भन्दै सोरहवाका राम नरेश यादवले पैसा मागेको उनले बताईन् । पैसा दिन नसकेपछि अढाई कठठा जग्गा रामनरेशलाई दिएर घरमै पूर्जा ल्याईदिएको उनको भनाई छ ।

पूर्जा पाउँदा निकै खुसी भएको पासी परिवारको खुसी धेरैदिन टिकेन । केही दिनपछि सो जग्गा आफ्नो भएको दाबी गर्दै सतपतीयाकै शम्भु अन्सारी, गोपाल यादव, ताहिर अन्सारी र कीताबुन अन्सारीले घरजग्गा खाली गर्न दवाव दिन थाले । 'भूमाफियाले हाम्रो जग्गा अर्कैलाई बेचविखन गरिसकेका रहेछन्' उनले भनिन् 'सरकारबाट हामी गरिबले न्याय पाउनु पर्छ ।'

त्यस्तै सोरहवा ६ स्थित साविक कित्ता नम्बर ७५२ हाल नापी सर्वेको कित्ता नम्बर १७ को नेपाल सरकारको नाममा रहेको जग्गा स्थानीय ध्रुव लोहारले २०३३ सालबाटै जोतभोग गर्दैआएका थिए । सो जग्गाको भूमाफियाले बहादुर यादवको नाममा किर्ते पूर्जा बनाए । सो कुरा उनका छोरा राधेश्याम लोहारले २०७१ फागुन १५ गते जग्गाको नक्कल लिँदा थाहा पाए ।

त्यसपछि उनले राम नरेश यादव, बहादुर यादव लगायत मालपोत र नापीका २० जना कर्मचारी विरुद्ध २०७१ चैत २ गते सरकारी छाप दस्तखत किर्ते र ठगी सम्बन्धी जिल्ला अदालत बर्दियामा मुद्दा दायर गरे ।

सरकारी छाप, दस्तखत किर्ते र ठगी गरी नेपाल सरकारको नाममा रहेको जग्गा ब्यक्ति विशेषलाई बिक्री वितरण गरेको मुद्दा बर्दिया जिल्ला अदालतबाट मंसिर ३० गते फैसला भएपछि नक्कली जग्गाधनीपूर्जा वितरण हुनेगरेको रहस्यको पर्दाफास भएको हो ।

नक्कली लालपूर्जाको व्यापार
माथिका घटनाले जिल्लामा सरकारी निकायका किर्ते छाप, दस्तखत बनाएर नक्कली लालपूर्जाको व्यापार हुने गरेको तथ्य देखाउँछ । जिल्लामा सरकारी कर्मचारीकै प्रत्यक्ष संलग्नतामा नक्कली लालपूर्जा बनाउँदै सार्वजनिक जग्गा खरिद बिक्री गरी एउटै जग्गा विभिन्न व्यक्तिका नाममा पास गरेका किर्ते पूर्जा फेला परेका छन् ।

सो कार्यमा स्थानीय भू–माफियाका साथै मालपोत र नापी कार्यालयका अधिकृतदेखि अन्य फाँटवाला कर्मचारीहरुको मिलेमतो देखिएको छ । उनीहरुले रकम असुलेर ध्रुब लोहारको जग्गा बहादुर यादव र छोटे पासीको जग्गा विभिन्न ४ जना व्यक्तिलाई बिक्री वितरण गरेका थिए ।

भूमाफियाले सोरहवाको वडा नम्बर ६, ७ र ८ मा रहेको २० वटा कित्ताको करिव १८ विगाह क्षेत्रफल जग्गाको नक्कली लालपूर्जा वितरण गर्दै लालपूर्जाको व्यापार गरेका छन् ।

अवैध असुलेर घरमै पूर्जा
मालपोत र नापीका कर्मचारीसँग मिलेमतो गरी स्थानीयलाई नक्कली लालपूर्जा वितरण गर्नुका साथै एउटाले जोतभोग गर्दै आएको जग्गा अर्कैलाई बिक्री वितरण गर्ने कार्यमा सोरहवा ७ का रामनरेश अहिर यादव संलग्न रहेको स्थानीयबासीले बताए । यादवले जग्गा जोतभोग गरिरहेका स्थानीय ब्यक्तिहरुलाई जग्गा पास गरिदिने भन्दै प्रति कट्ठा ३ हजारदेखि १० हजार रुपैयासम्म लिएर २०६५ सालमा जग्गा धनी पूर्जाघरमै ल्याएर दिएका थिए ।

सोरहवा ६ की अमरावती पासीले आफूसँग यादवले २४ हजार मागेको बताईन् । तर त्यति पैसा नभएपछि सतपतीया गाउँकै आफ्नो अढाई कठ्ठा जग्गा दिएर पूर्जा बनाएको बताईन् । त्यस्तै सोरहवा ६ सानो जोडपिपलकी रामकली सुनारले ३ कठ्ठा जग्गाको १० हजार रुपैयाँ दिएर पूर्जा पाएको बताईन । 'हामीलाई नक्कली पूर्जा भन्ने थाहा भएन घरमै पूर्जा ल्याईदिन्छौ दौडधुप गरेको खर्च चाहिन्छ भनेपछि पैसा दिएका हौ,' उनले भनिन् 'पछि मुद्दा परेपछिमात्र पूर्जा नक्कली हो भन्ने थाहा भयो ।'

रामकली जस्तै सोही गाउँका शेरबहादुर सुनारले साढे तीन कठठा जग्गाको लागि २२ हजार रुपैयाँ यादवलाई बुझाएको बताए । 'वर्षौदेखि हामीले जोतभोग गर्दै आएको जग्गा हो' उनले भने 'हामी सोझा साझा मान्छे घरमै मालपोतले पूर्जा दिन्छ भनेपछि पैसा दिएका हौँ, पूर्जा पनि पायौँ, तर नक्कली रहेछ ।'

१३ जना कर्मचारीलाई जेल सजायको फैसला
सरकारी छाप दस्तखत किर्ते र ठगी गरी नेपाल सरकारको नाममा रहेको जग्गा ब्यक्ति विशेषलाई बिक्री वितरण गरेको अभियोगमा मालपोत र नापीका १३ जना कर्मचारीलाई जेल सजायको फैसला भएको छ । जिल्ला अदालत बर्दियाका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीका अनुसार मालपोतका तत्कालीन नासुद्वय प्रकाशचन्द्र बुढाथोकी र ईश्वरीप्रसाद दाहाललाई किर्ते कागजको ७, ९ र १२ बमोजिम ३ वर्ष र ठगी ४ नम्बर बमोजिम ५ महिना गरी ३  वर्ष ५ महिना कैद गर्नुपर्ने आदेश दिएको छ । बुढाथोकी गत वर्षदेखि पुर्पक्षका लागि थुनामा छन् भने दाहाल फरार छन् ।

त्यस्तै नापीका तत्कालीन प्रमुखद्वय पुष्पराज जोशी, कृष्णमुरारी पन्त, नापी अधिकृत सामोद लाल कर्ण लगायत ११ जनालाई ३ वर्ष कैदको फैसला भएको छ । त्यस्तै तत्कालिन मालपोत अधिकृत शंकर प्रसाद भेटवाल लगायत ५ जनालाई दोषि नदेखिएको हुँदा सफाई दिएको छ ।

नक्कली जग्गाधनीपूर्जा बनाएको अभियोग लागेका सोरहवा ६ का रामनरेश अहिर यादवलाई मुलुकी ऐन ठगीको १ नम्बर विपरित ४ नम्बर बमोजिम १ वर्ष कैद र २ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ । गत मंसिर ११ गतेदेखि पुर्पक्षकालागि थुनामा रहेका यादव फैसलामा उल्लेख भएबमोजिमको कैद सजाय भुक्तान भइसकेकाले जरिवाना तिरेर छुटेका छन् भने सोही अभियोगका बहादुर रावतलाई तामेलीमा राख्ने फैसला भएको छ ।

उक्त मुद्दामा दोषी ठहरिएका नापी अधिकृतहरुले आफूहरु निर्दोष भएको बताएका छन् । जिल्ला नापी कार्यालयका नापी अधिकृत सामोदलाल कर्णले आफूहरुले मालपोतका कागजातका आधारमा जग्गा कित्ताकाट गरेकोले आफूहरु निर्दोष भएको बताए । आफूहरु न्यायका लागि पुनरावेदन वा सर्वोच्च अदालत जाने उनको भनाई छ ।

जग्गा जोतभोग गर्नेहरु समस्यामा
सरकारी कर्मचारीकै संलग्नतामा नक्कली जग्गाधनी पूर्जा वितरण भएपछि जग्गा जोतभोग गर्ने स्थानीयबासीहरु समस्यामा परेका छन् । मुद्दा परेपछि हाल उक्त पूर्जा मालपोत कार्यालयले बदर समेत गरिसकेको छ । एकातिर उनीहरुले ठूलो रकम भूमाफियाले खाई दिएका छन् भने अर्कोतर्पm आफू बस्दै आएको जग्गामा विभिन्न व्यक्तिले दावी गर्दै आएका छन् । जसका कारण सो समुदायमा दिनहुँ झै झगडा हुने गरेको छ । जसका कारण विभिन्न जग्गा सम्बन्धी मुद्दामा अनावश्यक झमेला व्यर्होर्नु परेको पीडितहरुले बताएका छन् ।

वर्षौदेखि जग्गा जोतभोग गर्दै आएका स्थानीयले पूर्जा प्राप्त गरेपछि उक्त पूर्जाकै आधारमा गाविसमा मालपोत कर समेत बुझाउँदै आएका छन् । उनीहरुले गत वर्ष उक्त जग्गामा निर्माण भएको बबई सिचाईको नहरबाट मुआब्जा वापतको रकम पनि पाएका छन् । उनीहरुले वर्षौदेखि जोतभोग गर्दै आएको जग्गा भूमाफियाको चंगुलमा फसेर समस्या भएको बताए । जोतभोगको आधारमा सो जग्गा आफूहरुले पाउनु पर्ने उनीहरुको दावी रहेको छ ।

यसमा तपाईंको मत

धेरै पढिएको

थप

मनोरञ्जन

थप