शिक्षा

हस्तान्तरण नहुँदै जीर्ण बन्यो रोल्पाको क्याम्पस भवन

अमरजित पुनमगर, रोल्पा, २७ पुस, रोल्पाकै सदरमुकाम भित्र रहेको क्याम्पस अझै हस्तान्तरण हुन सकेको छैन । भारतीय राजदुताबासको आर्थिक सहयोमागमा निर्माण गरिएको जलजला बहुमुखी क्याम्पस लिबाङ, रोल्पाको भवन निर्माणको ६ वर्ष बितिसक्दा पनि अझै हस्तान्तरण नभएको हो । हस्तान्तरण नहुँदै भवन भने जीर्ण प्रायः बनिसकेको छ ।

रोल्पा जिल्लाको पहिलो क्याम्पसको रुपमा २०६२ सालमा स्थापना भएको जलजला क्याम्पस बल्ल बल्ल आफ्नै भवन बने पनि पूर्णरुपमा आफ्नो बन्न सकेको छैन । गणतान्त्रिक नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को नेतृत्वमा सरकार रहेको बखत यस क्याम्पसलाई बहुमुखी क्याम्पस घोषणा गरेको थियो । रोल्पाको एकमात्र बहुमुखी क्याम्पस सोही सरकारको पालामा भवन निर्माणका लागि क्याम्पस सञ्चालक समितिले नेपाल सरकार मार्फत भारतीय राजदूतावाससँग माग गरेको थियो ।

२०६७ साल भाद्र ५ गतेबाट ४ करोड १८ लाख स्वीकृति लागतमा निर्माण हुने गरी सम्झौता सार्वजनिक गरिएको थियो । सो भवन निर्माण गर्नका लागि ३ करोड ९० लाख लागतमा उत्तम बस्नेतले जिम्मा लिएका थिए । उत्तम बस्नेतले जिम्मा लिए पनि स्थानीय निर्माण व्यवसायी हरिबहादुर पुन मार्फत क्याम्पस भवनको निर्माण कार्य सुरु गरिएको थियो । भवन निर्माणका लागि १८ महिनामा क्याम्पस भवन निर्माण गर्ने सम्झौता गरिएको भए पनि समयमै काम सम्पन्न नभएको ब्यापक जनगुनासो छ ।

२०६९ साल श्रावण महिनामा निर्माण सम्पन्न गरी क्याम्पस प्रशासनलाई भवन हस्तान्तरण गर्नु पर्ने आन्तरिक सम्झौता भएपनि करिब ६ वर्ष बितिसक्दा पनि अझै हस्तान्तरण भएको छैन । क्याम्पस पठन पाठनका लागि कक्षा कोठा नभएपछि जसरी तसरी सञ्चालनको लागि करिब २ वर्ष अघिदेखि सोही भवनमा क्याम्पस सञ्चालन हुँदै आइरहेको छ । क्याम्पस पूर्ण नहुँदा आफूहरुलाई पनि निकै समस्या हुनेगरेको क्याम्पस प्रमुख कृष्ण न्यौपानले बताए । क्याम्पस पूर्णरुपमा निर्माण नहुँदा पढाई समेत कमजोर भइरहेको न्यौपानेले बताए । क्याम्पस पूर्णरुपमा आफ्नो मातहतमा नभएका हुँदा विभिन्न कानुनी तथा ब्यवहारिक जटिलताहरु उत्पन्न भएको बताए ।

जिल्लाका सरोकार वाला निकायले चासो नदेखाउँदा क्याम्पस हस्तान्तरण हुन नसकेको जिल्लामा क्रियाशिल विभिन्न विद्यार्थी संगठनहरुले आरोप लगाएका छन् । २०७० साल माघ १३ गते आफ्नै भवनमा सरे तापनि अहिलेसम्म हस्तान्तरण नहुँदा थप भौतिक पूर्वाधार निर्माण, विद्युतीय सामग्रीको जडान, शौचालय व्यवस्थापन, खानेपानी तथा सरसफाइदेखि विद्यार्थीहरुको पढाईमा असर पुगेको उनीहरुले बताएका छन् । तत्काल हस्तान्तरण गर्न भनि जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय, क्याम्पस प्रशासनमा ज्ञापन पत्र समेत बुझाएका छन् । पटक–पटक लिखित मौखिक जानकारी गराउँदा समेत हस्तान्तरणको प्रक्रिया अगाडि नबढेकोले आफूहरुले ज्ञापन पत्र बुझाएको विद्यार्थी संगठनहरुले बताएका छन् । अझै पनि आफूहरुको मागलाई वेवास्ता गरे कडा आन्दोलन घोषणा गर्ने विद्यार्थीहरुले बताए ।

भारतीय राजदूताबासले भवन निर्माणको लागत उपलब्ध गराउने गरी जिल्ला विकास समितिलाई जिम्मेवारी प्रदान गरेको थियो । जिल्ला विकास समिति र डिवा÷ड्रगन विल्डर्स जेविबीचमा समयमै निर्माण कार्य सम्पन्न गर्ने सम्झौता पनि भएको थियो । सम्झौता अनुसार भन्दा निकै ढिलो निर्माण कार्य सकिए पनि अझै पूर्णता पाउन सकेको छैन । लामो समय बितिसक्दा पनि ठेकेदारको चरम लापरबाहीले क्याम्पस भवन निर्माण पुरा नभएको स्थानीयहरुले बताएका छन् । क्याम्पस भवन पूर्णरुपमा प्रयोग नहुँदा शौचालयहरु पनि दुर्घन्धित भएका छन् भने झ्यालका सिसाहरु पनि ठाउँ ठाउँमा फुटेका छन् । ठेकदारलाई पटक पटक भनिरहेको तर बाहना मात्र बनाउने गरेकोले यस्तो समस्या आएको स्थानीय विकास अधिकारी सुशील वैद्यले बताए । ठेक्का प्रकृयामा गएपछि समयमै काम सक्नु पर्ने भएपनि काम नगरेकोले अब कारवाही प्रकृयामा जाने वैद्यले बताए । आगामी फागुनसम्म सम्पूर्ण काम सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएकोले काम तिब्र हुनेमा आशावादी देखिएको बताए ।

रोल्पाको एक मात्रै बहुमुखी क्याम्पसको भवन निर्माण भएको धेरै वर्षमा बितिसक्दा पनि हस्तातरण नभएको विषयले सबैलाई आश्चर्य चकित बनाएको छ । शौचालय, खानेपानीको अवस्था हस्तानतरण नहुँदै जीर्ण बन्दै गएको छ । सरोकारवाला निकायले समयमै ध्यान दिन नसकेको आम जनगुनासो छ । अझै पनि ध्यान नदिएमा सिङ्गो रोल्पा र रोल्पाली विद्यार्थीको जीवनमा घातक सावित हुनेछ । समयमै कार्य सम्पन्न नगर्दा विद्यार्थीहरु क्याम्पस प्रशासन मात्रै होइन सबै रोल्पाली मर्कामा परेका छन् भने भारतीय राजदुवातासले आगामी दिनमा रोल्पालाई सहयोग गर्न सम्भावना पनि कम रहन सक्ने बताइएको छ ।

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप