स्वास्थ्य

घर, गोठमै बच्चा जन्माउँछन् अझैपनि फगामका महिला !

अमरजित पुनमगर, रोल्पा २३ पुस, ग्रामिण क्षेत्रका महिलाहरु अझै पनि स्वास्थ्य सेवा भन्दा बाहिर छन् । भौगोलिक विकटता साथै चेतना अभावका कारण यस क्षेत्रका महिलाहरु अझै पनि स्वास्थ्य संस्थासम्म पुग्न सकेका छैनन् । स्वास्थ्य संस्थामै सुत्केरी हुनु पर्छ भन्ने कुरा समेत थाहा छैन कति महिलाहरुलाई । पर्याप्त चेतना र स्वास्थ्य प्रतिको कम चासोका कारण पनि यस्तो हुन गएको हो ।

विषेश गरी पूर्वी रोल्पाको फगाम गाविसका महिलाहरु अझै पनि स्वास्थ्य संस्थासम्म पुग्न सकेका छैनन् । नियमित गर्भ जाँच, स्वास्थ्य संस्थामै सुत्करी हुनु पर्ने भन्ने मान्यतालाई समेत ब्यवास्ता गर्ने गरेका छन् । 

करिब १३ सय घर धुरी संख्या रहेको फगाम गाविसमा करिब ३ हजार जनसंख्या रहेको छ । यस गाविसका अधिकांश महिलाहरुले घर, गोठमै बच्चा जन्माउने गरेका छन् । चेतना अभावका कारण उनीहरु घर, गोठमै सुत्केरी हुने गरेका छन् । पुरोना मान्यतालाई विश्वास गर्नाले पनि यस्तो समस्या आउने गरेको बताईन्छ । अब्यवस्थित खेती प्रणाली, स्वास्थ्यलाई भन्दा कामकाजलाई प्राथमिकता दिँदा यस्तो हुने गरेको फगाम स्वास्थ्य चौकीका अनमी देउमा पुन बताउँछिन् । यसबारेमा बेला बखत भेला बैठक गरे पनि अझैसम्म बुझ्न नसकेको अनमी पुनले बताइन् । स्वास्थ्य संस्था घर, गोठहरु भन्दा धेरै टाढा हुनुको कारण पनि यस्तो समस्या आउने गरेको छ । 

यो आर्थिक वर्ष सुरुभएको पनि ६ महिना पुगिसक्यो तर अहिलेसम्म स्वास्थ्य संस्थामा जम्मा ८ जनाले सुत्केरी सेवा लिएका छन् । घर परिवारको असहयोगका कारण पनि कतिले त गर्भ जाँच नै गरेका छैनन् । स्वास्थ्य संस्थामा गएपछि घर परिवारसँग छुट्टिएर बस्नु पर्छ भन्ने दवाव दिनाले पनि धेरै महिलाहरु सेवा लिन नआएको अनमी पुनले बताइन् ।

सदरमुकामदेखि १४ कोषमात्र टाढा रहेको फगाममा खासै स्वास्थ्य संस्थामै सेवा लिनु पर्छ भन्ने चेतना पलाएको छैन । अहिलेसम्म मोटरबाटो पुग्न नसकेका कारण पनि जिल्लाबाट स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु पर्याप्त मात्रामा पुग्न सकेका छैन । पैदल हिडेर जानु पर्ने भएकाले पनि त्यस गाविसमा जान कसैले पनि जाँगर चलाएका छैनन् । स्वास्थ्य सम्बन्धी काम गर्ने थुप्रै संघ, संस्थाहरु भए पनि फगाम गाविसले अहिलेसम्म उपभोग गर्न पाएको छैन । 

फगाम गाविसमा करिब १८ सय भन्दा बढि महिलाको जनसंख्या छ । तर पनि स्वास्थ्य संस्थामा सेवा लिनेको संख्या भने निकै न्यून रहेको पाईन्छ । स्वास्थ्य संस्थामा पुगेर अभिलेख हेर्ने हो भने महिलाहरुले सेवा लिएको निकै कम छ । स्वास्थ्य संस्थामा सेवाग्राही नपुग्दा स्वास्थ्यकर्मी पनि दिनभरी घाम तापेर बसिरहेका देखिन्छन् । 

गाउँ गाउँमा पुगेर सचेतनाका कार्यक्रम पनि अहिले खासै भएका छैनन् । पछिल्लो समय नेपाल रेडक्रस सोसाईटीले महिला स्वास्थ्य स्वयम् सेविका र महिला स्वास्थ्य सम्बन्धी केही कार्यक्रम गरिरहेको छ । गाउँ गाउँमा आमा समूह गठन, महिला स्वयम् सेविकालाई तालिम जस्ता कार्यक्रम रेडक्रसले गरिरहेको छ तर पनि अपेक्षाकृत उपलब्धी हासिल हुन सकिरहेको छैन । गर्भवती महिलाहरुको भेला समेत गरेर उनीहरुलाई स्वास्थ्य संस्थामै सेवा लिन पर्छ भनिए पनि त्यसो हुन सकेको छैन । हेल्थपोष्टको अभिलेखमा न्यून उपस्थिति देखिए पनि पहिले भन्दा धेरै उपलब्धी भएको रेडक्रसका गाविस संयोजक हेमराज महराले बताए । भौगोलिक बिकटताका कारण पनि खासै सेवा लिन नसकेको महराको जिकिर छ । 

परम्परागत खेती प्रणालीका कारण पनि धेरै महिलाहरुको स्वास्थ्य जोखिममा पर्दै गइरहेको छ । ब्यवस्थित खेती गर्न नसक्दा दैनिक घर गोठ धाउनु पर्ने बाध्यताले पनि यस्तो हुन गएको देखिन्छ । घरका अभिभावकले पनि स्वास्थ्य संस्था जान प्रेरित नगर्दा धेरै जसो महिलाहरुले घरमै बच्चा जन्माउने गरेका छन् । अधिकांश महिलाको श्रीमान बैदेशिक रोजगारमा जानुले पनि यस्तो समस्या देखिने गरेको पाईन्छ । श्रीमान साथमा नहुनु सासु, ससुरा घरमै जन्माए पनि हुन्छ भन्ने पुरानो मान्यता कारण पनि गर्भ जाँच समेत गर्न आँट गरेका छैनन् । 

फगाम प्रतिनिधि मात्र हो, रोल्पाका अधिकांश महिलाहरु अझै पनि स्वास्थ्यको पहुँच भन्दा बाहिर छन् । महिला लक्षित कार्यक्रम गरी ग्रामिण क्षेत्रसम्म पुर्याउन सके अकालमा महिलाले ज्यान गुमाउनु पर्ने थिएन । स्वास्थ्यको नाममा आएको बजेट पनि महिला स्वास्थ्यमै लगानी गर्न सके केही सकारात्मक उपलब्धी हासिल हुन सक्ने जिल्लाका नागरिक अगुवाहरु बताउने गर्दछन् ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप