पत्रपत्रिकाबाट

१५ करोडको ३३ किलो सुन विमानस्थलबाटै सुरक्षित बाहिरियो, सुरक्षाको ठूलै गिरोह भएको दाबी

काठमाडौं, २२ पुस,  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा छल्दै सुन तस्करहरूले बाहिर ल्याएको झन्डै १५ करोड मूल्य बराबरको ३३ किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पिङ्गलास्थान र विमानस्थलपछाडिको गोठाटारको ओरालोबाट दुईवटा गाडीमा रहेको झन्डै ३३ किलो सुनसहित तीनजनालाई पक्राउ गरेको हो ।

व्युरोकी प्रहरी उपरीक्षक मीरा चौधरीले झन्डै १५ करोड मूल्य बराबरको सुन बरामद भएको बताइन् । ‘तौलिएपछि मात्र वास्तविक मूल्य थाहा हुन्छ, शुक्रबार तौलिन्छौं’, उनले भनिन् ।

विमानस्थलबाट संगठित रूपमा सुन तस्कर भइरहेको र प्रहरीले नियन्त्रणमा लिन नसकेको भन्दै आलोचना भइरहेका बेला ब्युराको अप्रेसनमा ठूलो परिमाणको सुन बरामद भएको हो ।

विमानस्थल प्रहरी र भन्सार कार्यालयको सुरक्षा जाँचका बीच ठूलो परिमाणमा विमानस्थलबाट सुन बाहिरिनुले सम्बन्धित विभागलाई समेत विवादमा तानेको छ ।

त्यहाँका प्रहरी र भन्सार कार्यालयका कर्मचारीमाथि ठूलो नैतिक प्रश्न उब्जाएको छ ।
विमानस्थलबाट सुन बाहिरिनुले सुन तस्करहरूले कसरी एक्सरे, प्रहरी र भन्सार छल्न सके भन्ने गम्भीर प्रश्न उठेको छ ।

प्रहरीले केही दिनअघि कलंकीबाट सात किलो र रसुवाबाट पाँच किलो सुन बरामद गरेको थियो ।

ब्युरोले तीन वर्षअघि कोटेश्वरबाट ३५ किलो सुन बरामद गरेको थियो । त्यसपछि ब्युरोको यो दोस्रो ठूलो परिमाण हो ।

एसपी चौधरी नेतृत्वको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुबईमा बस्दै आएका नेपालगन्जका गोपालबहादुर शाही, मोरङ पथरी ८ का दिलबन्धु थापा र दुबईमै काम गर्दै आएका जनकपुर १२ का सन्तोष काफ्ले छन् ।

ब्युरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले विमानस्थलबाट संगठित रूपमा सुन तस्कर भइरहेको थाहा भएपछि अप्रेसन गरिएको बताए ।

‘यो घटनापछि सुन तस्करीमा कमी आउने ठानेको छु’, डीआईजी सिलवालले भने, ‘संगठित गिरोह नै सक्रिय भएको हुन सक्छ । अनुसन्धानपछि यसको कनेक्सन खुल्छ । सुन बरामद गर्न कोही पनि सुराकी छैनन् । ब्युरोकै प्रयासले तस्कर पक्राउ परेका हुन् ।’

विदेशबाट प्राप्त ुभरपर्दोु सूचनाका कारण यो अपरेसन सफल भएको प्रहरीले बताएको छ ।प्रहरी हिरासतमा रहेका नेपागन्जका शाहीले दुबईमा एक भारतीय नागरिकले सुटकेस लैजान भनेको र उनले भनेबमोजिम आफूले सुन ल्याइदिएको बताए ।

शाहीले आफूले सुन ल्याए पनि नेपालका सुन धनी को हुन् भन्ने विषयमा आफूलाई थाहा नभएको बताए ।

गौशाला प्रहरी वृत्तका डीएसपी नवराज कार्कीको कार्यकक्षमा सञ्चारकर्मीको रोहबरमा ब्युरोका प्रहरीले दुईवटा सुटकेस खोलेका थिए ।

प्रहरीले सुटकेसमा फलामको लाम्चो आकारको भाँडाभित्र दुई सय ८२ थान सुनका बिस्कुट, २० थान सिक्री आकारका माला र १९ थान औंठी निकालेको थियो ।

शाही बुधबार बेलुकी दुबईबाट एयर अरेबियाको विमानमा दुईवटा सुटकेससहित काठमाडौं उत्रिएका थिए ।

उनी सुटकेस विमानस्थलमै छाडेर कोटेश्वर साथीकोमा बस्न गएका थिए । शाही बिहीबार थापा र काफ्लेसहित सामान बुझ्न विमानस्थल पुगेका थिए ।

विमानस्थलबाट संगठित रूपमा सुन आइरहेको भन्ने बलियो सूचनाका आधारमा एसपी चौधरी नेतृत्वको प्रहरी टोली बुधबार साँझदेखि विमानस्थलमा सक्रिय थियो ।

शाही विमानस्थलभित्रबाट सामान लिएर बाहिर आई बा २ ज २९१५ नम्बरको ट्याक्सीमा विमानस्थलको मुख्य गेटबाट निस्किए ।

उनलाई सीआईबी टोलीले ुफलोु गरिरहेको थियो । ट्याक्सी पिङ्गलास्थानबाट श्लेषमान्तक जंगलको कच्ची बाटोतर्फ मोडिएपछि शाही सुटकेससहित पक्राउ परे ।

शाहीले ढिला गरेपछि थापा र काफ्लेले फोन गरी आफू कुरिरहको स्थानबारे शाहीलाई जानकारी दिएका थिए । (अन्नपूर्ण पोष्ट दैनिकबाट)

यसमा तपाईंको मत

Loading...

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप