समाज

रोल्पालाई सन् २०२२ सम्ममा पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गरिने

अमरजित पुनमगर, रोल्पा २० पुस, खुला दिसामुक्त क्षेत्र घोषणासँगै सुस्ताएकोे रोल्पा फेरी सरसफाई अभियानमा तातिएको छ । सरसफाइसम्बन्धी राष्ट्रिय रणनीति योजना कार्यान्वयन गर्न रोल्पा पूर्ण सरसफाइको अभियानमा तातेको हो । रोल्पा जिल्लालाई २०७२ साल पौष ९ गते नेपालकै २८ औँ जिल्लाको रुपमा  खुला दिसामुक्त जिल्ला घोषणा भएलगत्तै सरसफाइ अभियान सुस्ताएको थियो । पूर्ण सरसफाइविना स्वस्थ जीवन जिउन नसकिने भन्दै सो अभियानमा रोल्पाली जुट्ने भएका छन् ।

जिल्ला  खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति रोल्पाले पूर्ण सरसफाइसम्बन्धी रणनीतिक योजना समेत बनाई सकेको छ । समितिले जिल्लाका विभिन्न निकायसँग सो अभियानका बारेमा छलफल तथा अन्तरक्रिया गरिरहेको छ । रोल्पा जिल्लालाई पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गरिसक्ने लक्ष्य समेत तयार पारिसकिएको छ । मंगलबार जिल्लामा भएको सरोकारवालाहरुको बैठकबाट २०२२ सम्म पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गरी सक्ने जानकारी गराईएको छ । जिल्लालाई सभ्य र सरसफाई युक्त बनाउनका लागि सबै लागि पर्नेमा जिल्लाका सरोकारवाला निकायले पनि लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

पूर्ण सरसफाई हुनका लागि चर्पीको प्रयोग, पानी प्रयोग सम्बन्धी सुरक्षित ब्यवहार, साबुन पानीले हात धुने बानी, खाना प्रयोग सम्बन्धी सरक्षित ब्यवहार, सफा घर आँगन, सफा वातावरण हुने पर्ने सरसफाई फोकल पर्सन दामोदर प्रसाद सुवेदीले बताए । रोल्पाको विकास, सभ्यता र समृद्धि पूर्ण सरसफाईयुक्त हाम्रो जीवन पद्धति भन्ने मुल मन्त्रका साथ थालिएको सरसफाई अभियानमा जुत्न आग्रह समेत गरेका छन् ।

जिल्लाको योजना अनुसार २०१७ मा २ वटा गाबिस २०१८ मा ३ वटा, २०१९ मा ४ वटा, २०२० मा १० वटा, २०२१ मा २० वटा, र  २०२२ मा १० वटा गाविस पूर्ण सरसफाई युक्त घोषणा गरिने छ । पूर्ण सरसफाई निर्देशिका २०७२ का अनुसार जिल्लाब्यापी अभियानलाई संचालन गरिने बताइएको छ । जिल्लाको पहिचान पनि भएकोले सबै जिल्लाबासीले यस अभियानमा साथ दिनु पर्ने पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ आयोजना, पोखराका जिल्ला परियोजना अधिकृत भोलानाथ आचार्यले बताए । अधिकार र कर्तब्यसँगै जोडिएको हुनाले जिल्लाका राजनैतिक दल, सरोकारवाला निकायले पनि यसमा जोड दिनुपर्ने आवश्यकता औल्याए ।

४३ हजार घर धुरी संख्या रहेको रोल्पामा सबैले चर्पी निर्माण गरेसँगै सरसफाइको अन्य सूचकहरुमा काम भइरहेको जिल्ला विकास समितिले जनाएको छ । ६ वटा सुचकहरु पुरा गरेपछि पूर्ण सरसफाई हुन योग्य हुने गर्दछन् । सरसफाइ भए शारीरिक रुपमा पनि स्वस्थ हुने भएको ब्यक्तिगत आनिबानीमा पनि  विषेश ध्यान दिनु पर्ने बताईन्छ । दुई लाख २४ हजार जनसंख्या रहेको रोल्पामा पूर्ण सरसफाईका कार्यहरु भइरहेका छन् । अभियान संचालन गरिरहँदा भौगोलिक विकटता र अशिक्षाका कारण पूर्ण सरसफाई अभियानमा चुनौति देखिने जानकारहरु बताउने पनि गरेका छन् ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप