अन्तर्वार्ता

राजधानीमा धामीले कमाउँछन् महिनाको २ लाख बढी ! [भिडियोसहित]

काठमाडौँ, ४ असोज, राजधानी काठमाडौँ नेपालकै केन्द्र हो । यहाँ लाखौँ मान्छेको बसोवास रहेको छ । देशका विभिन्न ठाउँबाट राजधानी आएर बसोवास गर्नेको संख्या पनि उच्च छ । राजधानीलाई सेवा र सुविधाको केन्द्र मानेर पनि बसोवास गर्नेको संख्या सानो छैन । आवश्यक परेको बेला उपचार सहजै पाइन्छ भनेर पनि मान्छे गाउँमा भन्दा राजधानीमै बस्न रुचाउँछन् । राजधानीमा अस्पतालको संख्या पनि सयौँ छ त्यहाँ हेर्ने हो भने विरामीको संख्या पनि उच्च छ । तर राजधानीमै बसोवास गर्नेलाई डक्टरको भन्दा धामीको धेरै विश्वास हुन्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । साथै एउटा नाम चलेको अस्पतालको डाक्टरले भन्दा सामान्य धामी, झाक्री गर्नेले धेरै पैसा कमाउँछ भन्दा पनि अनौठो लाग्न सक्छ । तर राजधानीमा बसेर धामी व्यवसाय गर्नेको आम्दानी अपत्यारिलो पाइएको छ ।

काभ्रेबाट राजधानीमा आएर धामी व्यवसाय गर्दै आएका गोपीनाथ ढुङ्गाना यस्तै एक उदाहरण हुन् । उनी आफूले सक्ने विमारको ग्यारेन्टी दिएरै उपचार गर्छन् । उनको धामी केन्द्रमा आजको खबरले गरेको अनुगमनको क्रममा विहानदेखि बेलुकासम्म निरन्तर मान्छेको आवतजावत भइरहेको पाइयो । १७ वर्षको उमेरदेखि धामी, झाक्रीको काम गर्दै आएका ढुङ्गाना अहिले ७३ वर्षका भए । उनको पेशा निरन्तर चलिरहेको छ । तीनजना अन्य धामीबाट ज्ञान लिएका ढुङ्गाना आफूलाई विश्वास गरेर र आफ्नो उपचारबाट सन्तुष्ट बनेरै यो सफलता हासिल गरेको बताउँछन् । उनीसँग उपचार गर्न सर्वसाधारण, पर्यटक, ब्यवसायी, राजनीतिकर्मी लगायत डाक्टर समेत आउने गरेका छन् । गाउँमा धामी गर्दा गर्दा वाक्क भएपछि यो पेशा छोड्छु भनेर राजधानी भित्रिएका ढुङ्गानालाई जजमानहरू खोज्दै खोज्दै काठमाडौँसम्मै आइपुगे अनि फेरी सुरु भयो यही उनको धामी व्यवसाय ।

ढुङ्गानाका अनुसार उनी महिनाको २ लाखभन्दा बढी कमाउँछन् । आफ्नो फुकफाकबाट सन्तुष्ट हुनेले कुनै कुनै दिन १०, २० हजार पनि दिएर जाने गरेको उनले बताए ।  आम्दानी नभएको दिन पनि २ हजारभन्दा बढी नै हुने उनी बताउँछन् । आफूले जानेको सिप प्रयोग गरेर विरामीको उपचार हुन्छ भने त्यसमै आफू सन्तुष्ट भएको उनी दाबी गर्छन् । उनी भन्छन्, 'मान्छे आउन्, मैले सकेको फुकफाक म गर्छु, निको भएर जाउन् ।' उपचार गरेबापत पैसा कति लिनु हुन्छ वा तपाईंको फुकफाक गर्ने रेट कति हो भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, 'मेरो कुनै रेट छैन । हुनेले जति दिए पनि लिन्छु, नहुनेले नदिए पनि मलाई दुखमनाउ छैन ।' यो पेशा र छोराहरुको कमाइ जोड जाड गरेर भरखरै राजधानीमै एउटा घर किनेको पनि ढुङ्गानाले सुनाए । आफ्नो आम्दानीले नै घर खर्चसमेत चल्ने गरेको उनी बताउँछन् ।

के केको चाही उपचार गर्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् "अप्रेशन गर्नुपर्ने रोगको उपचार मबाट सम्भव हुँदैन । अन्य असाध्य रोग जो डाक्टरी औषधि नै नखाई हुँदैन तिनीहरुको पनि म उपचार गर्दिन तर अन्य रोगको म उपचार गर्छु । मैले गरेको उपचारबाट अहिलेसम्म असन्तुष्ट भएको मैले चाहिं सुनेको छैन ।" उनले चामलबाट जोखाना हेर्ने, फुकफाक गर्ने, बुटी बाध्ने लगायतका काम अहिले गरिरहेका छन् । उनले फुकफाकसहित कहिले काहिँ श्राद्ध तथा पूजालगायतका धार्मिक कार्जे पनि गरिदिने गरेका छन् ।

राजधानीमा बसेर धामी व्यवसाय गरिरहेका उनै गोपीनाथ ढुङ्गानासँग हाम्रा साथीहरु तेजन खड्का र हरि कोइरालाले गरेको छोटो कुराकानीको

भिडियो हेर्नुहोस्:

यसमा तपाईंको मत

मनोरञ्जन

थप