रोजगार

कुलुङ समुदायका युवाहरुको सरकारी सेवामा आकर्षण बढ्यो

सृष्टि सुनुवार, सोलुखुम्बु, १९ पुस, सोलुखुम्बुका कुलुङ समुदायका युवाहरुको सरकारी सेवा क्षेत्रमा पछिल्लो समय आर्कषण बढेको पाइएको छ । चेतना स्तरमा अभिवृद्धि भएसँगै कुलुङ समुदायका युवाहरु यस क्षेत्रमा प्रवेशका लागि अघि सरेका हुन् ।

जिल्लाको कोशीपारी महाकुलुङ क्षेत्र भनेर चिनिने कुलुङ जातिको मुख्य बसोबास रहेको बुङ, छेस्काम, गुदेल गाउँ विकास समितिका युवाहरु लोकसेवा आयोगले लिने परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गरिरहेका छन् ।

नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ सोलुखुम्बुका सचिव केडि कुलुङका अनुसार १० वर्ष अघिसम्म कृषि पेशामा मात्र आवद्ध रहेको सोलुका कुलुङहरु व्यापार व्यवसाय हुँदै सरकारी सेवा क्षेत्रमा प्रवेशका लागि तयारी गर्ने गरेका छन् । पछिल्लो समय शिक्षास्तर बढेकै कारण अध्ययनमा जोड दिँदै युवाहरुले अग्रजको प्रेरणाले आफ्नो पहुँच बढाउन तर्फ लागेको कुलुङहरुको युवा संघ किरात कुलुङ पपछा गुस्खम केन्द्रीय समितिका उपाध्यक्ष बादल कुलुङले जानकारी दिए ।

विसं २०६८ सालको जनगणना अनुसार सोलुखुम्बुमा करिब ९ हजार बढि जनसंख्या कुलुङहरुको छ । नेपाल भर १ लाख ५० हजारको हाराहारीमा कुलुङहरुको जनसंख्या रहेको कुलुङ संघले जनाएको छ । सरकारी सेवामा सर्वसाधारणको आकर्षण रहेको र त्यसमा पनि निजामती प्रशासनले नागरिक प्रशासनको ‘लिड’ गर्ने भएकाले यसप्रति आकर्षण धेरै हुने गरेको हाल जिल्ला वन कार्यालय सोलुखुम्बुमा कार्यरत खरिदार वुङ ३ का केडि कुलुङको भनाई छ । बढ्दो आर्कषण पछि चेतनास्तर अभिवृद्धि, आरक्षण सिटको व्यवस्था, अग्रजहरुको अभिप्रेरणा नै मुख्य कारण रहेको उनले उल्लेख गरे ।

पहुँचको आधारमा अन्य आदिबासी जनजातिको तुलनामा कुलुङ समुदाय धेरै पछि रहेको सामाजिक अगुवाहरुको भनाई छ । १० वर्ष अघिसम्म कुलुङहरुले घरमा शौचालय बनाएका थिएनन् । नेपाली भाषा शुद्ध बोल्न समस्या हुने थियो । यसरी शिक्षा नभएकैले पछिपरेका कुलुङ समुदाय अहिले अघि बढ्नुमा कुलुङ संघले चेतनास्तर बढाउनका लागि मुख्य भूमिका खेलेको सचिव कुलुङले दावी गरे । कुलुङ संघले कुलुङहरु पनि अगाडि आउनुपर्छ, पहुँच वृद्धि गर्नुपर्छ भन्ने मुद्दालाई मुख्य मुद्दाको रुपमा उठान गरेको छ । पहुँचमा वृद्धि गर्न राजनीति र प्रशासनिक संयन्त्र मुख्य माध्यम भएकाले प्रशासनिक संयन्त्रमा सहभागिता सुनिश्चित गर्न तर्फ आफूहरु लागेको कुलुङले बताए ।

वर्षेनी हुने लोकसेवा अयोग, शिक्षक सेवा आयोगको परीक्षामा सहभागि हुनेको संख्या बढ्दो छ । सोलुखुम्बुमा वुङ, छेस्कामका कुलुङहरु लोकसेवा आयोग परीक्षा पास गरी अहिले निजामति सेवामा विभिन्न कार्यालयमा कार्यरत छन् । प्रशासनिकसँगै श्रेणीविहीन तहमा पनि उनीहरु कार्यरत रहेको नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ सोलुखुम्बले जनाएको छ ।

विसं २०६५ सालमा सुब्बामा वुङ ३ का शुक्र कुलुङ, २०६८ सालमा खरीदारमा छेस्कामका ध्रुव कुलुङ, छेस्काम ३ का अनुजंग कुलुङ यस्तै गरी छेस्काम ५ का रामकुमार कुलुङ, खरिदारमा छेस्कामकी सविता कुलुङले परीक्षामा सफल भई विभिन्न कार्यालयमा कार्यरत छन् । उनीहरुकै कारण गाउँमा अन्य युवाहरुले पनि अहिले पढाईमा जोड गर्न थालेको पाइएको छ ।

आर्कषण बढ्दै गएपछि प्रतिस्पर्धाको स्तर पनि निकै बढेको अनुभवीहरुको भनाई छ । चाहनासँगै दृढ संकल्पले मात्र सफलता हासिल गर्न सकिने उनीहरुको ठहर छ । विषयगत रुपमा हरेक विषय गणित, विज्ञान तथा अङ्ग्रेजी लगायत सबै विषयमा राम्रो दख्खल राख्नुपर्ने हुन्छ । आफ्नो क्षमतासँगै प्रतिस्पर्धीको समेत क्षमता आँकलन गरी तयारी गरे सफल हुन सकिने नेपाल किरात कुलुङ भाषा तथा संस्कृति उत्थान संघ सोलुखुम्बुका सचिव केडि कुलुङले बताए ।

यसमा तपाईंको मत

सम्बन्धित सामग्री

थप

धेरै पढिएको

थप

मनोरञ्जन

थप