मनोरञ्जन

अब सम्झनामा मात्रै वरिष्ठ गायक 'रुवी जोशी'

काठमाडौँ, ११ मङ्सिर, वरिष्ठ गायक रुवी जोशीको ७३ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि अस्वस्थ्य रहेका जोशीको मङ्सिर १० गते शुक्रबार काठमाडौँमा निधन भएको हो । जोशीका 'सितलु माथि नि सितलु भयो...', 'तिम्रो पनि माया लाग्छ...', 'मैंले जस्तै तिमीले पनि माया लगाई हेर...', 'एकान्त रात बीचमा...' आदि गीतहरू चर्चित छन् । जोशीको २००१ साल असार १ गते काठमाडौँमा जन्म भएको थियो ।

पिता उस्ताद विष्णुलाल जोशीकै कारण रूवी जोशी २०१८ सालमा रेडियो नेपाल प्रवेश गरेको बताइन्छ । उनी आफ्ना काका वरिष्ठ गायक पुष्प नेपालीबाट गीत, सङ्गीतमा प्रभावित थिए । उनले नातिकाजी, शिवशंकर, नरराज ढकाल, बद्री उस्ताद आदि सङ्गीतका हस्तीसँग उठबस गर्ने राम्रो मौका पनि पाएका थिए । 
 
नेपाल खबर अनलाइनमा पत्रकार प्रभाकर गौतम लेख्छन् गायक जोशीले करिब तीन दशक राष्ट्र बैंकमा जागिरे जीवन बिताएका थिए । रेडियो नेपालमा एक सामान्य गायकबाट प्रवेश गरेका उनी निर्देशक समेत भए । २०४५ सालमा निर्देशक भएको बेला गायक, गीतकार र सङ्गीतकारका लागि एउटा गीत बराबर दिइने ५० रुपैयाँ पारिश्रमिकलाई बढाएर ५०० बनाएर उनले उदाहरणीय काम पनि गरे । अझ त्योभन्दा महत्वपूर्ण काम थियो, रेडियो नेपालमा नबजेका गीतका रेकर्ड खोज्न लगाइ तिनको संरक्षणमा चासो दिनु । 

सङ्गीतकार टीका भण्डारी रुवी जोशीलाई यसरी सम्झन्छन्
दु:खका साथ भन्नुपर्छ 
यो साल ईश्वरले कलाकारहरुलाई न्याय गरेनन्,
नसुन्नु पर्ने खबरहरु सुन्नु परिरहेछ... 
सितलु माथि नि सितलु भयो नि लौ लौ लौ बरैको छायाँले, तिम्रो पनि माया लाग्छ, मैंले जस्तै तिमीले पनि माया दिएर हेर, एकान्त रात बिचमा आदि अमर गीतका गायक जोशी हामी बिच अब रहनु भएन । उहाँले मेरो पनि संगीतमा दीपक जडीतको रचना 'लगिदे हावा यो खबर उनलाई' एउटा अमर गीत गाउनु भएको छ । यहि नै अन्तिम चिनो भयो मेरो लागि पनि । विसं २००१ साल असार १ गते जन्मिएका गायक रुबीको ७३ वर्षको उमेरमा निधन भएको हो।
उस्ताद विष्णुलाल जोशीका छोरा रूवी २०१८ सालमा रेडियो नेपाल प्रवेश गरेका हुन् । रवीन्द्र शाहको 'रानी तलाऊ किनारा' तथा डा राममान तृषितको 'तिम्रो पनि माया लाग्छ' गीत पनि उत्तिकै चर्चित थियो भने किरण खरेलको शब्दमा 'आशा हजार मरेर' नै मेरो गीतको जन्म भएको छु, उनको अर्को चर्चित गीत हो । संगीत बाहेक उनले आफ्नो सम्पूर्ण जीवन बैकिङ् क्षेत्रमा बिताए । कसै कसैले उनलाई बैङ्केश्वर समेत भन्ने गरेका थिए । उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु, शोक सन्तप्त परिवारजन प्रति गहिरो समबेदना प्रकट गर्दछु ।

संचारकर्मी रमा सिंह पागल अंकल भनेर सम्झिन्छिन् रुवी जोशीलाई
रूवी जोशी - पागल अंकल 
२०३६ सालतिरको एक प्रसंग, बुवाको साथ रेडियो नेपालको हाल पुरानो, त्यो बेलाको नयाँ स्टुडियोमा शैक्षिक कार्यक्रम रेकॉर्ड गर्न स्टुडियो नम्बर ४ मा थियौ । म कन्ट्रोल रुममा बसेर रेकॉर्ड गरिएको कार्यक्रम सुनेर बसेको थिए । त्यतिनै बेलामा गायक द्वय रुबी जोशी र पुष्प नेपाली कन्ट्रोल रुममा आउनु भयो उहाँहरु 'शितलु माथि नि शितलु भयो नि' गीत गुनगुनाउदै हुनुहुन्थ्यो । गीत सुन्नासाथ मैले उहाँहरुलाई यो गीत त मेरो मुवाको फेभरेट गीत हो रेडियोमा कसले गाएको भनेर सोध्दा उहाँहरु दुवै मज्जाले हास्नु भो अनि त्यतिनै बेला रुबी जोशी ज्युले 'नानी भरे घर गएर मुवालाई भन्नु कि मैले आज यो गीत गाउने २ जना पागललाई भेटें भनेर' त्यसपछि उहाँहरु सँगैसँगै कार्यक्रम रेकॉर्ड गरेर बस्नु भएका प्राविधिक ( त्यतिबेला त्यही भानिन्थियो) सुदन खत्री दाइ पनि हास्न थाल्नु भो । सबै हासेको देखेर भित्र कार्यक्रम बारे बोलिरहनु भएका मेरो बुवा बिबि सिंह र कुबेर गड्तौला अङ्कल बोल्न छोडेर बाहिर आउनु भयो र एकपल्ट फेरी हासो गुञ्जयमान भयो ४ नम्बर स्टुडियोमा । त्यो दिनदेखि मैले जहिले जहिले उहाँलाई भेटे पागल अंकल नै भन्थेँ । त्यसको धेरैपछि मैले उहाँलाई नेपाल टेलिभिजनमा भेटदा उहाँ आफैंले भन्नु भयो अहिले पनि म पागल अंकल नै हुँ ... हामी मज्जाले हास्यौ...
आज सुन्दैछु मेरो पागल अंकल रहनु भएन रे ...!
उहाँको सम्झनामा उहाँका गीतहरु सुनेर हार्दिक श्रध्दान्जली अर्पण गर्दछु...
उहाँको मलाइ अति नै मन परेको ३ वटा गीत यहा उल्लेख गर्न चाहन्छुस् 
उकाली ज्यानको चिप्लेटी ढुगा कान्छी मट्याङ्ग ट्याङ्ग... 
शितलु माथि नि शितलु भयो नी...
मैले जस्तै तिमीले पनि माया लगाई हेर नमेटिने चिनो मेरो मुटु भित्र कोर...


साहित्यकार, गीतकार उषा शेरचनको सम्झनामा रुवी जोशी यसरी आए
भावपूर्ण श्रद्धाञ्जली रुबी दाइ 
अत्यन्तै शालीन ब्यवहारका धनी अग्रज गायक रुवी जोशी दाजुले मेरो राष्ट्रिय गीतको सङ्गालो एल्बम ‘मेरो माटो मेरो गीत’ बुलु मुकारुङ्ग भाइको सङ्गीतमा एउटा गीत गाउनु भएको थियो । पछि दाजुसँग भेट हुदाँ उहाँले मलाई उक्त गीत अत्यन्तै मनपरेको कुरा भनिरहनु हुन्थ्यो । बिमार भइसकेपछि एकदिन अचानक अस्पतालमा भाउजुका साथमा भेटेकी थिएँ । त्यही नै अन्तिम भेट रह्यो ।
दाजुको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । जमुना भाउजु लगायत शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै उहाँले गाउनु भएको गीत उहाँमैँ समर्पित गर्न चाहन्छु !
गीत
उषा शेरचन
आफ्नो देशभन्दा माथि अरु कोही हुन्न
देशभक्ति भन्दा ठूलो अरु केही हुन्न
स्वर्ग पाए पनि जान्न नेपाललाई छाडि
मीठो पाए पनि खान्न अरुसंग मागि
त्यसैले त संतोषको पिठो खान्छु म त
आफ्नै रगत पसिनाले सिंचाउँछु खेत
विश्वसामु उभ्याउन एउटै बुद्ध प्रशस्त छ
विश्वमाझ चिनाउन सगरमाथा पर्याप्त छ
त्यसैले त मेरो नेपाल बचाइ राख्छु म त
परिआए आफ्नै शिर चढाउँछु भेट ।

यसमा तपाईंको मत

धेरै पढिएको

थप

मनोरञ्जन

थप