वीरगञ्जमा नेपाली थिएँ, काठमाडौँ आएपछि भारतीय भएँ : विजयकान्त लाल कर्ण

अन्तर्वार्ता ब्रेकिंग न्युज मुख्य समाचार विषेश समाचार

वि.सं. २०४० को सुरुमा अखिल केन्द्रीय कमिटीको चुनाव भयो । तर म नयाँ कमिटिमा परिनँ । २०४० सालमै म कीर्तिपुर क्याम्पसमा भर्ना हुन आएको थिएँ । सोही समयमा डा. हर्क गुरुङले राष्ट्रिय, अन्तर्राष्ट्रिय आप्रवासन प्रतिवेदन जारी गरे । उनको प्रतिवेदनमा मधेसमा बस्नेलाई भर्खर भारतबाट आएका भनियो । त्यही रिपोर्ट मालेले स्वीकार गर्यो । म वीरगञ्जमा बस्दा नेपाली थिएँ । काठमाडौँमा आउँदा इण्डियन धोती भएँ । काठमाडौँमा धेरै ठूलो विभेद रहेछ भन्ने बुझेँ । त्यही कारणले २०४२ सालको अन्तिममा मैले पार्टी छोडेँ । त्यसपछि विराटनगर गएँ । त्यहाँ मदन भण्डारी र सुमन प्याकुरेलसँग मेरो लामो र गम्भीर कुरानकानी भयो । तर मैले मेरो निर्णय फिर्ता लिइन । त्यसबेला म युवा लिगमा थिएँ । त्यतिबेलादेखि अहिलेसम्म पनि म कुनै पार्टीसँग सम्बन्धित छैन ।

हामीलाई काठमाडौँमा भारतीय राजदूतावासको दलाल भन्थे । तर मैले दूतावास देखेको थिइँन । कुनै पार्टीमा नभए पनि स्वतन्त्र रुपमा म २०४६ सालको आन्दोलनमा लागेँ । मधेसमा भएको विभेदबारे हामीले विभिन्न कार्यक्रम गर्यौँ । म त्यतिबेला अखिलका नेताहरुसँग भने सम्पर्कमा थिएँ । अखिलका अध्यक्ष टंक कार्कीसँग मेरो राम्रो सम्बन्ध थियो । 

संस्थागत रुपमै अधिकारको पक्षमा
सन् २००४ को अन्तमा जागृत नेपाल नामको मधेसमा काम गर्ने संस्था खोलेँ । मधेसीको बारेमा, उनीहरुको अधिकारको बारेमा बोल्ने यो एउटा मात्रै गैरसरकारी संस्था थियो । म त्यसको अध्यक्ष थिएँ । विभिन्न ठाउँमा मान्छे राखेर मैले काम गरेँ । २०६३ को अन्त्यमा प्रत्येक पार्टीका मधेसका नेताहरुलाई बोलाउँथ्यौँ । मधेसको कुरामा सामूहिक स्वर होस् भनेर हामी बोलाउँथ्यौँ । 
वि.सं. २०६३ को अन्तरिम संविधान मधेसले मानेन । ३६ जना मान्छे आन्दोलनमा मारिए । मैले ५५ जना मधेसका सांसद राखेर प्रधानमन्त्री र मन्त्रीलाई ज्ञापनपत्र बुझाउन आफैँ पत्र लेखेँ । त्यतिबेला जयप्रकाश गुप्ता, मातृका यादव, अमरेश कुमार सिंह, विजयकुमार गच्छेदार, महेन्द्र राय यादव मधेसकालागि काम गरिरहनु भएको थियो । मलाई मधेसको बारेमा जान्ने रहर थियो । यही सिलसिलामा इण्डिया पुगेर उपेन्द्र यादवलाई भेटेँ, मधेस आन्दोलनका क्रममा धेरैँ ठाउँमा पनि गएँ । भारत गएर पनि बसेँ । 

विभेद सिकाउने अचम्मको चलन
म टिभीमा अन्तर्वार्ता दिन जाँदा तपाईं पहिले नेपाली की मधेसी भनेर प्रश्न गरिन्छ । यस्तो पनि प्रश्न हुन्छ ? म मधेसको हुँ, पहिले मधेसी अनि पो नेपाली । एउटा मान्छे कसैको छोरो हुन्छ, कसैको ज्वाइँ, भतिजो हुन्छ, अनि उ परिवारको हुन्छ, अनि समाजको हुन्छ, अनि पो देशको हुन्छ । मजस्तो भाषा बोल्ने भारतमा पनि छन् । मेरो संस्कृति मिल्ने भारतमा पनि छन् । ऊ नेपाली होइन भारतीय हो । उसलाई कसैले इण्डियन होस् की बिहारी भनेर कसैले सोध्दैन । हामीमा विभेद सिकाउने अचम्मको चलन छ । म झण्डै साठी वर्ष पुगेँ । १८ वर्षदेखि राजनीतिमा लागेँ । ४० वर्ष भयो होला, उत्तिबेला पनि यही मुद्दा थियो अहिले पनि उही विभेदको मुद्दा छ । परिवर्तन भयो तर कस्मेटिक भयो । कसैले यथार्थ स्वीकार्न चाहँदैन । यस्ता कुरा गर्दा जनता भड्काउन, देश टुक्रयाउन खोज्यो भन्छन् मलाई । नेपाली सेना र पुलिसले देश चलाउने बचाउने हो ? कि जनताले हो ? त्यसैले नेपाली जनता सबैको कुरो समान रुपमा स्वीकार गरियो भने त्यो राम्रो ।

नेपाली राष्ट्रवाद
नेपालको वर्तमान राष्ट्रवादको सोच एकदमै गलत छ । राष्ट्रवाद आफैंमा गलत कुरा हो । देशभक्ति, परिवारभक्ति, समाजभक्ति म मान्छु तर राष्ट्रवादलाई कुनै पनि देशका शासकले अधिनायकवादी शासन सत्ता टिकाउन र मान्छे मार्न प्रयोग गर्ने गरेका छन् । चाहेँ त्यो हिटलर होस् वा अरु । पहिले राजा महेन्द्रले राष्ट्रवादको कुरा ल्याए । एउटा भाषा, एउटा भेषको कुरा आयो । यसले पनि द्वन्द्व बढाउने काम गर्यो ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको नेपाल महेन्द्रले भनेको नेपालजस्तो हो । आजको नेपालमा मेरो नामबाट नागरिकता दे भनेर महिला उठ्दैछन्, लड्दैछन् । मधेसको मान्छेलाई नागरिकता दियो भने उसका ज्वाइँ, भान्जाभान्जी, इष्टमित्र फर्केर आउँछन् भन्ने डर छ सरकारलाई । नेपालको सुरक्षा खतरा भनिन्छ यसलाई । जुन मुलुकले आफ्नै देशका नागरिकसँग खतरा देख्छ त्यो मुलुकले कहिले प्रगति गर्छ ? भारतमा लुङ्गी, धोती, फेटा लगाए पनि केही मतलब छैन । त्यो देश पो मजबुद हामी कसरी मजबुद ? 

मधेसका समस्या समाधानको प्रयास

त्यतिबेला मधेसमा शसस्त्र समूह थिए । मलाई ती समूहसँग वार्ताको समन्वय गर्ने प्रस्ताव सरकारबाटै आयो । मैले नगेन्द्र पासवान (ज्वालासिंह) र जयकृष्ण गोइत (गोइतसमूह) सँग सहजकर्ताको भूमिका निर्वाह गरेँ । तर सरकारसँग वार्ता मिलेन । कांग्रेस र कम्युनिष्ट उनीहरुको कुरो सुन्न तयार थिएनन्, माओवादी पनि थिएन । त्यसैले वार्ता विफल भयो ।

पद्यरत्न तुलाधरले मधेसका मान्छेलाई जगाउनु भयो । कमजोर स्वास्थ्य भए पनि तुलाधर त्यसबेलाका मधेस आन्दोलनका घाइतेलाई भेट्न अस्पताल पुग्नु भयो । उहाँ मधेसलाई सम्मान गर्नुहुन्थ्यो । उहाँलाई पनि मधेसमा सबैले सम्मान गर्छन् । म समय–समयमा जनजाति, आदिवासी, महिला, मधेसीको बारेमा कुरा उठाउथेँ । त्यसैले पनि समय–समयमा भेट हुँदा तुलाधरले माओवादीले जनयुद्धका एजेण्डा छाडे भनेर पिर मान्नु हुन्थ्यो । २०१४ मा उहाँले विप्लवसँग पनि भेट गर्नुभयो । मधेसका मुद्दा र जनआन्दोलनका विषयमा धेरै छलफल भए तर विप्लव उहाँका कुरा मान्न तयार हुनुभएन । विप्लव संसदीय व्यवस्थाको विरोधमा लागिहन्छु भन्नुहुन्थ्यो । अहिले पनि त्यहि अवस्था छ । दमननाथ ढुङ्गाना पनि उस्तै राम्रो मान्छे हो । उहाँ पनि मधेस र मधेसीलाई बुझेको मान्छे हो ।

अबको बाटो 
मैले के देखेँ भने । लोकतन्त्रको लडाइँमा पछाडि पारिएका समूदायको दुरुपयोग गरे कांग्रेसले पनि कम्युनिष्टले पनि । त्यो सबै सत्ता प्राप्तिको लागि मात्रै भयो । ती सबै समूदायलाई पत्ता लगाउनुहोस्, उनीहरुको अवस्था कस्तो छ । माओवादी जनयुद्धमा सबैभन्दा धेरै मगर, गुरुङ, थारु, तामाङ मरे बाहुन क्षेत्री कम मरे । २०४६ सालमा धेरै दलित मरे । पछाडि पारिएकाहरु नेताको पछिपछि कुद्छन् तर पछि फेरी दलित नै हुन्छन्, मधेसी हुन्छन्, थारु हुन्छन् । के देखियो भने सबै आन्दोलनको प्रयोग राजनीतिक दल र नेताहरुले व्यक्तिगत स्वार्थ र ती मान्छेमा अन्याय गर्नमा प्रयोग गरियो । अब फेरि मधेसी, जनजातिको, दलितको आन्दोलन हुन्छ । नेपालमा राजनीतिक समस्या छ । यो समाधान नगरी हुन्न ।

पछाडि पारिएका समुदायसँग बातचित गर्ने, समस्या सुन्ने गरेर समाधानमा लाग्नु पर्छ । अहिलेको सरकारसँग ठूलो मौका छ, दुई तिहाइको सरकार छ । चाहेको बेला संविधान संशोधन गर्न सक्छ । अहिलेको सरकारले कांग्रेस, मधेसी, जनजातिसँग बसेर वार्ता गरेर कुरो मिलाउनु पर्छ । नेपालको सीमाभित्र बसेर मागेजति सबै दिनुपर्छ । अनि समस्या समाधान हुन्छ ।

(त्रिभुवन विश्वविद्यालय, राजनीतिशास्त्र शिक्षा विभागका प्राध्यापक विजयकान्त लाल कर्णसँग गरिएको कुराकानीमा आधारित –सम्पादक)