कविशिरोमणि लेखनाथ पौड्यालको १३६ औँ जन्मजयन्तीमा प्रवचन

मुख्य समाचार साहित्य

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा कविशिरोमणि लेखनाथ पौड्यालको १३६औं जन्मजयन्ती प्रज्ञा भवनमा प्रवचन कार्यक्रमको आयोजना गरी मनाइयो । प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो– “नेपाली साहित्यमा भानुभक्त र मोतीरामपछि उदाएका पौड्यालको योगदान विशेष गरी कविता विधामा उल्लेखनीय रहेको छ ।” उहाँले ६५ वर्षअघि हालको सैनिक मञ्च रहेको टुँडिखेलमा नेपाली शिक्षा परिषद्को आयोजनामा कविशिरोमणिको भव्य नागरिक रथारोहण गरिएको स्मरण गर्दै त्यो रथारोहण नेपालकै साहित्यिक इतिहासमा पहिलो पटक भएको बताउनुभयो ।


“नेपाली कवितासाहित्यको उन्नयनमा पौड्यालले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उबेला नै लेखनाथ पौड्यालले साहित्यमन्दिरको अवधारणा ल्याउनुभएको थियो, उहाँको सपना २०१४ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना भएपछि साकार भयो ।” जोशीले राष्ट्र निर्माणमा साहित्यकारले खेलेको भूमिकालाई अवमूल्यन गर्न नहुने धारणा राख्नुभयो ।


नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति एवम् कार्यक्रमका सभापति सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले कविशिरोमणि लेखनाथ पौड्यालले लेखेका कविता नेपालीकविता साहित्यमा लालित्य र परिस्कृतिका हिसाबले अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– “लेखनाथको तरुणतपसी काव्यकृतिलाई भाव नमर्ने गरी अङ्ग्रेजीमा राम्रो अनुवाद गराएर पठाएको भए नोबेल पुरस्कार पाउन सक्थ्यो ।” नेपाल प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्य समेत रहनुभएका कविशिरोमणिमा प्राणीवादी दर्शन, आध्यात्मिक चिन्तन र सर्वोदय भावना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– “लेखनाथ चर्मचक्षुले मात्रै नभएर मर्मचक्षुले देखेर लेख्ने स्रष्टा हुनुहुन्थ्यो ।”


कार्यक्रमका संयोजक एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले स्वागत मन्तव्यका साथै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै भन्नुभयो– “कविशिरोमणि लेखनाथ पौड्याल युगचेतना भएका कवि हुनुहुन्थ्यो । उहाँका रचनामा अध्यात्म, मानवता, सामाजिकताका साथै सांस्कृतिक रूपान्तरणका सन्देश पाइन्छन् । उहाँलाई सांस्कृतिक रूपान्तरणका काव्यिक अभियन्तासमेत भन्न सकिन्छ ।” उहाँले पौड्याल नेपाली काव्यसाहित्यको परिष्कारवादी धाराका थालनीकर्ता, आधुनिक युगको जन्मदाता, आध्यात्मिक तथा सांस्कृतिक पुनर्जागरण ल्याउने आध्यात्मिक एवम् मानवतावादी कविका रुपमा नेपाली साहित्यमा अमर रहेको बताउनुभयो ।


कार्यक्रममा कविशिरोमणिबारे विशेष प्रवचन दिँदै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले कविशिरोमणि पौड्याल नेपाली काव्यसाहित्यलाई विश्वस्तरमा उठाउने कवि भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– “लेखनाथ पुरानामध्येका नयाँ, अहिलेको पुस्ताका मार्गदर्शक कवि हुनुहुन्थ्यो, उहाँको उपस्थितिले नै नेपाली कवितासाहित्यलाई समृद्ध बनायो । अन्नपूर्ण हिमालजस्तै सुन्दर कविता लेखेर पौड्यालले कास्कीको महिमा बढाउनमा पनि ठुलो भूमिका खेल्नुभएको छ ।’’


कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसालले कविशिरोमणि पौड्याल निकै चलाख र चातुर्य व्यक्ति भएको आफूले बुझेको बताउनुभयो । उहाँले आफूले पौड्यालसँग विभिन्न समयमा पत्रिकाका लागि अन्तरवार्तासमेत लिने अवसर पाएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो– “तत्कालीन राजा त्रिभुवनले लेखनाथलाई उहाँको कविताबाट प्रभावित भएर ‘कविशिरोमणि’को उपाधि दिनुभएको थियो । लेखनाथ आफैँ पनि मावनतावादी भावनाका हुनुहुन्थ्यो ।”


कार्यक्रममा कविशिरोमणिका काव्यसिर्जनासमेत वाचन गरिएको थियो । कविहरू लक्ष्मी गौतमले सत्य सन्देश, रञ्जना आत्रेयले चरीको विलाप, देवु लुइटेलले वसन्त कोकिल, रुपक अलङ्कारले धनमहिमा र बुद्धि तिमल्सिनाले कालमहिमा वाचन गर्नुभएको थियो ।


वि.सं. १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौंअर्चलेमा पौष शुक्ल एकादशीका दिन जन्मिनुभएका पौड्यालको निधन २०२२ साल फागुन ७ गते ८१ वर्षको उमेरमा चितवनको देवघाटमा भएको थियो । उहाँका ऋतुविचार (खण्डकाव्य), वुद्धिविनोद (कविताकृति), सत्यकलि संवाद (कविताकृति), सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली (कविताकृति), तरुण तपसी (नव्यकाव्य), लक्ष्मीपूजा (नाटक), गौरीगौरव (नाटक), लालित्य (कविता कृति दुई भागसम्म) आदि प्रकाशित छन् ।