नेपाली भाषामा स्वराङ्कित चिनिया टिभी सिरियल ‘पश्चिमतिरको यात्रा’ को तेश्रो प्रसारण शुभारम्भ

कला/संस्कृति मनोरञ्जन विषेश समाचार

काठमाडौं, १३ मंसिर, २०७६ । नेपाली भाषामा स्वाराङ्कन गरिएको अति लोकप्रिय चिनिया टिभी सिरियल ‘पश्चिमतिरको यात्रा’ को तेश्रो प्रसारणको बुधबार शुभारम्भ गरिएको छ । अरनिको समाजले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले काठमाडौं अनामनगरस्थित तमु(बौद्ध सेवा समितिमा सो धारावाहिक प्रसारणको शुभारम्भ गरेका हुन् ।

सो समारोहलाई सम्बोधन गर्दै जोशीले “जोर्नी टु द वेष्ट” अत्यन्त महत्वपूर्ण दर्शनले भरिएको उपन्यास भएको जानकारी दिए । यस उपन्यासलाई टिभी सिरियल बनाईनु र सो चिनिया भाषाको सिरियललाई नेपाली भाषामा स्वाराङ्कन गर्न अरनिको समाजले निर्वाह गरेको भूमिकाको उउले प्रशंसा गरे । जोशीले यस टिभी सिरियलको माध्यमबाट नेपाली जनताले चीनको धर्म तथा संस्कृतिको बारेमा अझ धेरै जानकारी हासिल गर्ने र दुई मुलुकबीचको सम्बन्ध अरु प्रगाढ हुने विश्वास पनि व्यक्त गरे ।

समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले यही हप्ताबाट उक्त सिरियल इन्डिजिनियस टेलिभिजन र नेपाल मण्डल टेलिभिजनबाट प्रसारण गर्ने जानकारी दिए ।

चीनको केन्द्रीय टेलिभिजन (सिसिटिभी) ले सन् १९८६ मा निर्माण गरेको उक्त टिभी सिरियल नेपाली भाषामा स्वाराङ्कन गरी तेस्रोपटक नेपाली टेलिभिजनमा प्रसारण हुन लागेको हो । यसअघि नेपाल मण्डल टेलिभिजनबाट दुईपटक उक्त सिरियलको धारावाहिक प्रसारण गरिसकेको समाजले जनाएको छ । समाजले करिब चार वर्षअघि सिसिटिभीको अनुमति लिएर सिरियलको नेपाली अनुवाद र स्वाराङ्कन गरेको थियो ।

समारोहमा नेपाल मण्डल टिभी च्यानलका प्रमुख कार्यकारी अधिकृत कुमार महर्जन, इन्डिजिनियस टिभी च्यानलका प्रबन्ध निर्देशक जगत दोङ, स्वाराङ्कन समूहका प्रतिनिधि विजय रत्न तुलाधरले “जोर्नी टु द वेष्ट” को प्रसारणले नेपाल र चीनबीच ऐतिहासिक कालदेखि कायम रहँदै आएको सम्बन्धलाई जनस्तरसम्म अभिवृद्धि गर्न तथा चीनको बारेमा धेरै जानकारी लिन नेपाली जनतालाई मद्दत गर्ने विश्वास व्यक्त गरे ।

चिनिया प्रसिद्ध बौद्ध भिक्षु स्वान चाङ “हुएन साङ” चीनबाट भारतको नालन्दा विश्वविद्यालय तथा नेपालको कपिलबस्तु आई बौद्ध ग्रन्थ लिएर गएको घटनालाई मुख्य कथावस्तु बनाई करिब ५०० वर्ष अघि चिनियाँ उपन्यासकार ऊ छङ्एनले लेखेको शास्त्रीय उपन्यास ‘सि यउ चि’मा यो सिरियल आधारित छ र यसमा केही दन्त्यकथा र काल्पनिक घटना पनि जोडिएका छन् ।

यो टिभी सिरियल चीनमा मात्र विभिन्न टिभी स्टेसनबाट तीन हजार पटकभन्दा बढी प्रसारण भइसकेको बताइएको छ ।