मदनमणिको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने

कला/संस्कृति मुख्य समाचार साहित्य

काठमाडौँ, ३० साउन, २०७६ । ९७ वर्षको उमेरमा निधन भएका साहित्यकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने भएको छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने बताएका हुन् ।

‘नेपालको इतिहासका जीवन्त साक्षी मदनमणि दीक्षितको निधनमा दुःख व्यक्त गर्दै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’ उनले भनेका छन् ।

दीक्षितको निधनको खबरले आफूलाई स्तब्ध बनाएको पनि मन्त्री भट्टराईले बताएका छन् । ‘२००७ साल अघिको जहानीयाँ राणा शासन विरोधी आन्दोलन तथा पञ्चायत विरोधी प्रजातान्त्रिक आन्दोलनमा स्व. मदनमणि दीक्षितले खेल्नु भएको भूमिका सदा स्मरणीय छ’ उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक नेता स्व. पुष्पलालको नेतृत्वमा कम्यूनिष्ट आन्दोलनको विस्तारमा उहाँको सक्रियता हाम्रा लागि प्रेरणादायी रहिरहने छ ।’

नेपाल पज्ञा प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी समेत निर्वाह गरेका दीक्षितले नेपाली साहित्य,संस्कृति तथा इतिहासको भण्डारमा अतुलनीय योगदान पुर्याएका छन् । उनको बिहीबार बिहान करिब ४ बजे आफ्नै निवास कालिकास्थानमा निधन भएको हो ।