रक्षाबन्धन/जनैपूर्णिमाको सांस्कृतिक र ऐतिहासिक महत्व

कला/संस्कृति मुख्य समाचार विषेश समाचार

आज रक्षाबन्धनको चाड मनाइने दिन हो । वर्ष चक्रका रक्षाबन्धन, विजयादशमी, लक्ष्मीपूजा र होलीजस्ता प्रमुख मानिने चाडमा यो पहिलो अनुक्रममा पर्दछ । सनातन परम्परानुयायी तागाधारीहरूको समाजमा प्रत्येक वर्ष श्रावणपूर्णिमाका दिन मनाइने विशेष चाड हो यो । विशुद्ध धार्मिक र सांस्कृतिक परम्परामा आधारित यस चाडका मूलका रूपमा थुप्रै पौराणिक घटना अघि सार्ने गरिन्छ । तीमध्येका केही घटनाको उल्लेख यहाँ पनि गरिएको छ ।


ब्रह्माजीको मुखबाट अवतरित केही ऋषिहरूले पृथ्वी, जल, तेज, वायु र आकाशजस्ता पञ्च तत्त्वको दिग्बन्धन श्रावण शुक्लपूर्णिमाका दिनमा गरेकाले तिनका प्रतिको कृतज्ञता स्वरूप यस दिन ऋषितर्पण गर्ने चलन छ । जीवनदानद्वारा उपकार गर्ने देवगण, जीवनसृष्टिद्वारा उपकार गर्ने मातापिता र जीवनमा अपनाउनु पर्ने बाटो देखाउने सत्कार्यद्वारा उपकार गर्ने ऋषिगणमध्ये पछिल्ला उपकारी अर्थात् ऋषिगणले लगाएको ऋण केही मात्रामा भए पनि तर्पण दिएर कम गराउने उद्देश्यले तागाधारीहरूको समाजमा यो पर्व चलाइएको हो ।


दैत्यराज बलिबाट तिनै लोक दानमा लिई तिनलाई पाताललोक निर्वासित गर्न सफल भएका वामनावतार भगवान विष्णुले देवराज इन्द्रलाई निर्भय तुल्याएको दिनका रूपमा पनि यो चाड मनाइन्छ । बलि राजाको दानशीलताको बोध गराउँदै दानी, सत्यव्रत एवं विचारवान् हुने कामनाका साथ येन बद्धो बलि राजा… उच्चारण गरेर यस दिन पुरोहितहरूले प्रत्येक यजमानका हातमा रक्षासूत्र बाँध्ने कारण पनि यही हो । यसैलाई रक्षाबन्धन भनिन्छ ।


सनातन परम्परानुयायीहरू वर्षचक्रका सबै पूर्णिमालाई धार्मिक मान्यताका साथ पुण्य दिन मान्दछन् र यथाशक्य दानदक्षिणा, कन्या तथा ब्राह्मणलाई भोजन, यज्ञ अनुष्ठानादिको आयोजना एवम् विविध सत्कार्यको कार्यान्वयनमा संलग्न हुन्छन्् । त्यसो भएर पनि यस पर्वको थप वैशिष्ट्य छ । यसलाई वर्णाश्रम धर्मको व्यवस्थानुसार पहिलो वर्ण अर्थात् ब्राह्मणहरूको चाड मानिन्छ । त्यसो त ब्राह्मणहरूले गर्ने यावत् कृत्य क्षत्रिय एवं वैश्यहरू पनि गर्दछन् तर यसका प्रमुख अनुयायीमा ब्राह्मण जातिकै गणना हुन्छ ।


यसलाई रक्षापुर्नेका साथै जनैपुर्ने, ऋषितर्पणी र बामनत्यार (ब्राह्मणको चाड) पनि भनिन्छ । प्राचीन कालको जस्तो तरिकाले वटुकहरूलाई यज्ञोपवीत धारण गर्न लगाएर गुरुकुलमा भर्ना गर्ने प्रवृत्ति आज नरहे पनि यज्ञोपवीत संस्कार सम्पन्न भइसकेका ब्राह्मण र क्षत्रियहरू यस दिन नयाँ जनै धारणा गर्दछन् ।


यस दिन व्रतबन्ध गरेका तागाधारीहरू बिहानै सामूहिक रूपमा पवित्र जलाशयमा भेला हुन्छन्् र स्नान, ध्यान गरी प्रायश्चित सङ्कल्प गर्दछन् । उक्त स्नान कुश, जौ, तिल, गहुँत, गोबर प्रयोग गरेर सम्पन्न हुन्छ । यस दिनको सामूहिक सङ्कल्प भक्ष्याभक्ष्य, स्पर्शास्पर्श, कर्तव्याकर्तव्यलगायतका समस्त ज्ञाताज्ञात दुष्कर्महरूको प्रायश्चितस्वरूप गरिने हुँदा निकै लामो अवधिसम्म चल्दछ । गाउँबस्तीका थुप्रै व्यक्तिको जमघट जलाशयमा हुने यस दिनको फाइदा उठाएर स्नान गर्नुभन्दा पहिले प्रायः जलाशयका छेउछाउमै हुने गरेका सार्वजनिक शौचालय र पँधेराहरूको सरसफाइ पनि गरिएको पाइन्छ ।


प्रायश्चित सङ्कल्प र देव, ऋषि तथा पितृ तर्पण समाप्त गरी शुद्ध जल भरेर जलाशयमा उपस्थित सबै जना गाउँको सबभन्दा जेठो व्यक्तिको पूजा कक्ष अथवा सार्वजनिक रूपमा सधैंभरि आयोजना गरी आएका धार्मिक कृत्य सम्पन्न गरिने ठाउँमा उपस्थित हुन्छन्् । त्यहाँ ऋषिको कुशको प्रतिमा बनाएर विधिपूर्वक पूजा गरिन्छ र प्रत्येकले बनाएका जनैहरूलाई अलग अलग गुच्छामा छुट्टिने गरी ऋषिको प्रतिमामा चढाई अभिषेक गरिन्छ । त्यसपछि अभिषेक गरिएका जनैहरूमा एउटा जनै पुरोहितलाई दिएर एउटा स्वयं धारण गरिन्छ । पुरोहितद्वारा प्रत्येक यज्ञमान र तिनको घरका सबै सदस्यका हातमा रक्षासूत्र बाँधिन्छ । यज्ञमानहरू पुरोहितलाई सिदा तथा दानदक्षिणा दिने काम समाप्त गरेर यस दिन एक छाक मात्र विशुद्ध शाकाहारी खाना खाइन्छ । माछामासु, लसुन, प्याज र त्यस्तै किसिमको तामसी मानिने खाद्य वस्तु यस पर्वमा सेवन गरिँदैन । यस पर्वको एक दिनअघि उपवास, मुण्डन र शारीरिक शुद्धि गरिन्छ ।


कतिपय ठाउँमा यस दिन स्थानीय देवताको वार्षिक तथा षाण्मासिक पूजा पनि गरिन्छ र सो खुसीमा जात्रा वा मेला लागेको समेत देखिन्छ । सर्वत्र वर्षा कालको हिलो र सिमसिमे पानी जम्ने हुनाले भेला भएर हाँसोखुसी मनाउने ठाउँ पाउन पनि यस बखत गाह्रो पर्दछ ।


गायत्री देवीको पूजाअर्चना गर्ने, यथासम्भव बढी मात्रामा गायत्रीको जप गर्ने, सूर्यको आराधना गरी जलधारा दिने, भिजाइएका गेडागुडीको रसयुक्त व्यञ्जन सेवन गर्ने काम पनि यस दिन हुन्छ । भारत र नेपालका सीमावर्ती क्षेत्रका केही नेपाली बस्तीहरूमा भारतीय समाजमा प्रचलित राखी बाँध्ने चलनले पनि दिनानुदिन प्रभाव पारेको देखिन्छ । राखी बाँध्नु भनेको दिदीबहिनीद्वारा दाजुभाइका दायाँ हातमा विशेष सज्जाका साथ बनाइएका पूmल बाँध्नु हो । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाए जस्तो चलन यो हो । मानवीय मूल्य र मान्यताका आधारमा भाइबहिनीको सुमधुर सम्बन्ध स्थापित गर्न यो चलन व्यवहारमा ल्याइएको देखिन्छ । तात्कालिक भारतको गुजरात प्रान्तका शक्तिशाली शासक बहादुर शाहले चित्तौडमा आक्रमण गर्दा त्यहाँका महारानी कर्णावतीले दिल्ली राज्यका सम्राट् हुमायुँलाई ‘राखी’ खामेर सहयोगको याचना गरी पत्र पठाएकी थिइन् । राखीको महत्त्व बुझेका हुमायुँले कर्णावतीलाई बहिनी मानेर सैन्य सहयोग प्रदान गरेका थिए । अकबर र जहाँगीर पनि हिन्दूहरूको यो चलन बडो श्रद्धापूर्वक मान्दथे र ब्राह्मणहरूद्वारा राखी बँधाउँथे भनिन्छ ।


भिजाइएका गेडागुडीको झोल सेवन गर्नुपर्ने यस दिनले शारीरिक शक्ति सम्वर्धनका निम्ति चाहिने पौष्टिक पदार्थप्रतिको सचेतता देखाउँछ । भोकतिर्खा केही नभनी सधैंभरि खेतीकै कार्यमा व्यस्त रहँदा किसानहरू यस बखत कमजोर बनेका हुन्छन्् । त्यस्तो परिस्थितिमा एकै दिन र एकै छाक भए पनि पोसिलो खाने कुरा खानु पर्ने चलन चलाएर यस चाडले समाजका सदस्यको स्वास्थ्यका बारेमा सोचेको देखिन्छ ।


यज्ञोपवीत धारण गर्नाले शक्ति र सामथ्र्य बढ्ने विश्वास गरिन्छ । यस दिन लगाएको डोरो वा रक्षासूत्र कात्र्तिक अमावस्या अथवा दीपावलीका दिन गाईको पुच्छरमा बाँधेमा मृत्युपछि वैतरणी नदी सजिलै पार गर्न सकिन्छ भन्ने मान्यता छ । यहाँनेर यज्ञोपवीतका बारेमा पनि सामान्य चर्चा गर्नु उचित हुन्छ ।
यज्ञोपवीत भनेको यज्ञ गर्नका लागि योग्य मानिने आधारको प्रतीक जनै हो । यज्ञ गर्नु भनेको पूजा, उपासना, हवन कार्य, तीर्थ, व्रत र धार्मिक अनुष्ठान गर्नु मात्र नभएर जीवनमा अपनाउनु पर्ने संयम, अनुशासन, धैर्य, क्षमाशीलता, साधना, अध्ययन, अनुसन्धान, त्याग, उदारता, प्रेम, सहयोग जस्ता समस्त सद्व्यवहार अवलम्बन गर्नु हो । मनले पाप नचिताउनु, इन्द्रियलाई वशमा राख्नु, शास्त्रले बताएको बाटोमा हिँड्नु, सुख, दुःख, निन्दा, स्तुति आदिबाट निर्लिप्त रहनु, अभिमान नगर्नु, सहृदयी हुनु, सरल बन्नु, ईश्वरप्रति आस्था राख्नु, धर्म गर्नु, विद्या आर्जन गरी रहनु, तपस्या गर्नु, ठूलाप्रति सम्मान र अनुजप्रति प्रेम गर्नु, सेवा कार्यमा लागी रहनु, सबैमा समान भाव राख्नु जस्ता काम मनुष्यले अपनाउनु पर्ने सदाचार हुन् । यिनै र यस्तै आचरणमा रहेर जीवनको सदुपयोग गर्नु नै यज्ञ गर्नु हो । त्यस्तो यज्ञ गर्न गराउनका लागि योग्य भएको कुराको प्रतीक जनै हो । वेदाध्ययनभन्दा पहिले विधिवत् यज्ञोपवीत संस्कार गर्नु आवश्यक मानिन्छ । साथै कुनै अर्को वेदको अध्ययन गर्दा पुनः शास्त्रीय मान्यताले बताए बमोजिम अर्को पटक यज्ञोपवीत संस्कार गर्नु पर्दछ । सामान्य व्यवहारमा प्रचलित यज्ञोपवीत संस्कार शुक्ल यजुर्वेदको अध्ययनका निम्ति गरिने विशेष अनुष्ठान हो । यज्ञोपवीतमा प्रयोग गरिने काँचो धागोको लमाइ, कताइ, मात्रा, सङ्ख्या, गाँठा, आकार तथा परिधानका नियमले जीवन व्यवहारका विभिन्न अनुशासनको बोध गराउँछन् । त्यसैले जनै धागो मात्र नभएर संस्कार हो, संयम तथा अनुशासनको प्रतीक हो र जातीय गौरव झल्काउने चिह्न हो । यसको धारण परम्परागत औपचारिकता मात्र नभएर व्यावहारिक विशिष्टता हो । पढिने वेदका लागि उपयुक्त पात्रत्व, चित्तको शुद्धि, वचनको शुद्धि र व्यवहारको शुद्धि जनाउने आधार यो हो । यसको परित्याग कुनै पनि दृष्टिले उपयुक्त हुन सक्तैन ।


यज्ञोपवीत संस्कार भई सकेका पुरुषले शास्त्रीय विधिको पालन गरी नित्य निर्दिष्ट समयमा गायत्री मन्त्रको जप गर्नुपर्ने नियममा बस्नु पर्दछ । मन्त्र भनेको मनमनै विशेष शब्दशक्तिको साधना गरी लगाइने मनोयोग हो । यसलाई प्रकट ध्वनिमा उच्चारण गर्दा एकाग्रतामा बाधा पर्ने, ध्वनिगत प्रकटीकरणका कारण अरूलाई व्यवधान हुने र अप्रकाशबाट भन्दा प्रकाशबाट प्रतिकूल प्रभाव पर्ने जस्ता विविध कारणले मन्त्रको जप मनमनै गर्नु उचित मानिन्छ । महर्षि विश्वामित्र द्रष्टा ऋषि भएको गायत्री मन्त्र शुक्ल यजुर्वेद वाजसनेयी माध्यन्दिन शाखा ३६/३ मा प्रस्तुत गरिएको छ । यसको तात्पर्य ॐ भू, भुव र स्व तिनै लोकमा व्याप्त, बुद्धिलाई प्रेरणा दिने सविता देवताका वरणीय महत्ताको हामी ध्यान गर्दछौं भन्नु हो । यसको साधनाबाट निकै ठूला उपलब्धि हासिल हुने कुरा अनुभवी, पारखी तथा विज्ञहरू बताउँछन् ।


(प्राध्यापक जयराज पन्तको वैचारिक विरासत, पेजः १०१–१०४, लोकवार्ता परिषद् नेपाल, २०७४)