मेनपावर कम्पनीहरुको स्तर निर्धारण गर्ने तयारी

मुख्य समाचार रोजगार विषेश समाचार

काठमाडौं, २९ साउन, २०७६ । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले सञ्चालित डिजिटल प्लेटफर्म माइग्रेण्ट रिक्रुटमेण्ट एडभाइजर (एमआरए) का विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । जिफन्टद्वारा आयोजित कार्यक्रममा ट्रेड यूनियन, सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरु, अनुसन्धानकर्ताहरु, पत्रकारहरु सहभागी थिए ।

कार्यक्रममा बोल्दै संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटीयूसीसी) का अध्यक्ष तथा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा जाने योजना बनाइरहेकाहरु तथा वैदेशिक रोजगारको क्रममा रहेकाहरुलाई मद्दत गर्ने उद्देश्यले रिक्रुटमेण्ट एडभाइजर मार्फत काम गरिएको बताए । उनले ‘छिट्टै पुग्ने भए एक्लै दौडिनु र सफलता प्राप्त गर्ने भएमा संगसँगै हिड्नु’ आवश्यक रहेको भन्दै ट्रेड यूनियनहरुले सहकार्यमा विश्वास राख्ने बताए । उनले वैदेशिक रोजगार नेपालका लागि दीर्घकालिन नभई अल्पकालिन रोजगारीको उपाय मात्र भएको भन्दै यसलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन ट्रेड यूनियनहरु, सरकार तथा गैरसरकारी संघसंस्थाबीचमा मजबूत सहकार्यको खाँचो औंल्याए ।

अध्यक्ष श्रेष्ठले जिफन्टले सन् १९९३ देखि दक्षिण कोरियाबाट सुरु गरेको गन्तव्य मुलुकमा नेपाली श्रमिकलाई संगठित गर्ने काम हाल विस्तार भएर खाडीका अधिकांश मुलुकहरु, मलेशिया लगायतमा पुगेको बताए । श्रमिकलाई संगठित गरेर आन्दोलन गर्ने नभई सोही मुलुकमा कृयाशिल ट्रेड यूनियनको सदस्य बनाउँदै वैदेशिक रोजगारमा जाने नेपालीलाई सुरक्षित बनाउनु जिफन्टको उद्देश्य रहेको उनको भनाई थियो ।

अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारमा जानेहरु तथा रोजगारीका क्रममा विदेशमा रहेकाहरुलाई सुरक्षित र उपलब्धीमूलक वैदेशिक रोजगार बनाउने तथा रोजगारीबाट फर्केकाहरुले लिएर आउने सीप र कमाएको पुँजी उचित ठाउँमा लगानीको वातावरण निर्माण गर्न आवश्यक रहेको धारणा राखे ।

कार्यक्रममा सार्टुकका महासचिव लक्ष्मण बहादुर बस्नेतले रोजगारीका लागि कामदार पठाउने मुलुकहरु एक नभएसम्म खाडीका मुलुकहरुलाई श्रमिकमैत्री कानून, नियम बनाउन बाध्य बनाउन नसकिने धारणा राखे । उनले वैदेशिक रोजगारलाई मर्यादित बनाउन सरकारले अझ धेरै काम गर्न जरुरी रहेको बताए ।
महासचिव बस्नेतले नेपालमा ९ वटा ट्रेड यूनियनहरु श्रमको मुद्दामा एक रहेको भन्दै यसमा गैरसरकारी संघसंस्थाहरु पनि एकतावद्ध हुन आवश्यक रहेको धारणा राखे । उनले एकापसमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने तर कामदारको मुद्दामा सबैको सामूहिक आवाज एक हुनुपर्ने विचार प्रकट गरे ।

कार्यक्रममा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (एनएनएसएम) का अध्यक्ष कुल प्रसाद कार्कीले वैदेशिक रोजगारलाई मर्यादित र उपलव्धीमूलक बनाउन आफूहरुले पनि एकीकृत ढंगमा नै काम गरिरहेको प्रष्ट्याए । उनले यसका लागि गैरसरकारी संस्थाहरुबीच मात्र नभई संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र तथा सञ्जालबीच पनि सहकार्य सुरु गरिएको स्मरण गरे । सरकार, ट्रेड यूनियनहरु, गैरसरकारी संस्थाहरु, रोजगारदाताहरु मिलेर नै ग्लोवल कम्प्याक्ट फर माइग्रेसन (जिसिएम) को लक्ष्य हासिल गर्न सकिने उनको भनाई थियो । उनले सञ्जाल सदैव जेटीयूसीसीसँग हातमा हात तथा काँधमा काँध मिलाएर अगाडि बढ्न तयार रहेको प्रतिवद्धता पनि जनाए ।

जिफन्टका महासचिव जनक चौधरीले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन तथा श्रमिकका लागि उपलव्धीमूलक बनाउन महासंघले झण्डै तीन दशकदेखि काम गरिरहेको बताए । उनले यस क्षेत्रमा कृयाशील सबैको सहकार्यमा श्रमिकको जीवनलाई उन्नत बनाउन र रोजगारीलाई मर्यादित बनाउन सकिने धारणा राखे ।