प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको विषयमा बोल्यो प्रचण्डको स्वकीय सचिवालय

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौँ, २८ साउन, २०७६ । पुष्पकमल दाहाल प्रचण्डका पुत्र स्व. प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने विषयमा प्रचण्डको सचिवालयले मुख फोरेको छ । विभिन्न सञ्चार माध्यममा सो विषय आएपछि प्रचण्डको निजी सचिवालयका प्रमुख स्वकीय सचिव, जोखबहादुर महरा ‘प्रताप’ ले आज एक विज्ञप्ति जारी गर्दै स्पष्टिकरणसहित खण्डन गरेका हुन् ।

‘दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ’ विज्ञप्तिमा भनिएको छ । कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न उनले चुनौति पनि दिएका छन् ।

जनक्रान्तिका उपलब्धि विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको बताउँदै उनले क्रान्तिकारी ध्रुविकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेको आरोप लगाएका छन् । उनले भने, ‘…अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उहाँको बदनाम गर्न उद्दत छन् ।’ परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा उनले अपिल पनि गरेका छन् । यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग उनले अनुरोध पनि गरेका छन्।