त्रिशुली बस दुर्घटना : मृत्यु हुनेको संख्या १० पुग्यो, १३ जना घाइतेहरु उपचार पश्चात डिस्चार्ज, १८ जना अझै बेपत्ता

मुख्य समाचार विषेश समाचार समाज

धादिङ, २६ साउन, २०७६ । बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाट नजिकै पृथ्वी राजमार्गबाट त्रिशुलीमा खसेर बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७४६९ नम्बरको न्यूसृष्टि डिलक्स बस साउन २४ गते बिहान त्रिशुली नदीमा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि घाइते भएका ३ जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ भने १३ जना विभिन्न अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका नेपाल प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ, ईलाका प्रहरी कार्यालयहरु बेनिघाट तथा गजुरी र प्रहरी चौकी जोगीमाराबाट समेत प्रहरी टोली खटी गई उद्दार कार्यमा जुटेको थियो ।

दुर्घटनामा मृत्यु भएका ९ जनाको शव आफन्तलाई बुझाइएको छ भने तनहुँ देवघाट गाउँपालिका–५ घिनटारस्थित बन्दै गरेको पुलमुनी फेला परेको करिब ४५ वर्षीय पुरुषको शव सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेका घाइतेहरुमा भारत सितामढी घर हुने ४० वर्षीय धीरेन्द्र कुमार, सर्लाही कविलास नगरपालिका–४ बस्ने ३२ वर्षीय विजय यादव र सर्लाही हरिहर घर हुने बस चालक ४० वर्षीय जीवन विक रहेका छन् । उनीहरुमध्ये चालक विकको अवस्था गम्भीर रहेको छ भने अन्य २ जना बोल्न सक्ने अवस्थामा छन् ।

सर्लाही मलंगवाबाट आएको उक्त बसमा चालक, सहचालक, कन्डक्टर र यात्रु गरी ४१ जना सवार रहेको भन्ने बुझिएको प्रहरीको भनाई छ ।

दुर्घटनामा परि बेपत्ता भएका अन्य व्यक्तिहरुको खोजी तथा उद्दार कार्य एवम् थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।