स्थानीय तहमा सिंहदरबारको अधिकार लगेको जनतालाई बोझ थप्न होइन : प्रचण्ड

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौं, २५ साउन, २०७६ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार स्थानीय तहमा लैजाने प्रणाली स्थापना गरेको जनतालाई बोझ थप्न नभएको बताएका छन् । वन तथा वातावरण मन्त्रालय, सामुदायिक वन उपभोक्त महासंघ नेपालद्वारा आयोजित चौथो सामुदायिक वन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनतामा भएको बोझलाई हल्का गर्न र जनतालाई सेवा प्रदान गर्नका लागि अधिकार प्रत्यायोजन गरिएको बताए ।

सबैले कर उठाएर करको भार जनताको थाप्लोमा थोपर्ने विल्कुल उद्देश्य नभएको उनले बताए । ‘हामीले त जनतालाई घरदैलोमा नै सेवा दिने भनेका हौं । हामीले रोपेको एउटा अर्कै उर्मेला जस्तो भएको छ’, उनले भने ।

अर्को प्रसङ्गमा बोल्दै प्रचण्डले कम्युनिष्टहरुको एकतालाई निर्वाचन मार्फत नेपाली जनताले दिलैदेखि गरेको स्वागत र अनुमोदनको योगदानलाई अवमूल्यन गरे ठूलो दुर्भाग्य हुने बताए । उनले भने, ‘नेपाली जनताले हामीलाई शक्तिशाली सरकारको ठाउँमा ल्याई पुर्याइदियो । हामी असफल भयौं भने नेपाल राष्ट्र असफल हुन्छ । राष्ट्र असफल भयो भने हामी सबैको आत्मसम्मान समाप्त हुने खतरा हुन्छ ।’

ढिलै भएपनि पार्टी एकतालाई अन्तिम रुप दिने ठाउँमा आई पुगेको बताउँदै उनले अबको दशक भनेको समृद्धि र विकासको दशक भएको स्पष्ट पारे । उनले नेपाल कम्युनिष्ट पार्टीको बलियो सरकार सबैका लागि अवसर हो भन्दै जनतालाई बलशाली बनाउने कार्यमा सबै पक्ष लागिपर्न अपील पनि गरे ।

‘सबै प्रगतिशील, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कामहरुलाई अगाडि बढाउने अवसर नेपालमा फेरि प्राप्त हुन्छ कि हुन्न । यो भन्दा राम्रो अवसर हुनै सक्दैन । हामीले वन पैदावरको वैज्ञानिक व्यवस्थापनका लागि अझै धेरै गर्न काम बाँकी छ’, उनले भने । आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुसार निर्वाचन र त्यस अन्तर्गत ऐन नियमहरुको निर्माणको प्रक्रियामा रहेको पनि उनले बताए ।