‘मेरो मनमा चीन’ प्रतियोगितामा २ हजार ५ सय विद्यार्थीको सहभागिता

मुख्य समाचार विषेश समाचार शिक्षा

काठमाडौं, २४ साउन, २०७६ । काठमाडौँस्थित चिनिया राजदूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा ‘मेरो मनमा चीन’ दोश्रो चिनिया चित्रकला प्रतियोगितामा बिहीबार सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित सो प्रतियोगितामा १ सय २६ विद्यालयका २ हजार ५ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरुले २ हजार ६ सय वटा विभिन्न चित्रहरु बनाएका थिए । प्रतियोगितामा उत्कृष्ठ स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै नेपालका लागि चिनिया राजदूत हौ यानछीले चीन र नेपाल प्राचीनकालदेखि नै असल छिमेकी भएको र दुई मुलुकका जनताबीच समझदारी तथा सांस्कृतिक आदान प्रदानले महत्वपूर्ण फड्को मारेको बताइन् ।

केही वर्षदेखि चिनिया दूतावासले नेपालमा थुप्रै सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेको जानकारी दिँदै राजदूत हौले त्यस्ता कार्यक्रमहरुले धेरै भन्दा धेरै नेपाली जनतालाई चीनको संस्कृति र विकासबारे बुझ्ने मौका प्रदान गरेको बताइन् । त्यसैगरी चीनमा नेपाली कलाकारहरुले प्रस्तुत गर्ने सांस्कृतिक कार्यक्रम मार्फत चिनिया जनताले पनि नेपालको रंगीचंगी विशिष्ठ संस्कृतिबारे बुझ्ने मौका पाएको समेत उनको भनाई थियो । बालबालिका देशको भविष्य हुन् भन्दै राजदूत हौले यस प्रतियोगिताको माध्यमबाट नेपाली विद्याथीहरुलाई चीनको बारेमा जान्ने र सिक्ने मौका प्राप्त भएको उल्लेख गरिन् । साथै राजदूत हौले नेपाली विद्यार्थीहरुले भित्री मनदेखि नै बनाएको चित्रले आफ्नो मन छोएको र अरु उत्सुक बनाएको बताउँदै भविष्यमा यी विद्यार्थीहरुले चीन र नेपालबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विश्वाससमेत व्यक्त गरिन् ।

पुरस्कार वितरण समारोहमा बोल्दै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापाले बालबालिकाहरु भविष्यका कर्णधार भएको बताइन् । बालबालिकाहरुलाई शारीरिक तथा मानसिक विकासको लागि आज हामी कस्तो खालको वातावरण दिन सक्छौ भन्ने कुराले भोलिको भविष्य निर्माण हुने भएकोले यस विषयमा संवेदनशील भएर योजना बनाउनु आवश्यक रहेको बताइन् । नेपाली विद्यार्थीहरुको सीप विकास, क्षमता अभिवृद्धि तथा उनीहरुको क्षमताको प्रदर्शनीको लागि चिनिया राजदूतावासले आयोजना गरेको ‘मेरो मनमा चीन’ दोश्रो चिनिया चित्रकला प्रतियोगिता महत्वपूर्ण भएको मन्त्री थापाले प्रष्ट पारिन् । चीन दू्रत विकास मार्फत अघि बढिरहेको जानकारी दिँदै मन्त्री थापाले चीनको योजनाबद्ध विकास र बालबालिकाको विकास तथा सुन्दर भविष्य निर्माणको लागि चीनले बनाएका योजनाहरुबाट नेपाली जनताले धेरै कुरा सिक्नु पर्ने धारणा व्यक्त गरिन् ।

प्रतियोगितमा सहभागी विद्यार्थीहरुलाई ४८ वटा सान्त्वना, ७ वटा तेश्रो, ४ वटा दोश्रो र २ वटा प्रथम श्रेणीका पुरस्कारहरु वितरण गरिएको थियो । प्रतियोगितामा काठमाडौंस्थित युनाईटेड स्कुलका नलिसा शाक्य र सूर्योदय स्कुलका मनिषा गुप्ताले प्रथम पुरस्कार प्राप्त गरेका थिए भने सूर्योदय सेकेण्डरी स्कुल, एरिश एकेडेमी, कोदारी सेकेण्डरी स्कुल र काठमण्डप विद्यालयका विद्यार्थीहरुले दोश्रो पुरस्कार प्राप्त गरेका थिए ।

पुरस्कार वितरण समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले ड्यागन तथा सिंह नृत्य, चिनिया कम्फु, मैथली क्षेत्रमा विद्यमान लोकप्रिय फागु नृत्य तथा चिनिया गीत संगीतहरु प्रस्तुत गरेका थिए ।