ठेकेदारका कारण सरकारले गाली खाइरहनु परेको छ : सांसद बस्नेत

मुख्य समाचार राजनीति

काठमाडौँ, २४ साउन, २०७६ । पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले निर्माण व्यवसायीहरुको गल्तीका कारण सिंगो सरकारले नै गाली खानुपरेको बताउँदै जिम्मेवारी बोध गरी काम गर्न सुझाव दिएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालको हलमा आज “पूर्वाधार निर्माणका चुनौती र अब लिनुपर्ने बाटो” विषयक छलफल कार्यक्रममा सांसद बस्नेतले यस्तो सुझाव दिएका हुन् ।

उनले भने, ‘निर्माण व्यवसायीहरु सरकारका प्रतिनिधि हुन् त्यसैले जिम्मेवारी लिएर काम गर्नुपर्छ ।’
भौतिक पूर्वाधार निर्माण जनताको माग र सरकारको प्राथमिकता भएको बताउँदै निर्माणका क्षेत्रमा देखिएका विविध समस्याहरुलाई न्यूनीकरण गर्दै अघि बढ्नुपर्ने उनले बताए । निर्माण क्षेत्रमा काम गर्दा सार्वजनिक खरिद ऐनमा, दररेटमा र तोकिएकै समयमा सम्पन्न नहुनेलगायतका समस्याहरु रहेकाले यस्ता समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

भौतिक पूर्वाधार मन्त्रालयमा वैधानिक अनियमितता भएको भन्दै निर्माण क्षेत्रमा अझै पनि पिपि सिस्टम रहेकोले यसले निर्माण क्षेत्रकै नकारात्मक बिम्ब बनाएकोले तत्काल रोक्नुपर्ने उनको भनाई छ । उनले भने– ‘पिपि सिस्टम अन्त्य गर्नुपर्छ बरु मापदण्ड बनाएर योगदानको आधारमा कर्मचारीहरुलाई भत्ता दिऔं ।’