[लघुकथा] भिसीको भाषण – धनप्रसाद सुवेदी ‘श्रमिक’

मुख्य समाचार साहित्य

म त्रिभुवन विश्विद्यालयकाे भिसी (उपकुलपति) मा नियुक्ति लिन कुलपति कार्यालयमा पुगेँ । नियुक्ति पत्र लिएपछि मलाई मन्तव्य दिन भनियो । मैले छाेटाे मन्तव्य दिएँ । मैले भनेँ :
मलाई यी काममा दबाब नहाेस् :

१) प्राध्यापकहरूलाई उपत्यकाबाहिर सरुवा नगराउन र बाहिरबाट उपत्यकामा सरुवा गराउन ।
२) कर्मचारीलाई खास-खास महाशाखा वा क्याम्पसबाट सरुवा गर्न वा नगर्न ।
३) कर्मचारीलाई ओटी दिन वा नदिन। र
४) मुख्य कुरा कुनै क्याम्पस र त्यसमा पनि विशेष मुख्य मेडिकल कलेजलाई सम्बन्धन दिन ।

मलाई यी काममा सम्बन्धित सबैकाे सहयाेग आवश्यक हुन्छ :
१) स्कुल र कलेजकाे व्यापारमा लागेका प्राध्यापक, विद्यार्थी र नेताज्यूहरू समेतले राजनीतिका आवरणमा आफ्नाे व्यापार-मुनाफाका लागि विश्वविद्यालयलाई बन्धक बनाउने हर्कतलाई निरुत्साहित गर्न ।
२) विश्वविद्यालयलाई उच्च प्राज्ञिक, शैक्षिक तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न ।
३) नेपालकाे भूगोल, इतिहास, समाज, संस्कृति अर्थात् नेपाली सन्दर्भ अनुरूप आवश्यक जनशक्ति उत्पादनका साथै समकालीन विश्व दुनियाँमा प्रतिस्पर्धा गर्न सक्ने उच्च जनशक्ति उत्पादनलाई मूल उद्देश्य लिएर अघि बढ्नका लागि आवश्यक स्राेत, साधन, पूँजी र संकल्पलाई पूरा गर्न ।
र अन्त्यमा,
मैले आगामी ४ वर्ष अर्थात् मेरो पूरा आयुकाे ४ वर्ष विश्वविद्यालयका लागि समर्पण गरेकाे घाेषणा गर्छु । याे अवधि मैले देशका लागि, देशकाे शैक्षिक सुधारका लागि र भावी पुस्ताका लागि समर्पण गरेको छु । पैसा कमाउन, आफन्तलाई जागिर खुवाउन र समाजमा हैकम जमाउनका लागि र अझ भनाैँ जागिर खानका लागि म याे पदमा जान लागेकाे हाेइन । यदि मैले याे पदमा रहेर विश्वविद्यालयलाई विश्वविद्यालय जस्तो बनाउन सक्दिनँ र याे पद खाली ४ वर्से जागिरकाे पद मात्रै सावित हुन्छ भन्ने महसुस गरेकाे घडीमा तत्काल राजीनामा गर्नेछु, यसरी भनाैँ राजीनामा गाेजीमा बाेकेर म याे पदमा जाँदैछु ।
सहभागीहरूका तर्फबाट गडगडाहट ताली बजे ।

“सिर्जनानगर झर्नुहाेस् !” काे आवाज सुनेर झसङ्ग भएँ । म त बसभित्र दिउँसै निदाएकाे पो रहेछु । कस्तो गज्जब सपना देखियो । सपनैमा भए पनि भिसी हुन पाएकामा मख्ख पर्दै बसबाट ओर्लिएँ ।