[स्टाटस कथा] प्राेजेक्टका कुरा — डा. धनप्रसाद सुवेदी

मुख्य समाचार साहित्य

भक्तपुर सिर्जनानगरबाट पुरानो बसपार्कतिर आउँदै थिएँ । गाडीमा दोहोरी गीत बज्दैथियो । सँगैको सिटमा गोरो अनुहारकी प्रौढ महिला रहिछन् । उनले नेपालीमै मेरो परिचय मागिन् । म भाषा–साहित्यको शिक्षक भएको थाहा पाएर उनले सोधिन्– ‘नेपाली दोहोरी गीतमा खास कस्तो विषय आउँछ र त्यो कसरी प्रस्तुत हुन्छ ?’

‘मायाप्रेमको विषय हुन्छ । केटाले केटीलाई फकाउँछ । केटी नमानेको, नफकिएको बहाना गर्छे, अन्त्यमा दुवै मायाप्रेम र घरजम गर्ने सहमति गर्छन्’ मैले भनेँ ।

‘भनेपछि केटीले चाहिँ केटालाई फकाउनु नपर्ने । केटीले मात्रै फकिनुपर्ने ? के नेपालमा महिलाका बारेमा काम गर्ने महिला छैनन् ?’ उनले भनिन् ।

‘किन नहुनु जति पनि छन्’ मैले भनेँ ।

‘अनि तिनीहरू यस्ता दोहोरी गीत सुन्दा के गर्छन् ?’ उनले सोधिन्।

‘के गर्छन् भन्नु कम्मर मर्काईमर्काई नाच्छन्, दरखाने बेला त एक महिनाअघिदेखि पार्टी प्यालेसमा नाच्छन्, महँगा कपडा र गहनामा सजिएर नाच्छन् ।’ पछाडिको सिटमा बस्ने अधबैंसे मान्छेले भने ।
‘भेरी ब्याड, अनि केटाले जहिल्यै फकाउने, केटीले जहिल्यै फकिनुपर्ने । यस्तो विभेदमा रमाउने महिलाहरू !’ तिनले आश्चर्य प्रकट गरिन् ।

‘केटाले केटीलाई फकाउनु भनेको केटीलाई भाउ दिनु हो, महत्त्व दिनु हो’ अघिल्लो सिटमा बस्ने ठिटाले हल्का हाँस्दै भन्यो ।

‘नो ! तेस्तो होइन । उनीहरूले तेसलाई महिलाको भाउ दिएको ठान्छन् भने त्यो ठुलो अज्ञानता हो । तिनलाई महिला अधिकार बारे कति पनि थाहा छैन । (एकैछिन सोचेर) तपाईंहरूलाई धन्यवाद ! तपाईंहरूसँग कुरा गरेर राम्रो भो । तपाईंको महिला मन्त्रालयको सहसचिव महिला बारेको के प्रोजेक्ट बनाउने होला, आइडिया दिनु न भन्दै थिए । अब यही विषयमा प्रोजेक्ट बनाउने सल्लाह दिन्छु ।’

‘अनि तपाईंले सहसचिवलाई सल्लाह दिँदैमा प्रोजेक्ट बनिहाल्छ र ?’ मैले भनेँ ।

‘तपाईंहरूलाई तेति पनि थाहा छैन ? नेपालमा यस्ता सबै प्रोजेक्ट केही सचिव, सहसचिवले बनाउँछन् । सरकार त साक्षी बस्ने र कति कमिसन पाउने भन्ने पर्खाइमा हुन्छ ।’

‘हाम्रा प्रोजेक्टहरू नेपाली आवश्यकताअनुरूप हुँदैनन् भन्ने कुरा त थाहा छ । तर किन यस्तो गर्छन् भन्ने चाहिँ थाहा छैन’ मैले भनेँ ।

‘तेही त नेपाल यस्तो भएको हो । तपाईं बुद्धिजीवीहरूले चिया गफमा यस्ता कुराको आलोचना गरेको सुनेको छु तर अनुसन्धान गरेर तथ्यलाई बाहिर ल्याउनु हुन्न । अनि नेताहरू र कर्मचारीहरूलाई देशको चिन्ता छैन केवल आफ्नो चिन्ता छ’ उनले भनिन् ।

उनी अझै भन्न खोज्दैथिन् । बस बानेश्वरमा रोकियो । ‘ओ बानेश्वर ! मैले केही सांसद र सहसचिवलाई एभरेस्ट होटलमा भेट्ने समय मिलाएको छु । आजलाई मैले दिने सल्लाह तपाईंहरूले थाहा पाइहाल्नु भो’ यति भन्दै उनी बसबाट ओर्लिन् ।