भारतीय पूर्वविदेश मन्त्री स्वराजको निधन

मुख्य समाचार विश्व विषेश समाचार

काठमाडौँ, २२ साउन, २०७६, भारतीय पूर्वविदेश मन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस दिल्लीमा भर्ना भएकी स्वराजको हृदयघातका कारण मंगलबार निधन भएको भारतीय अखबार इकोनोमिक टाइम्सले जनाएको छ ।

लामो समयदेखि बिरामी रहेकी स्वराजको २०१६ मा मृगौला प्रत्यारोपण गरिएको थियो । उनी सन् २०१४ मा भारतको विदेश मन्त्री भएकी थिइन् । उनी इन्दिरा गान्धीपछिको भारतीय पहिलो महिला विदेश मन्त्री हुन् । उनी २५ वर्षकै उमेरमा राज्यमन्त्री पनि भएकी थिइन् । भारतीय जनता पार्टी सरकारमा भएको बेलामा दिल्लीकै पहिलो मुख्यमन्त्रीसमेत भएकी थिइन् ।

स्वराज ४० वर्षको राजनीतिक यात्रामा ११ वटा चुनाव लडिन् र तीन पटक विधानसभामा विजयी भएकी थिइन् । उनी सात पटक सांसद भएकी थिइन् ।

सन् १९५३ मा जन्मेकी उनले आफ्नो राजनीतिक यात्रा अखिल भारतीय विद्यार्थी परिषदबाट सुरु गरेकी थिइन् । स्वराज एक प्रखर र प्रभावशाली नेताको रुपमा पनि चिनिन्थिन् ।