दशैँभित्र लालपूर्जा दिनेगरी काम गर्नुहोस्ः मन्त्री अर्याल

कृषि मुख्य समाचार

तनहुँ, २० साउन, २०७६, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले तनहुँको सुक्लागण्डकी नगरपालिकाका स्थानीयलाई दशैँभित्र लालपूर्जा दिनेगरी काम गर्न प्रमुख जिल्ला अधिकारीलगायत सबै कर्मचारीलाई आग्रह गरेकि छिन् । तनहुँको सुक्लागण्डकी– ७ शान्तिनगरमा आयोजित अव्यवस्थित बसोबासलाई लालपूर्जा दिलाउन आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले मन्त्री परिषद्को निर्णयले स्थानीयको लालपूर्जा दिलाउने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिइएको भन्दै दशैँभित्र जनताको हातमा लालपूर्जा थमाउने गरी काम गर्न निर्देशन दिएकि हुन् ।

त्यसअनुसार दशैंभित्र लालपूर्जा दिनेगरी काम गर्न मन्त्री अर्यालले कर्मचारीलाई आग्रह गरेकि हुन् । ‘राजनीतिक व्यक्तिलाई दिँदा विवाद होला, समस्या पर्दा र काम रोकिएला भनेर स्थानीयको लालपूर्जा दिलाउने जिम्मा प्रमुख जिल्ला अधिकारीलगायतका मातहतका कर्मचारीलाई दिएको हो’, मन्त्री अर्यालले भनिन्, ‘मन्त्री परिषद्को निर्णय त मान्नुपर्‍यो नि १ पाल्पाको रामपुर र यहाँको छिट्टै काम सकेर लालपूर्जा बाड्ने योजना छ । प्रमुख जिल्ला अधिकारीलगायत सबै कर्मचारीले त्यसतर्फ ध्यान दिनुपर्‍यो ।’

उनले छिटो काम गर्न र काममा खुट्टा नकमाउन आग्रह गरिन् । उनले भनिन्, ‘नेपाल सरकारले यो काम गर भनेपछि कार्यान्वयन गर्नु किन ढिलाई गरिरहनुभएको छ रु यसपटकको दशैँ यहाँका जनताले हालमा लालपूर्जा बोकेर खुशी साथ मनाउन पाउन, सबै कर्मचारीलाई निर्देशन र जनप्रतिनिधिलाई मेरो अनुरोध छ ।’

बिचौलियादेखि भने सतर्क रहन उनले स्थानीयलाई आग्रह गरिन् । ‘अहिले जे क्षेत्रमा पनि बिचौलियाको बिगबिगी छ । जग्गा जमिनमा झन नहुने कुरै भएन, त्यस्ता समूहबाट तपाईंहरु सतर्क रहनुहोला’, मन्त्री अर्यालले भनिन् ।

नगरपालिकामा बसोबास गर्ने १ हजारभन्दा बढी घरधुरीका स्थानीयले आफूले जोतभोग गर्दै आएको जग्गालाई लालपूर्जा दिनुपर्ने माग गर्दै आएका छन् ।