जरै नरहे पात रहला र ? — डिल्लीराज अर्याल

मुख्य समाचार विचार

बुझ्नेलाई प्रकृतिले वैशाख गएर जेठ लागेको सङ्केत दिइरहेको हुँदो हो तर मलाई त्यसको आभास भएको थिएन, हुने कुरो पनि थिएन । मलाई त काफल, आरु पाकेकै थिए । आरुबखडा, नास्पाती पनि पाक्ने तयारीमा थिए तर मलाई तिनमा भने त्यति रुचि थिएन । बारीमा स्याउ, आँप, बेलौती, गुलाबजामुनो, भुटुक, खनियाँ, खल्लुक, म्याल, भक्किम्लो जस्ता अरू फलफूल पनि थिए । मौसम फेरिँदैे जान्थ्यो, फल तयार हुँदै जान्थे र हामी खान तयार हुन्थ्यौँ ।

त्यतिबेला जति प्रयास गरे पनि सुन्तला, लिची र कटहर हुर्क्याउन सकिएको थिएन । अहिले त्यहाँ ती पनि हुर्किएका छन् तर हामी त्यहाँ छैनौँ । हामी गएकै बेला भए पनि तिनमा हाम्रो त्यो अवस्थाको चासो, त्यो रहर र त्यही भाव हुँदैन ।

घरबाट सबैभन्दा नजिक आरुकै बोट थियो । एकै ठाउँ रोपेर हुक्र्याउन सकिन्न भन्ने हेक्का नभएका हामी केटाकेटी एउटै खाल्डोमा, एकै ठाउँ रोपेर ‘छवटे आँप’ बनाउन पनि तयार हुन्थ्यौँ । रोपे पछि उम्रन्छ, फल्छ भन्ने मानसिकता थियो । अहिले पनि मदनपोखरा जाँदा ‘छवटे आँप’ बनाउन एकै ठाउँ रोपेका आँपका बोटतिर हेर्छु र हाँस्छु । पुरानिएका, टाक्सिएर बिरुवै रहन र बढेर बोट बन्न पनि नसकेका ती आँप देखेर पुराना दिन, घटना र क्रियाकलाप सम्झनामा आउन थाल्छन् ।

सम्झना धेरै कुराका आउँछन् तैपनि पहिले आरुकै आउँछ, हुन्छ । त्यही आरुको बोट भएतिरै नजर जान्छ । हेर्छु, त्यहाँ त्यो आरुको बोट देख्दिन । त्यो मात्र किन? अहिले त त्यो भन्दा मिठो फल्ने अलि तल्लो ढिकको बोट, डाँडाको पाटाको छेउमा भएका बोट पनि देखिन्नन् । खन्या पाटातिरका बोट पनि कम हुँदै गएका छन् । त्यतिबेला ती किसिम–किसिमका आरु टिपेर, बोक्रा फालेर वा उसिनेर क्या मजाले खाइन्थ्यो । आरु त्यसै भन्दा उसिनेर खान अझै मजा आउँथ्यो । अझ बिया फोरेर खान झन् मजा आउँँथ्यो ।

हाम्रा बारीमा रहेका काफलका बोट कति पहिलेका हुन् मलाई अन्दाज थिएन तर मैले देख्दा ती फल्न थालिसकेका थिए । हाम्रो भेकमा काफलका बोट एकदमै कम थिए । तिनमा पनि फल्ने दुईवटा बोट हाम्रै बारीमा थिए । मेरो सम्झनामा ऋषिराम बुबाको डाँडा बारीमा र हाम्रोमा एक/एकवटा नफल्ने बोट पनि थिए । ती हाम्रालागि बाख्राको घाँटीका स्तन ‘अजागलतनस्येव’ भए पनि टङ्कप्रसाद दाइको बारीमा, कोकल चित्रवीरको बारीमा, अँधेरी पैरामास्तिर पंगेनीको बारीमा, रामपुरे जेठाको डहरमा एक÷एक र हाम्रामा दुईवटा गरी छवटा फल्ने बोट थिए । संयोग भनौँ ती आठवटामध्ये फल्ने दुई र नफल्ने एक गरी तीनवटा बोट हाम्रैमा थिए । हामी केटाकेटीका लागि त्यो गफ गर्ने विषय नै हुन्थ्यो ।

एउटा बोट घर नजिकै थियो । त्यससित जोडिएको खनियाँबाट केही माथिमात्र पुग्न सके पनि अलि माथिसम्मै पुग्ने हेउ ममा थिएन । त्यसैले बोटबाट आफै झरेका बाटाका र तल्लो पाखामा हुने परालको टौवाले अड्याएका काफल मेरा रोजाइका विषय हुन्थे । खान त भुइँमा झरेका, माटो लागेका भए पनि कमिजको बाहुलामा पुछपाछ पारेर खाइन्थ्योे । पखाल्न घर लैजाँदा चटनी बनाउन दिनुपर्छ भन्ने सोचले पनि त्यसो गरिन्थ्यो । धेरै बटिँदा भने घर लगेर पखालेर, पिसेर चटनी बनाइन्थ्यो ।

एकदिन बिहानै आरु टिप्न थालेको देखेर बुबैले चिच्याउनुभयो–’ पाक्न दिए पो खान मिठो हुन्छ र काँचै टिपेर फालेर पनि हुन्छ ? तिमी बाँदरहरूलाई भनेर कहिल्यै लागेन ।’ यो सुनेर म आरु टिप्न छाडेर घरतिर फर्केँ । सम्झन्छु— अलिअलि रातो हुन थालेको देखेपछि त्यसलाई पाकेको मानेर टिप्न र खान थालिहाल्थ्यौँ । जानकारी नहुनेका लागि त के थियो र ? टिप्यो, टोक्यो मिठो भए खायो नभए फालिदियो । न नोक्सान हुन्छ भन्ने थियो न रहे अरूलाई पनि हुन्छ भन्ने भाव, ज्ञान । मान्छे त्यस्ता फलफूल बटुल्न वन जान्थे, कतिले त्यसैले छाक टार्थे तर हामी टिपेर, टोकेर फाल्थ्यौँ पनि ।

मनमा आरु नभए काफल भन्ने रहिरहेकाले म पाकेर झरेका काफल बटुल्ने सुरमा गोठतिर लागेँ । त्यहाँ पुगेर परालमा, भुइँमा झरेका काफल बटुलेर खान थालेँ । यदाकदा पखाले पनि नपखाली खान सङ्कोच लाग्दैनथ्यो । चराले, लोखर्केले खाँदा झरेका आधा, सुकेका म्याल, खल्लुक त मजाले खाइन्थ्यो भने काफलको के कुरा । खान्थ्यौँ, बारीमै खल्लुक नसकिँदै काफल, काफल नसकिँदै आरु, आरु नसकिँदै आँप, आँप नसकिँदै नास्पाती, नास्पाती नसकिँदै बेलौती पाक्थे । त्यसबाहेक पनि च्युरी, भुटुक, खनियाँ, ऐसेलु, खिलुवा, चुत्रो, डम्मराई, म्याल, साउने आरु आदिले खाली हुनै पर्दैनथ्यो ।

बुबा ब्याड राख्ने सुरमा पानी लाउन खेततिर झर्नुभयो । आमाहरू भात खाएर मकै खन्ने भन्दै हुनुहुन्थ्यो । स्कूल जान पर्ने हुनाले मैले छिटोछिटो काफल बटुलेर कपाकप खान थालेँ । एकछिन पछि भात खान घरभित्र पसेँ । भात खान धेरैबेर लागेन, खाएँ । बाहिर आएर चुठ्न थाल्दा नजर फाँटतिर गयो ।

हाम्रो घरको आँगनबाट माडी फाँट, त्यहाँ चरेका गाईगोरु, खेत जोतिरहेका किसान, हिल्याएका खेत, रोपेका धान, मकै, गहुँ आदि राम्ररी देखिन्छन्, टाढै हुनाले त्यहाँ बोलेको आवाज भने सुन्न सकिन्न । त्यहाँ बग्ने तिनाउ, चुहार, शुक्जर, ढाब आदि खोलाहरू, बाढी गएका बेलाको त्यहाँको दृश्य पनि राम्ररी देख्न सकिन्छ । ती सबै हेर्न बडो रमाइलो लाग्थ्यो तैपनि नजिकैबाट हेर्ने चाहनाले बेसीतिर झराल्थ्यो । पौडी खेल्ने अभ्यास भने भैसकेको थिएन ।

थाकेर लखतरान भएका गोरु लिएर बुबा भर्खर घर भिड्किनु भएको थियो । दिनभरि मकै खनेर थाकेका आमाहरू पनि भर्खरै भित्र पस्नुभएको थियो । खालि स्कुल जाने हामी केटाकेटीहरू भने घरि के घरि के बहानामा वरपर गर्दै थियौँ । आज दिउँसै देखि मेरा मनमा भने बेसी गएर खेतमा ब्याड राखेको हेर्ने उत्सुकता जागिरहेको थियो ।

चारैतिरको वातावरण अलि फरक हुँदै थियो । पानी परेको थिएन र गर्मीको प्रभाव बढिरहेको थियो । धानको बीउ राख्ने समय भैसकेको भए पनि सबैतिर पानी नपरेकोे, पानीकै अभावले ब्याड राख्न नपाएको गुनासो चल्दै थियो । मलाई ‘यो धानलाई कति पानी चाहिएको होला ? खोलाको पानीले किन नपुगेको होला’ भन्ने लाग्ने गरेको थियो । खोलाको पानी खेतमा लाउने व्यवस्था छैन र त्यसो नभएसम्म पानी लाउन सकिन्न भन्ने कुरा पनि नबुझेको म लाटोले धेरै कुरा बुझ्न बाँकी थियो । त्यसैले मकैलाई भने दिनभरि घाममा खन्ने, धानलाई भने छर्दादेखि पाक्दासम्म पानी चाहिने किन होला ? भन्ने कुरा सोचिरहेको थिएँ । त्यही कुराले मलाई अचम्ममा पारेको थियो। मैले काफलको बोटलाई पानी दिएको कहिल्यै देखिनँ न कहिल्यै आरुलाई नै पानी दिएको देखेँँ । मलाई यो विषय अचम्मको लाग्थ्यो ।

पानीको असाध्यै कमी भएका, ब्याड राख्न नपाइएका बेलामा पनि खलानको पानी खेरा गैरहेको हुन्थ्यो । त्यस्ता बेला त्यो पानी खेतमा लैजान सके भन्ने सोच पनि हुन्थ्यो तर त्यो एकदमै केटाकेटी सोच थियो जो असम्भव थियो । खलानको पानीले खेत रोप्न सकिन्न भन्ने बोध मलाई थिएन ।

अर्कोदिन मेरा मनमा काफल, स्याउ, आरुलाई पनि पानी चाहिँदो हो नि । पानी नदिँदा पनि त्यसरी फल्ने बोट पानी पाए अझ कति फल्दा हुन् भन्ने सोच जाग्यो । एकातिर भाँडा माझेको पानी खलानमा खेर गइरहेको थियो अर्कोतिर त्यत्रा बोट पानी नपाएर पनि फलिरहेका थिए । तिनले पानी पाउनका लागि त्यो पानीको उपयोग हुनुपर्थ्यो ।