पत्रकार पुडासैनी मृत अवस्थामा भेटिए

मुख्य समाचार विषेश समाचार समाज

काठमाडौँ, २१ साउन, २०७६ । पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत अवस्थामा भेटिएका छन् । उनी सोमबार दिउँसो ३ः३० को समयमा चितवनको नारायणगढ स्थित बसपार्क नजिकै रहेको कङ्गारु होटलको कोठा नं. २०२ मा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

होटलका कर्मचारी खाना खानको लागि बोलाउन जाँदा धेरैबेरसम्म ढोका नखोलेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । राती १० बजे प्रहरी आएर ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा भेटिएको चितवन प्रहरीले जनाएको छ ।

पुडासैनी केही समय अघिबाट माउण्टेन टिभी काठमाडौँमा कार्यरत थिए । यस अघि न्युज २४ टिभीको सीधा कुरा जनतासँग कार्यक्रममा काम गर्थे । उनको स्थायी घर नुवाकोट बेलकोटगढी नगरपालिका–२ हो ।

मृतक पुडासैनीको बारेमा थप अनुसन्धान उनका आफन्त आएपछि गरिने चितवन प्रहरीले बताएको छ ।