टेलिफोन टावर विप्लब समूहको निशानामा, एकै दिन २२ वटामा आगजनी

ट्राफिक/प्रहरी मुख्य समाचार विषेश समाचार

काठमाडौँ, १६ साउन, २०७६ । नेत्रविक्रम चन्द विप्लव समूहको निशानामा एनसेल र टेलिकमका टेलिफोन टावरहरु परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार साँझदेखि आइतबार बिहान ११ बजेसम्म २२ वटा एनसेल टावर र एउटा नेपाल टेलिकमको टावरमा विप्लव समूहले आगजनी गरेको हो ।

धेरै स्थानमा जुटको बोरामा आगो सल्काएर आगजनी गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विप्लव समूहले नै आगजनी र तोडफोड गरेको जानकारी दिए । प्रहरीले दिएको जानकारीअनुसार कपिलवस्तु, कैलाली, झापा, डडेलधुरा, डोटी, धादिङ, पूर्वी नवलपरासी, पर्वत, पाँचथर, बाँके, बाग्लुङ, मोरङ, म्याग्दी, रुपन्देही, ललितपुर, सिन्धुपाल्चोक, अछाम, सल्यान र मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेको एनसेलको २२ वटा टावरमा आक्रमण भएको हो ।

यस्तै अर्घाखाँचीको पाँणेनी नगरपालिका– ५ स्थित नेपाल टेलिकमको टावरमा समेत आगजनी गरिएको छ । गएराति ललितपुरमा भने प्रेसरकुकरमा तार जोडेको अवस्थामा बम फेला परेकाले लगनखेलबाट गएको सेनाको टोलीले निस्क्रिय गरेको प्रहरीले जानकारी दिएको छ ।

अर्घाखाँचीको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रवक्ता पोखरेलले बताए ।