डा. उपेन्द्र देवकोटाको निधन नै मेरो टर्निङ प्वाइन्ट बन्यो : सुवास सुब्बा

मुख्य समाचार स्वास्थ्य

काठमाडौँ, ११ साउन, २०७६ । ललितपुरको वडा नं. १४ ढोलाहिटीमा छ ‘अन्तिम विकल्प’ । केही समय अघिसम्म पनि असाध्य रोग मानिएको अर्बुद अर्थात् क्यान्सर रोगका विरामी, विरामीका आफन्त तथा अन्य रोगले थलिएका विरामीहरुको चाप छ त्यहाँ । अनुहारभरि निराशा र मनभरि आशा बोकेका विरामी र तिनका आफन्त छन् त्यहाँ । ‘अन्तिम विकल्प’ अर्थात् कहीँ केही नलागेपछि क्यान्सरका रोगीहरुले पुग्ने ठाउँ । यो ठाउँलाई उपचार गर्ने र अनुसन्धान गर्ने ठाउँ मानेका छन् यसका सञ्चालक सुवास सुब्बा लिम्बूले ।

करिब ५ वर्ष अघि अर्थात् २०७१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा स्थापना भएको यो कम्पनी क्यान्सरका विरामीका लागि अन्तिम विकल्प भएको सञ्चालक सुब्बा बताउँछन् । पूर्वको तेह्रथुमका जन्मिएका सुब्बाले दार्जिलिङ्गे लवजमा भने, ‘अन्त, डाक्टरले फालेकाहरु मात्रै पो हेर्छु त हौ, डाक्टरले आबो केही गर्नु सक्दिन भनेकाहरु मात्रै यहाँ आउँछन् !’ क्यान्सर लागेर डाक्टरले मृत्यु पर्खिन भनेका विरामीहरु मात्रै आफूकोमा आउने गरेको सुब्बाले बताए । उनले भने, ‘अन्त, डाक्टरलाई नदेखाउनु, औषधि नखानु त म भन्दै भन्दिन नि हो, सबै उपाय लगाएर पनि निको नभएका विरामीलाई मात्रै पो हेर्छु त !’ एलोपेथिक, आयुर्वेदिक, होमियोपेथिक सबै प्रकारका औषधि गर्न र खान सुझाव दिने गरेको उनले बताए । ‘जडिबुटी नखा भन्ने डाक्टर ९० प्रतिशत छन्’ उनले भने, ‘तर म त एलोपेथिक नखा भन्दिन, जुन औषधि खाँदै हुनुहुन्छ त्यो खानुहोस् र यो पनि प्रयोग गर्नुहोस् भन्छु ।’ एउटै उपचार पद्धतिमा मात्रै पनि भर पर्न नहुने उनको मान्यता छ । मेरो औषधि मात्रै खानुहोस् निको हुन्छ आफूले नभनेको उनले बताए ।

को हुन् सुबास सुब्बा लिम्बू ?
उनले आफूलाई कहिले पनि डाक्टर भनेका छैनन् । उनले भने, ‘अन्त, म डाक्टर हो भनेर कहिले पनि भनेको छैन, म डाक्टर नै चाहिँ होइन तर डाक्टर भन्दा बिस कदम अगाडि नि ।’ डाक्टरले सीमित विषयमा अध्ययन गरेको हुन्छ भने आफूले धेरै विषयमा अनुसन्धान गरेको उनको दाबी छ । उनी आफूलाई एक अनुसन्धाता मान्छन् । अध्ययन, अनुसन्धानसहित आफूमा दैवी शक्ति पनि प्राप्त भएको उनको दाबी छ । उनको अध्ययन भने एग्रिकल्चर हो, उनले बिएससी एजी गरेका छन् । उनी आफूलाई बोटानिष्ट मान्छन् । उनी गीत पनि गाउँछन् ।

उनले तीनवटा कम्पनी खोलेका छन् । बिसौँ वर्षदेखि विविध विषयमा अनुसन्धान र अध्ययन गर्दै आएको उनको दाबी छ । उनले नेपालमा नाकाबन्दी भएर पेट्रोल र डिजेल अभाव हुँदा आफैँले उत्पादन गरेर बाँढेका पनि थिए । उनमा यतिसम्म आत्मविश्वास छ कि ‘मैले जे गरे पनि, जेमा हात हाले पनि सफल हुन्छु’ भन्ने छ । उनले केही समय अघि ‘ग्रीन वेल्थ इन्डष्ट्री’ खोलेर ‘डलर आफ्नै देशमा’ भन्ने नारा अघि सारेका थिए ।

उनले भविष्यमा एउटा कलेज खोल्ने लक्ष्य लिएका छन् । जसमा एलोपेथिक, होमियोपेथिक र आयुर्वेदिक तीन विषय अध्ययन गराउने उनको योजना छ । ‘एउटा कलेज खोल्छु, त्यसबाटै यस्तो डाक्टर जन्माउँछुकि एलोपेथिक, आयुर्वेदिक र होमियोपेथिक सबै विषयको ज्ञान एउटैलाई होस्’ उनले भने ।

उपचार गर्ने पद्धति
उनले आफैँ केही औषधि उत्पादन गरेका छन् । जसलाई उनले आफ्नै किसिमका नाम पनि दिएका छन् । जसलाई उनले चमत्कार औषधि, दश दिनको औषधि, चुस्ने औषधिजस्ता नाम दिएका छन् । उनले क्यान्सरका रोगीहरुलाई दश दिन, पन्ध्र दिन, बिस दिन र एक महिनाको औषधि खुवाउँछन् । यसरी खुवाउने उनीसँग झोल औषधि छ भने केही ट्याबलेट पनि बनाएका छन् ।

यसैगरी उनको क्लिनिकमा बिरामीलाई थेरापी, मसाज लगायतका सुविधाहरु पनि उपलब्ध छन् । नसा च्यापिएका, प्यारालाइसिस् तथा अन्य शारीरिक समस्या भएका विरामीले उपचार पाउँछन् । उनी हरेक प्रकारको रोगको उपचार गर्न सक्ने दाबी पनि गर्छन् । उनले भने, ‘मधुमेहका विरामीलाई छिट्टै निको पार्ने औषधि तयार गर्दैछु । म अनुसन्धान गर्दैछु के ।’ उनले ४५ दिनमा मधुमेह निको पार्ने औषधि भने तयार गरिसकेका छन् । उनले एचआइभी एड्सको औषधि पनि तयार गरेको दाबी गरे ।

डा. उपेन्द्र देवकोटाको निधन सुब्बाको टर्निङ प्वाइन्ट
उनले एचआइभी एड्सको पनि औषधि तयार पारिसकेका थिए । विरामीलाई भेटे, प्रचार गरे तर कसैले खाइदिएनन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुमा पनि पुगे । तर उनको औषधि बिकेन । आफ्नो क्लिनिकमा केही विरामी आउँथे । उनीहरुले खान्थे तर खासै प्रचारप्रसार र विरामीको फ्लो थिएन ।

जब नेपालका वरिष्ठ डाक्टर उपेन्द्र देवकोटालाई क्यान्सर भएको थाहा भयो उनलाई पीडा भयो । आफूले तयार गरेको औषधि खुवाउन पाए ठीक हुन्थ्यो भन्ने लाग्यो । ‘ऊ त सामान्य मान्छे होइन, उसले हजारौँ मान्छे बचाएको छ, उसलाई त मर्न दिन हुँदैन नि हो, भनेर मैले औषधि खुवाउने प्रस्ताव गरेँ’ उनले भने । यो विषय मिडियाहरुले पनि कभर गरिदिए । डा. देवकोटा विदेशमा उपचार गरेर नेपाल फर्किएपछि एयरपोर्टमै भेटेर पनि उनले प्रस्ताव राखे । तर न देवकोटा उनकोमा उपचार गर्न आए न त सुब्बालाई नै बोलाए । अन्ततः डा. देवकोटाको निधन भयो ।

उनको भिडियो र समाचार देश, विदेशबाट हेरे । लगभग उनी अनलाइनमा भाइरल नै बने । त्यसपछि उनको क्लिनिकमा विरामीको ओहिरो लाग्न थाल्यो । अहिले दैनिक करिब एक सयको हाराहारीमा विरामीहरु आउने गरेका छन् । व्यापार पनि राम्रो भइरहेको छ । डा. देवकोटाको पनि उपचार गर्छु भन्ने मान्छे पक्कै चानचुने होइन भन्ने लागेर विरामीको विश्वास बढेको हुनसक्ने उनको बुझाइ छ । डा. देवकोटाको उपचार गर्छु भन्नु र उपचार गर्न नपाई उनको निधन हुनु नै आफ्नो टर्निङ प्वाइन्ट भएको उनले बताए ।