‘समाजवादी पार्टीसँग एकताको लागि औपचारिक वार्ता भएकै छैन’

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौँ, १२ साउन, २०७६ । राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले राजपा सशक्त वैकल्पिक शक्ति निर्माण गर्ने तयारीमा लागेको बताएका छन् । राजनीतिक, सैद्धान्तिक र वैचारिक रुपमा मिलन हुने शक्तिहरुसँग मोर्चाबन्दी हुने यादवले जनाए ।

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपाललगायतका साना दलहरुसँग पनि एकताको लागि कुराकानी भइरहेको यादवको भनाई छ । यद्धपि मिडियामा हल्ला भएजस्तो समाजवादी पार्टीसँग एकताबारे औपचारिक वार्ता तथा सहमति नभएको पनि यादवले जिकिर गरे ।

उनले भने, ‘दुवैतर्फ वार्ता कमिटी बनाईएका छन् । तर, औपचारिक वार्ता अहिलेसम्म भएको छैन । हाम्रो पार्टी अब महाधिवेशन गर्नतिर केन्द्रित छ । त्यही अनुसार कार्यक्रम ल्याउँदैछ । हामी समयमै महाधिवेशन गर्छौ । सफल हुन्छौं ।’

अर्को प्रसङ्गमा नेता यावदले वर्तमान सरकारसँग देश र जनताको हित र पक्षमा काम गर्नसक्ने अवसर रहे पनि त्यसलाई सदुपयोग गर्न नसकेको आरोप लगाए । उनले भने, ‘यो सरकारसँग देश र जनताको पक्षमा काम गर्ने ऐतिहासिक अवसर थियो । डिपार्चरको काम गर्नुपर्दथ्यो । तर, सरकारले विश्वास जगाउन सकेन् ।’ ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको उनको दाबी छ । उनले थपे, ‘सबै मोर्चामा यो सरकार असफल छ ।’