केसीसी एक्जिबिट २०१९ सम्पन्न

मुख्य समाचार विषेश समाचार शिक्षा

काठमाडौँ, ११ साउन, २०७६ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधिमा अग्रणी कलेज कान्तिपुर सिटी कलेज (केसीसी) को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सीएसडीआर) को आयोजनामा केसीसी एक्जिबिट २०१९ शनिबार सम्पन्न भएको छ । निपुण विचार, दीगो उपाय मूल नारा रहेको उक्त प्रदर्शनीमा ‘दीगोपनका लागि प्रविधि’ बारे सम्मेलन आयोजना गरिएको थियो ।

उक्त दुई–दिने प्रदर्शनी कार्यक्रममा सूचनाप्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ्गका २६ भन्दा बढी नवीन प्रोजेक्टहरू रहेका थिए । प्रदर्शनीको समापन कार्यक्रममा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयको कम्प्युटर तथा प्रणाली विज्ञान स्कुलका प्राध्यापक डि के लोबियालले नवीन विचारमा आधारित रही प्रविधिमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।

समापन कार्यक्रममा कान्तिपुर सिटी कलेजका अध्यक्ष सुमन कटवालले सन् २००१ देखि यस्तो प्रदर्शनी गर्दै आएकोमा अहिले निकै उच्च सफलता हासिल गरिसकेको बताए । उनले आगामी वर्षको प्रदर्शनीका लागि पनि अहिले नै तयार हुन समेत आह्वान गरे ।

कान्तिपुर सिटी कलेजका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की र संस्थापक हेमन्त समशेर राणाले पनि सबैलाई धन्यवादसहित शुभकामना व्यक्त गरे ।

कार्यक्रममा गायक प्रमोद खरेलको साङ्गीतिक प्रस्तुति, बिनु शाक्यको नृत्य, निशा जिएमको लोक गायन लगायत विद्यार्थीको कन्सर्ट पनि गरिएको थियो ।

केसीसी एक्जिबिट २०१९ मा विभिन्न कलेज तथा स्कुलका विद्यार्थीहरू, प्राचार्यहरू, शिक्षक र प्रतिनिधिहरूका साथै औद्योगिक क्षेत्र, सरकारी निकाय, संघसंस्था, विज्ञ तथा अन्तर्राष्ट्रिय दर्शकहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सर्वोत्कृष्ट प्रोजेक्टका रूपमा सिभिल इन्जिनियरिङका तर्फबाट स्काइस्क्रेपर, सफ्टवेयरतर्फ क्युआर कोडसहितको रेस्टुराँ व्यवस्थापन प्रणाली र इलेक्ट्रोनिक्सतर्फ होम अटोमेसनलाई पुरस्कृत गरिएको छ । त्यस्तै, बीबीए आठौं सेमेस्टरका विद्यार्थीहरूले राखेका फुड स्टललाई उत्कृष्ट घोषणा गरिएको थियो ।

केसीसी एक्जिबिट २०१९ को प्रमुख प्रायोजक माछापुच्छ्रे बैंक, सुबिसु, नेपाल टेलिकम, इ–सेवा, सगरमाथा इन्स्योरेन्स, कोकाकोला, अग्निमोटोइन्क प्रा.लि., इबीपल्र्स, इम्पलोइ प्रोभिडेन्ट फन्ड, नियोस्फेर, नेपाल दूरसञ्चार प्राधिकरण, सूचनाप्रविधि विभाग, राष्ट्रिय सूचनाप्रविधि केन्द्र, क्यान फेडरेसनलगायत रहेका थिए ।

समापन कार्यक्रममा स्टल राखेका प्रदर्शकलाई सम्मान तथा स्वयंसेवीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।